‘कानुन संशोधन गरी अपराध नियन्त्रण गर्छौं’
काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले अपराधलाई न्यूनीकरण गरी शान्तिपूर्ण समाजको निर्माणका लागि सरकारले कुनै सम्झौता नगर्ने बताएका छन्। बढ्दै गएको डिजिटल अपराध अनुसन्धानका लागि आवश्यक कानुन निर्माण तथा भएका केही व्यवस्था तथा कानुन संशोधन गर्नुपर्ने आवश्यक रहेको बताए। साथै, खाँणले अपराध अनुसन्धान एवं न्याय निरुपणमा संवैधानिक कानुनी व्यवस्थाअनुरूप प्रदेश, संघीय र स्थानीय तहको महत्त्वपूर्ण भूमिका हुने भएकाले सहकार्यका लागि सबैलाई अनुरोधसमेत गरे।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संयुक्त रूपमा बुधबार आयोजित उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०७९ को उद्घाटन गर्दै गृहमन्त्री खाँणले सो कुरा बताएका हुन्। मन्त्री खाँणले बदलिँदो अपराधको स्वरूपलाई नियन्त्रण गर्न नेपाल प्रहरीले थप सतर्कता, सजगता र कर्तव्यनिष्ठ भएको बताउँदै सुरक्षा निकायलाई अझै सवल तथा सुदृढ गर्नुका साथै स्रोतसाधन एवं क्षमता अभिवृद्धि गर्न नेपाल सरकार तयार भएको बताए।
अपराध अनुसन्धान तथा नियन्त्रणको साथै अपराधीलाई कानुनी दायरामा ल्याउन देखिएका जटिलतालाई छिटो–छरितो र निष्पक्ष रूपमा सम्बोधन गर्न जोड दिएका थिए। कार्यक्रममा महान्यायाधिवक्ता खम्मबहादुर खातीले अपराध अनुसन्धान, अभियोजन एवं न्याय निरूपणको साथै पीडितलाई न्याय दिलाउन महान्यायाधिवक्ताको कार्यालय तत्पर रहेको बताए। यसका साथै अपराध अनुसन्धनामा सरोकारवाला निकाय एवं स्थानीय तहसँग सहकार्य जरुरी भएको बताए।
गोष्ठीमा गृह सचिव टेक नारायण पाण्डेले अपराध नियन्त्रणमा देखिएका चुनौतीहरूलाई नियन्त्रण गर्न सबै क्षेत्रले समन्वयकारी भूमिका खेल्नुपर्नेमा जोड दिए। विमानस्थल सुरक्षालाई थप प्रभावकारी बनाउन, दैनिक जसो लागूऔषध र सुन पास हुने गरेको जानकारी दिँदै कार्गो र विमानबाट निस्कने फोहोरलाई समेत स्क्यानरमार्फत चेकजाँच गर्न आवश्यक भएकोमा जोड दिए।
गोष्ठीमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले अपराध अनुसन्धान एवं नियन्त्रणका लागि महानगरभित्र सीसीटीभी क्यामेरा जडानमा नेपाल प्रहरीसँग सहकार्य गर्दै जाने बताउँदै यसले काठमाडौंमा अनधिकृत रूपमा फालिने फोहोरको नियन्त्रणमा समेत प्रभावकारी हुने बताए। बढ्दो साइबर क्राइम तथा अन्य अपराधका घटनाहरूलाई न्यूनीकरण गर्न सम्बन्धित निकायहरूले इमान्दारीपूर्वक भूमिका वहन गरेमा थप सहजता हुने बताए। लामो समयदेखि उपत्यकामा थुप्रिएको फोहोर केही दिनमा उठिसक्ने बताए। उनले भने, ‘सडकमा फोहोर फाल्नेविरद्ध महानगरले कडा कदम चाल्छ।’
कार्यक्रममा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले वर्तमान अवस्थामा अपराध अनुसन्धानको शिलशिलामा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीले भोग्नुपरेका समस्या, अनुसन्धान अधिकृतको भूमिका एवं अधिकारको प्रयोग सन्बन्धी वृहत् रूपमा गोष्ठीमा छलफल हुने र यस छलफलबाट आउने निष्कर्ष महत्त्वपूर्ण हुने बताउँदै प्राप्त निष्कर्षलाई प्रतिवेदनका रूपमा तालुक गृह मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयमा पेस गरिने बताए। आईजीपी सिंहले पीडितलाई न्याय दिलाउन तथा अपराध अनुसन्धान एवं नियन्त्रणमा निष्पक्ष, निर्भय, निडर र निर्धक्क रूपमा प्रमाणमुखी, अनुसन्धानमा संलग्न हुन अनुसन्धान अधिकृतलाई निर्देशन दिएका थिए। उनले प्रविधिको प्रयोगमार्फत् हुने आर्थिक एवं साइबर अपराधहरू बढिरहेको र हाल यससम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतबाट मात्र सुनुवाइ हुँदै आएको बताउँदै कम्तीमा प्रादेशिक स्तरमा सुनुवाइको व्यवस्था हुनुपर्ने व्यवस्था गर्न सरकारसँग आग्रह गरे।
न्याय प्रणलीका ३ पिलर अनुसन्धान, अभियोजन र न्याय निरुपणबीच आपसमा समन्वय र सहकार्य भएमा मात्र पीडितले न्याय र वास्तविक पीडकले सजाय पाउने बताए। गोष्ठीमा काठमाडौं महानगरका उपप्रमुख सुनिता डंगोलले महिला बालबालिकाविरूद्ध हुने अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न महानगरका हरेक वडा महिला सेलको स्थापनाका लागि आवश्यक कार्यविधि तयार गरिएको उल्लेख गर्दै गोष्ठीबाट आउने निचोडहरूले अपराध नियन्त्रणमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिन्।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रवीन्द्र धानुकले काठमाडौं उपत्यका मातहतका कार्यालयलाई अपराध नियन्त्रण र अनुसन्धानका क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमै स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरे। कार्यक्रममा अधिकांश वक्ताले बढ्दो साइबर क्राइमका घटनाहरूलाई नियन्त्रण गर्न विभिन्न्न जनचेतनामूलक कार्यक्रमहरू गर्नुपर्नेमा जोड दिएका थिए। अपराध अनुसन्धानमा बढेका चुनौतीहरू समाधानका लागि नयाँ–नयाँ प्रविधिको प्रयोग गर्ने, अपराध अनुसन्धान गर्ने इकाइहरूको वर्तमान अवस्था, विद्यमान जनशक्ति तथा स्रोत र साधनहरूबीचको अधिकतम परिचालन एवं अन्तर कार्यालय समन्वयको विकासलगायतका विषयमा गोष्ठीमा छलफल तथा हुनेछ।