चितुवा–मानव द्वन्द्व बढ्दै

चितुवा–मानव द्वन्द्व बढ्दै

बैतडी :

  • साबिक उदयदेव गाविस (हालको शिवनाथ गाउँपालिका–४)का हीरा चन्दकी ४ वर्षकी छोरी चञ्चला चन्दलाई आँगनमा खेलिरहेको अवस्थामा २०७३ भदौ ४ गते चितुवाले लग्यो। खोजतलास गर्दा राति १० बजे घरबाट ४ सय मिटर दूरीको भिटामा क्षतविक्षत अवस्थामा बालिकाको शव भटियो। 
  • शिवनाथ गाउँपालिका–२ टाणीखर्कका रामसिंह मडैका ७ वर्षीय छोरा सुदीप आँगनमा खेलिरहेको अवस्थामा २०७६ भदौ २० गते चितुवाले आक्रमण गर्‍यो। त्यही राति घरभन्दा ५ सय मिटर पर जंगलमा सुदीपको शव फेला पर्‍यो। 
  • मेलौली नगरपालिका–९ की नौ वर्षीया सीता लुहारलाई २०७६ फागुन २७ गते बिहान ४ बजे सुतिरहेको अवस्थामा ओछ्यानबाटै चितुवाले लग्यो। उनको पनि घरबाट करिब ५ सय मिटर टाढा चितुवाले आधा खाएको अवस्थामा शव फेला पर्‍यो। 
  • शिवनाथ गाउँपालिका–४ बगारकी १८ वर्षीया माया महताको २०७७ कात्तिक २४ गते चितुवाको आक्रमणबाट ज्यान गयो। उनी घाँस काट्न डडेलधुराको भागेश्वर गाउँपालिका–१ मर्मागाड पुगेकी थिइन्। उनको एक हप्तापछि बिहे हुने तयारी थियो। उक्त घटनापछि दुवैतिर शोक छायो। स्थानीयवासीले आक्रोशमा आएर चितुवालाई पनि लखेटी–लखेटी घरेलु हतियार प्रयोग गरी मारे।

०००
बैतडीका लागि यी प्रतिनिधि घटना मात्रै हुन। यस्ता घटना तल्लो स्वराड क्षेत्रमा २७ वटा भएका छन्। सुन्दै आङ जिरिंग हुने घटना आँखा अगाडि भएका हुनाले स्थानीयवासी त्रासमा छन्। चितुवा आएको भन्दै कसैले कराएपछि वा होहल्ला गरेपछि उनीहरू डरले काप्छन्। 

‘चितुवाको आक्रमणका घटना सुन्नेबित्तिकै गाउँलेहरू झस्किन्छन्’, दशरथचन्द नगरपालिका– ९ का वडाध्यक्ष लोकराज भट्टले भने, ‘बैतडी सदरमुकाममा पनि चितुवा घरनजिक आइरहेको जानकारी पाएपछि झन् त्रास छाएको छ।’ 

बैतडी सदरमुकामनजिकै रहेको विनासौंमा बुधबार मात्रै गर्भवती चितुवा पासोमा परेर मरेपछि सदरमुकामका बासिन्दामा पनि त्रास छाएको हो। 

तल्लो स्वराड क्षेत्र भनेर चिनिने पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकामा चितुवाको आक्रमणबाट २०६८ यता २७ जनाको ज्यान गएको छ। सबैभन्दा बढी प्रभावित क्षेत्र मेलौली नगरपालिका–९ अर्थात साबिकको विशालपुर गाविस हो। जहाँ १० जनाको ज्यान गएको छ। 

बस्तीनजिक चितुवाको गतिविधि बढ्दै

तल्लो स्वराडमा मात्रै होइन, बैतडीका विभिन्न ठाउँमा चितुवाले बस्तीनजिक आएर आक्रमण गर्न थालेको छ। केही दिनअघि मात्रै सुर्नया गाउँपालिका–८ ढोलेमा चितुवाले दुई दर्जनभन्दा बढी बाख्रा खाएको छ। गोठमा बाँधेको अवस्थामै बाख्राहरूलाई लिएर जाने गरेको छ। 

