इन्टरनेटको लतमा बालबालिका

इन्टरनेटको लतमा बालबालिका

ठूलो छोरा सानो छँदा म एकदमै गीतहरू सुन्थें। पुराना हिन्दी र पुराना नेपाली आधुनिक गीतहरू एफएम रेडियोमा बजिरहेका हुन्थे। यस्ता गीतका टेपहरू मसँग टन्नै हुन्थे। एकदिन म छोरासँगै ढल्किएर रेडियोमा गीत सुनिरहेकी थिएँ। ससुराबुवाले भन्नुभयो, ‘यमुना तिमीले छोरालाई गीत सुन्ने  लत लगाउँदै छौ है ! यस्तै हो भने तिमीले खाना खुवाउँदा, सुताउँदादेखि लिएर जे गर्न पनि गीतकैे सहारा लिनु पर्ला नि।’ त्यो बेला बाबु त्यस्तै तीन, चार महिना जतिको हुँदो हो। मलाई लाग्यो यति सानो बच्चाले के सुन्ला र ?  बुवाले त्यसो भनेदेखि मैले सुत्ने बेलामा सानो स्वरमा रेडियो सुन्ने  गरेकी थिएँ। अनि गीत सुनेपछि तुरुन्तै निद्रा लागिहाल्ने। बुवाले त्यसो भनेको एक, दुई महिना पछि हुनुपर्छ सायद। त्यो दिन  म गीत नबजाई सुतेछु।

झपक्क निदाएकी मात्र के थिएँ बाबु जोरजोरले रुन थाल्यो। जुरुक्क उठेँ सबै चेक गरे,रुनुपर्ने कारण केही देखिनँ। थुमथुमाएर सुताएँ। तर उस्को ठासठुस रोकिएन। के नपुगे जस्तो गरेर च्यारच्यार गरी नै रह्यो। यत्तिकैमा रेडियोमा आँखा पर्‍र्याे।  रेडियो ‘अन’ गरें।  गीत बज्न थालेको केही समयमैे बाबु लुटुक्क निदायो। अनि पो मलाई बुवाको त्यो कुराले झस्कायो। बाबुलाई त संगीतको लत लागिसकेछ। कति सजिलै, कति अञ्जानवश कतिपय कुराहरूको लत लाग्दो रहेछ। त्यो बेला सबैको पहुँचमा इन्टरनेट थिएन। स्मार्ट फोनहरू हाम्रा पहुँचमा आइसकेको थिएन। अनि हामीले सुन्ने भनेको टेप रेकर्डरहरू थिए। फिल्म हेर्नुपर्‍यो भने सीडी प्लेयरमा फिल्मका सीडीहरू ल्यायो, हेर्‍यो। अहिले म १८ वर्ष अगाडिको त्यो बच्चा सम्झिन्छु, जो संगीत सुनेको भरमा त्यसरी निदाउँथ्यो। उस्मा एक प्रकारको गीत सुन्ने लत बसिसकेको हुन्थ्यो।

१८ वर्ष पछि अर्थात् आजभोलिका बालबालिकाहरूका जन्मिँदै उनीहरूको हातमा इन्टरनेटजडित स्मार्ट फोनहरू परिसकेका हुन्छन्। हामीले जिस्कँदाजिस्कँदै आपैmंले यस्तो प्रकारको लत लगाउने रहेछौ। अनि केही समय पछाडि मोबाइल नदिई त खानै खाँदैनन् भनेर आफ्नो सजिलोको लागि सहजै मोबाइल दिएर लत लगाइदिइरहेका हुँदा रहेछौ। हुँदाहुँदा बालबालिकामा यस्तो समेत लत लागेको देखियो कि अगाडि मोबाइलमा कार्टुन या गीत बजाइदिएर मात्र होमवर्क गर्ने। मोबाइल बजाइदिए पछि मात्र खाना खाने। अब यस्मा गल्ती कस्को त ? बालबालिकाको त पक्कै हैन। यस्को दोष त हामी ठुलैलाई जान्छ। सुरुमा रहरले दिन्छौ, पछि सजिलोको लागि दिन्छौ। पछि बाध्यताले दिन थाल्यौ। तर यो सबै अञ्जानवश भइरहेको हुन्छ। जसरी मैले अञ्जानमै मेरो छोरालाई लत लगाएकी थिएँ।

