साउनमा ९ अर्बको डिजेल आयात

साउनमा ९ अर्बको डिजेल आयात

काठमाडौं : चालू आर्थिक वर्षको पहिलो महिनामै आयातमा गिरावट आएको छ। भन्सार विभागका अनुसार २०७८/७९ साउनको तुलनामा आयात १२.९ प्रतिशत घटेको हो। गत वर्ष साउनमा १ खर्ब ५० अर्ब ७३ करोडको आयात भएको थियो। यो साउनमा १ खर्ब ३१ अर्ब २८ करोड रुपैयाँका मालवस्तु भित्रिएका छन्। 

आयातसँगै निर्यात पनि घटेको छ। साउनमा १४ अर्ब ८० करोडको निर्यात भएको छ। यो अघिल्लो वर्षको तुलनामा २८.६८ प्रतिशतले कम हो। 

आयात र निर्यात दुवै घटेको यो महिना वैदेशिक व्यापार पनि खस्किएको छ। साउनमा कुल १ खर्ब ४६ अर्ब ९ करोड ५७ लाख रुपैयाँबराबरको व्यापार भएको छ। यो गत आवको साउनको तुलनामा १४.८१ प्रतिशत कम हो। उक्त वर्ष १ खर्ब ७१ अर्ब ४९ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो। यो महिनामा १ खर्ब १६ अर्ब ४७ लाख रुपैयाँबराबरको व्यापार घाटा भएको छ। यो गत साउनको तुलनामा १०.३८ प्रतिशत कम हो। 

उत्पादन बढाएर आयात र व्यापार घाटा कम गर्न अभियान नै चलाउनुपर्ने राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडी बताउँछन्। ‘तीन तहका सरकारले निजी क्षेत्र, सहकारीलाई उत्पादनमा लगाउन प्रेरित गर्नुपर्छ,’ उनले भने। गत आर्थिक वर्षमा १७ खर्ब २० खर्बको व्यापारघाटा भएको थियो।

पछिल्लो समय निजी क्षेत्र औद्योगिक उत्पादन छाडेर आयातित वस्तु बिक्री गर्न लालायित छन्। ‘यसले मुलुकको उत्पादन र उत्पादकत्व ह्रास हुँदै आएको छ। सहकारी क्षेत्रले पनि उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकेका छैनन्,’ सहअध्यक्ष दवाडी भन्छन्, ‘सहकारीले सदस्यलाई प्रदान गर्ने कर्जा पनि अनुत्पादन क्षेत्रमा फोकस हुन थालेको छ। सहकारीबाट स्थानीयस्तरमै उत्पादन र बजारीकरण गर्न सके व्यापारघाटा कम गर्न सकिन्छ।’ कृषिजन्य वस्तुको नेपालमा प्रशस्त सम्भावना हुँदा पनि खर्बौको आयात भइरहेको तथ्यांकले देखाउँछ। 

९ अर्बको डिजेल आयात

साउनमा सबैभन्दा बढी डिजेल आयात भएको छ। विभागका अनुसार ८ अर्ब ९८ करोडको डिजेल आयात भएको हो। ६ अर्ब ३८ करोड रुपैयाँको पेट्रोल, ६ अर्ब रुपैयाँको कच्चा भटमासको तेल, ५ अर्ब २७ करोड ८० लाख रुपैयाँको एलपीजी ग्यास र ४ अर्ब १६ करोड रुपैयाँको कच्चा पाम तेल आयात भएको छ। आयात गरिएका कतिपय वस्तु निर्यात पनि गरिएका छन्। आयातित पामतेल, भटमासको तेल नै निर्यात भएको छ। 
स्वदेशी अभियानमार्फत उत्पादन बढाउन लागिएको नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी बताउँछन्। ‘धेरै संघसंस्थाहरू यस नेटवर्कमा आइसकेका छन्,’ अधिकारी भन्छन्, ‘अब छिट्टै त्यसको परिणाम देखिनेछ।’

स्वदेशी अभियानलाई केन्द्रबाट नभई प्रदेश र जिल्लास्तरबाट कार्यान्वयन गराउन लागिएको उनको भनाइ छ।  सरकारले चालू आर्थिक वर्षमा कृषिको आयात घटाउने गरी बजेट ल्याएको छ। कृषिमा प्राथमिकता दिन सके छोटो समयमै आत्मनिर्भर हुन सकिने नेपाल राष्ट्र बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत नरबहादुर थापा बताउँछन्। प्रशासनिक र कानुनी क्षेत्रमा सुधार ल्याउन सके उत्पादन बढ्ने उनको अपेक्षा छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.