‘रातिको समयमा गोठबाटै बाख्रा लगेर जाने गरेको छ। दिउँसो बाख्रा चराउन वनतिर लगेको दिन मारिहाल्छ’, स्थानीयवासी तेज बोहराले भने, ‘चितुवाको बथानै छ। गाउँलेसमेत त्रसित छन्। जेठ पहिलो सातादेखि हालसम्म २ दर्जनभन्दा बढी बाख्राहरू मारेको छ।’ उनले चितुवाको डरले किसानहरूले बाख्रा वनतिर लैजानै छोडेको बताए।

स्थानीयवासी एक्लै हिँड्न डर मान्ने गरेका छन्। गोठबाटै बाख्रा लगेर जाने बानी परेको चितुवा दिनदहाडै ठूलो आवाजले जंगलमा काराइरहन्छ। ‘नजिकै जंगलमा दिनदहाडै कराउँछ। गोठबाटै बाख्रा लैजाने बानी परेको रातिमा घरनजिकै आउँछ’, अर्का स्थानीयवासी मानबहादुर बोहराले भने, ‘बाख्रा चराउन बन्द गरिसक्यौं। एक्लै हिँड्न पनि डर लाग्छ।’ 

मेलौली नगरपालिका–२ मा पनि एक महिनादेखि चितुवाले बाख्रा मार्न थालेको छ। गोठबाटै बाख्रा तानेर लग्ने गरेको मेलौली–२ सलेनाका सुरेश चन्दले बताए। गत साउन १४ गते खोरबाटै बाख्रा मारेर लैजान खोज्दा चितुवा धपाउन गएका ६८ वर्षीय गणेशबहादुर चन्द घाइते भएको उनले बताए। 

सिगास गाउँपालिका, दशरथचन्द नगरपालिकालगायत क्षेत्रमा चितुवा बस्तीनजिक आएर घरपालुवा जनावर मार्न थालेको छ। जिल्लाका विभिन्न ठाउँमा घरपालुवा जनावर मार्ने घटना बढेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ। 

वासस्थान र आहारा अभाव

चितुवा बस्तीनजिक किन आउन थाल्यो ?  यसको अनुसन्धान गर्न जरुरी देखिएको छ। तर, संरक्षणकर्मीहरू वनमा चितुवाको वासस्थान अभाव हुन थालेको र उसलाई आहाराको पनि कमी हुन थालेको दाबी गर्छन्। वन्यजन्तु अनुसन्धानकर्मी धीरेन्द्रबहादुर चन्द भन्छन्, ‘प्रायः वन्यजन्तुले आफ्नो क्षेत्र निर्धारण गरी बरिरहेको हुन्छ। त्यो क्षेत्रमा मानिसको हस्तक्षेप बढेको पाइयो।’ 

 वासस्थान र आहारा अभावमा बस्ती छिर्दै चितुवा बैतडीमा चितुवाको आक्रमणमा परेका व्यक्ति र नियन्त्रणमा लिइएको चितुवा। 

चितुवाको वासस्थानमा असर परिरहेको चन्द बताउँछन्। ‘वनमा सडकहरू बन्न थाले। सडक बनेपछि मोटरको आवाजले पनि उनीहरूको शान्ति भंग हुने नै भयो। अनि चितुवाले वासस्थान फेर्‍यो भने नयाँ बनाइने वासस्थानमा वन पनि पर्न सक्छ, बस्ती पनि’, उनी भन्छन्। 

चितुवालाई वासस्थान मात्रै होइन, आहाराको पनि अभाव हुन थालेको उनको दाबी छ। ‘चितुवा मांशाहारी वन्यजन्तु हो। उसले मासु मात्रै खान्छ। तर, अहिले उसको आहारामा पनि मानवले हस्तक्षेप गरेको छ। वनमा पाइने घोरल, चित्तल, बँदेलको सिकार चितुवाले होइन मानिसहरूले गर्न थाले’, उनी भन्छन्, ‘अनि यसको आहारा पनि मासियो भने बस्ती आउनुको विकल्प नै रहेन।’ 

बैतडीको तल्लो स्वराड क्षेत्रमा चितुवाको आक्रमणबाट एक दशक अवधिमा २७ जनाको ज्यान गएको छ। दुर्गम गाउँमा मात्रै होइन, जिल्ला सदरमुकामनजिकै विनासौंमा हालै गर्भवती चितुवा पासोमा पर्‍यो। यससँगै सदरमुकामकै बासिन्दा पनि त्रसित बनेका छन्। त्यसो त २०७४ यता ११ वटा चितुवासमेत मरेको पाइएको छ। ६ वटा पासोमा परेर, एउटा गोली लागेर र अन्य मृत भेटिएको हो। यसले मानव–चितुवा द्वन्द्व बढ्दो देखाउँछ। किन त ?  विज्ञ भन्छन्, ‘वनमा चितुवाको वासस्थान हडपियो। आहाराको पनि कमी हुन थाल्यो।’  