पछिल्लो समयमा कोभिडका कारण अनलाइन क्लास लिनुपर्ने भएपछि त झनै बालबालिका र ग्याजेट एकअर्कासँग नजिक हुन पुगेका छन्। बिहान बेलुका ग्याजेटमै र दिउँसो क्लास पनि त्यसैमा। हामी सोच्छौ घण्टौंसम्म कम्प्युटर, ल्यापटप, मोबाइलमा समय बिताउँदा आँखा त कमजोर यसै भइहाल्छ। तर बेलायती बालरोग विशेषज्ञहरूले सन् २००८ मा निकालेको एउटा तथ्यले भन्छ आँखा त कमजोर हुन्छ नै आँखा मात्र कमजोर हुने होइन बालबालिकाको मानसिक मात्र नभएर शारीरिक विकासमा पनि असर पर्ने गरेको छ। त्यस्तै बेलायती अनुसन्धान संस्था अफकमले गरेको सर्वेक्षण अनुसार ३, ४ वर्षका बालबालिकाले हप्ताको ६ घण्टा। ५– ६ वर्षका ६६ प्रतिशत बालबालिकाले हप्ताको ७ घण्टा। ८–११ वर्षका ८८ प्रतिशत बालबालिकाले १० घण्टा। र १२–१५ वर्षका ७७ प्रतिशत बालबालिकाले १२ घण्टा इन्टरनेटमा समय बिताउँछन्। अफकमले भनेको छ स्कृन टचको आदतले गर्दा बालबालिकाहरूमा पेन समात्न नै नसक्ने र धेरैको ह्यान्डराइटिङ विकासमा सुस्तता आएको छ। यो तथ्य अफकमले सन् २०१७ मा निकालेको हो। २०२२ सम्म आइपुग्दा यो प्रतिशत निक्कै बढेको हामी आफंै अनुमान गर्न सक्छौं।

धेरैजसो बालबालिकाको लत भिडियो गेममा लागेको हुन्छ। भिडियो गेमका बेफाइदा मात्र छैनन् फाइदा पनि छन्। भिडियो गेमले मस्तिष्कको कसरत गराउँछ। कल्पनाशीलता बढाउँछ। खेलको एक पात्र आफैं भएर खेल्ने भएकोले प्रतिस्पर्धाको भावना विकास हुन्छ। तर सबै उमेरका बालबालिकाले यो फाइदा लिन सक्तैनन्। कुन उमेरका बालबालिकालाई यो गेम उपयुक्त हुन्छ यो जान्न जरुरी छ र कति समयसम्म उनीहरूलाई यो गेम खेल्न दिने यस्को हेक्का राख्न जरुरी छ। केवल रमाइलोको लागि मात्र जुनसुकै उमेरका बालबालिकाहरूले यो गेम खेल्दैछन् भने यो उनीहरूमा लागेको एउटा नराम्रो लत हो। यस कारण उनीहरूका दैेनिक जीवनका अरू कार्यहरूमा असर पर्छ नै भिडियो गेमको नक्कल गर्ने हुँदा साथीहरूसँग भैm झगडा गर्ने। चाँडो रिसाउने, भिडियो गेममा हत्या हिंसाका दृश्य पनि हुने भएकोले आपराधिक मनोवृत्ति बढ्ने जोखिम पनि हुन सक्छ।

अहिलेका पुस्ताका बालबालिकाका लागि इन्टरनेट वरदान हो। तर यसैलाई सही सदुपयोग गर्न नसक्दा भने यो अभिशापमा परिणत पनि हुन सक्छ। चाहेको कुरा एकैछिन्मा पाउने, यसैमा विश्वभरिका हर कुरा पढ्न र बुभ्mन सक्छन् बालबालिकाले। तर यसमा धेरै लत लागेर कति विपत्तिहरू आएका, बालबालिकाहरू फसेका घटनाहरू पनि हामीले धेरै देखे सुनेका छौ। स्कुलबाट आउनासाथ होस् या निद्राबाट ब्य्ँुझिनासाथ धेरै बालबालिकालाई ग्याजेटहरू चलाउने लत बसेको छ। पाएनन् भने रुने, कराउने भैmझगडा गर्ने, खानै नखाइदिने गर्न थाल्दछन्। यो लतलाई कसरी हटाउने अहिलेका अभिभावकको मुख्य चिन्ताको विषय हो यो। यस्तो प्रविधिको लतले तत्कालको पढाइ, भविष्यको सामाजिक जीवन कतिको प्रभावित होला त ? गम्भीर विमर्श गर्न जरुरी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.