बा
ए बा ! मार्ग भुल्यौकि खै तिमी अझै आइपुगेनौ यहाँ
बिस्र्यौ कि तिमीले यी मातृभूमिका ढुङ्गा र माटोहरू
साठी बर्ष बिते कुरेँ, कुरिरहेँ के आउँदैनौ घर ?
ज्यूँदै छौ अहिले ? कि देह सकियो ? कि घर अन्यत्रै छ र?
हामी छौँ कुशलै सबै, शरीरमा आराम नहुँदा पनि
झोक चल्दा अरुलाई भन्दछु म नि बा छन् नि मेरा भनी
शोषणको ब्युहचक्र खप्न नसकी छाडेर भाग्यौ घर
फर्केनौ कहिल्यै पनि तिमी यहाँ के आउनै हुन्न र ?
थाहा छैन मलाई कुन कद थियो अनुहार कस्ता थियौ ?
छाड्यौ गाउँ र इष्टमित्र सबथोक कहाँ गई अल्पियौ ?
(भाद्र कृष्ण कुसे औंसी अर्थात बुवाको मुख हेर्ने दिन आफ्ना बेपत्ता ‘बा’ को सम्झनामा रामेछापका ध्रुवकुमार पौडेलले लेखेको कविता। पौडेल चण्डेश्वरी माविका प्रधानाध्यापक हुन्।)