चितुवा अशक्त भयो भने पनि बस्तीको आसपास आउने उनको तर्क छ। ‘जिल्ला सदरमुकाममै चितुवा बस्तीमा आएर पासोमा पर्‍यो। पोस्टमार्टम रिपोर्टमा त्यो चितुवा गर्भवती थियो। गर्भवती भएर वन्यन्तुलाई लखेटेर मार्न सक्ने अवस्था नभएमा, चितुवा वृद्ध वा अशक्त भएमा पनि उसले बस्तीमा बाँधेका वस्तुभाउमा आक्रमण गर्छ’, चन्द भन्छन्। घरपालुवा जनावरको सिकार गर्न सजिलो हुने भएकाले पनि चितुवा बस्तीमा पस्ने उनको भनाइ छ। अनुसन्धानकर्मी चन्द चितुवा कुन समयमा सिकारका लागि सक्रिय हुन्छ भनेर थाहा पाउन आवश्यक रहेको बताउँछन्। भन्छन्, ‘चितुवा आहाराका लागि साँझपख बढी निस्कन्छ। झिसमिसेको समय उसको सिकारको राम्रो समय हो। चितुवा प्रायजसो दिउँसो आराम गर्छ। त्यसैले साँझपख वा झिसमिसेमा घरबाट निस्कनुपर्दा बच्चालाई एक्लै नपठाउने, सकभर समूहमा निस्कने र घर वा गोठछेउ उज्यालो पार्नुपर्छ।’ 

चितुवा मानव बस्तीमा प्रवेश गरेको, चौपाया खाइदिएको, घाँस–दाउरा गर्ने ग्रामीण भेगका किसानलाई घाइते बनाएको र घरछेउमा मान्छे मारेको दुःखद खबर धेरै आउने गरेको छ। यस्ता खबर काभ्रे, भक्तपुर, स्याङ्जा, बैतडी, अर्घाखाँची, कास्की, तनहुँ, चितवन, कञ्चनपुरबाट मात्र नभई अन्य स्थानबाट पनि आइरहेको छ। 

सम्भावित क्षति न्यून गर्न तालिमप्राप्त टोली चितवन राष्ट्रिय निकुञ्ज र जाउलाखेल सदर चिडियाखानामा बाहेक अन्यत्र छैन। पर्याप्त उपकरण नहुनु, अत्याधुनिक वाहन, चिकित्सक टोली र वन्यजन्तुलाई उद्धार गरेको खण्डमा राख्ने स्थानको अभाव रहेको उनको भनाइ छ।

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा छैन ध्यान 

डिभिजन वन कार्यालय बैतडीको तथ्यांकअनुसार २०७४ सालयता ११ चितुवा मरेका छन्। जिल्ला सदरमुकामसमेत रहेको दशरथचन्द नगरपालिकामा ६, मेलौली नगरपालिका, पञ्चेश्वर गाउँपालिका, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिका र पाटन नगरपालिकामा एक÷एक वटा चितुवा मृत फेला परेका हुन् । तीमध्ये ६ वटा पासोमा परेका हुन्। एउटा गोली प्रहारबाट र अन्य मृत फेला परेको डिभिजन वन कार्यालयले जनाएको छ।

चितुवा आहारा खोज्न गाउँनजिक आउने र मानिसलाई समेत आक्रमण गर्ने गरेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलको भनाइ छ। ‘वनमा आहारा नपाएपछि गाउँ नजिकै घरपालुवा जनावरको पर्खाइमा रहने गर्दछन, त्यही समयमा मानिसले देखेपछि मानिसमाथि समेत आक्रमण गर्ने गरेको छ’, कँडेलले भने।  

शिवनाथका स्थानीयले मारेको चितुवा । तस्बिर : कृष्ण विष्ट

यसरी मानव र वन्यजन्तुबीचको द्वन्द्व बढिरहेका बेला नियन्त्रणको पहल हुन सकेको छैन। धमाधम सडक निर्माणका नाममा जंगल तथा जनावरका वासस्थान फँडानी भइरहँदा मानवीय तथा जैविक क्षति भइरहेको छ। सडक निर्माणका नाममा वन फँडानी र जनावरको वासस्थान नासिने क्रम रोकिएको छैन। 

चितुवाप्रभावित क्षेत्रमा उज्यालोको व्यवस्था गर्न स्थानीयवासीको माग छ। सोलारको भरमा बस्दै आएका स्थानीयवासीलाई उज्यालोको पर्याप्तता छैन। छरिएको बस्ती भएकाले पनि चितुवालाई मानिसमाथि आक्रमण गर्न सहज हुने गरेको स्थानीयवासीको भोगाइ छ।

‘वर्षातको समयमा झाडीमा सहजै लुक्न पाउँछ। छरिएको बस्ती छ। एक्लाएक्लै घरहरू भएकाले पनि एक्लाएक्लै हिँड्नुपर्छ। अनि आक्रमणमा परिन्छ’, स्थानीयवासी मनोज ठकुराठीले भने, ‘एकीकृत बस्ती व्यवस्थापन र पर्याप्त उज्यालोका लागि सरकारले गाउँ–गाउँमा बिजुली पुगाई दिनुपर्‍यो।’ 

चितुवाको आक्रमणमा २०६८ यता मृत्यु भएकाहरू
१.    २०६८–३–९ साबिक विशालपुर–२ का डेढ वर्षीय वीरबहादुर चन्द 
२.    २०६८–३–१७ साबिक उदयदेव–२ का २ं५ वर्षीय सुनील साउद
३.    २०६८–८–१२ साबिक पञ्चेश्वर–७ की १० वर्षीया सुनिताकुमारी साउद 
४.    २०६८–९–२९ साबिक पञ्चेश्वर–७ की २७ वर्षीया किथीदेवी साउद 
५.    २०६८–१०–२५ साबिक पञ्चेश्वर–६ की १३ वर्षीया आशाकुमारी कोली 
६.    २०६८–१२–२१ साबिक कुलाउकी ११ वर्षीय निर्मलाकुमारी जोशी 
७.    २०६९–४–१०  साबिक विशालपुरका ४ वर्षीय दीपकबहादुर चन्द 
८.    २०६९–४–१० साबिक विशालपुरका ६ वर्षीय नवीन भट्ट 
९.    २०६९–५–२४ साबिक विशालपुरका १० वर्षीय सुरज राम लुहार 
१०.    २०६९–६–२ साबिक विशालपुरकी ११ वर्षीया चम्पाकुमारी भट्ट 
११.    २०६९–६–१७ साबिक आमचौराकी ४ वर्षीया सुप्रिका चन्द
१२.    २०६९–६–१९ साबिक आमचौरा–७ की ८ वर्षीय मञ्जु चन्द 
१३.    २०६९–६–२१  साबिक गिरेगडाका ७ वर्षीय सन्तोष चन्द 
१४.    २०६९–७–१ साबिक सर्मालीकी २८ वर्षीया पार्वती चन्द
१५.    २०६९–७–१८ साबिक आमचौराका ४ वर्षीय महेश चन्द 
१६.    २०६९–१२–२४ साबिक विशालपुरकी डेढ वर्षीया कोपिला चन्द 
१७.    २०७०–१–७ साबिक विशालपुरकी ३ वर्षीया प्रतिष्ठाकुमारी विष्ट 
१८.    २०७०–६–१६ साबिक विशालपुर–१ की १६ वर्षीया सपना लुहार 
१९.    २०७०–५–१६ साबिक विशालपुरका ८ वर्षीय डम्बर सोनी
२०.    २०७२–४–६ साबिक उदयदेव–५ की ६ वर्षीया ललिता साउद, 
२१.    मिति र उमेर नखुलेको साबिक महाकालीका सचिन साउद 
२२.    २०७३–४–५ साबिक उदयदेवकी ७ वर्षीया चञ्चला साउद 
२३.    २०७३–५–१८ साबिक उदयदेवकी १२ वर्षीया उजली साउद 
२४.    विवरण उल्लेख छैन ।  
२५.    २०७६–५–२० शिवनाथ गाउँपालिका–२ का ७ वर्षीय  सुदीप मडै 
२६.    २०७६–११–२७ मेलौली नगरपालिका–९ का ९ वर्षीया सीता लुहार 
२७.    २०७७–७–२४ शिवनाथ गाउँपालिका–४ बगारकी १८ वर्षीया माया महता 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.