‘साबर’ले दैलेख चिनायो, दैलेखले चिनेन

‘साबर’ले दैलेख चिनायो, दैलेखले चिनेन

दैलेख : दैलेख जिल्ला केका लागि प्रसिद्ध छ ? उत्तर हो– ‘साबर छाला’। यो प्रश्न र उत्तर सामान्य ज्ञानमा पढ्नुपर्छ। लोकसेवा आयोगको तयारी गरिरहेका विद्यार्थीका लागि त दैलेख साबर छालाका लागि प्रसिद्ध छ भनेर थाहा पाउनैपर्छ। कण्ठ गर्नैपर्छ। तर, कालिगढको अभाव र सरकारको अवरोधका कारण त्यहीँ प्रसिद्धि पाएको साबर छालाको व्यवसाय संकटमा पर्दैछ। 

दैलेखका सार्की समुदायले मरेका चौपायाको छालालाई विशेष प्रशोधन गरेर ‘साबर छाला’ बनाउँछन्। त्यसबाट जुत्ता र चप्पल उत्पादन गर्छन्। यहाँ डोको, नाङ्लो र चाल्नो पनि साबरको छालाबाटै बनाइन्छ। विश्व बजारमा साबरको मूल्य उच्च छ। जसरी इटालीको रोयल लेदर ब्रान्डका छालाजन्य उत्पादनका सामग्रीहरू विश्वभर प्रसिद्ध छन्। दैलेखको साबर छालाको माग पनि विश्वबजारमा उच्च छ। किनकि यहाँको साबर चिल्लो, लचकदार, बास्नादार तथा आकर्षक मानिन्छ। कलेजी, बैजनी, रातो, फिक्का पहेँलो, गुलाबी, गेरुवालगायतका रंगमा यहाँको साबर छाला उत्पादन हुन्छ। 

विगतमा दैलेख नारायण नगरपालिकाका २२ घर सार्की परिवारले साबर प्रविधिको काम गर्थे। अहिले यो प्रविधिको काम खुम्चिएर भगवतीमाई नगरपालिकाको एउटा परिवारमा मात्रै सीमित छ। पुर्खाको सीप हस्तान्तरण हुन नसक्दा साबर प्रशोधन विधि र पहिचान संकटमा पर्दै गएको छ। 

परापूर्वकालमा छालालाई आगो, चिसो, वर्षा र अन्य मौसमी विपद्हरूविरुद्ध रक्षात्मक आवरणको रूपमा प्रयोग गरिन्थ्यो। पछि, मान्छेलाई खाली खुट्टाबाट जुत्ता लगाउने सुविधा यही साबर छालाबाटै भएको हो। 
दैलेखमा साबर प्रविधि सार्की जातिको देन र अनादिकालीन शिल्प सभ्यता रहेको जानकारहरू बताउँछन्। छालाको प्रयोग र उत्पादन सार्की समुदायको पौरखसँग जोडिन्छ। मृत चौपायाको सडेर जाने छालालाई पुनः प्रयोगमा ल्याउने कलाले निपुर्ण सार्की समुदाय छालाजन्य उत्पादनका प्रणेता नै हुन्। उनीहरूको सीप, कला र सिर्जनाले निपुर्ण मानिने यो समुदायको विशेष पहिचान छ। छालाको प्रशोधन र छालाजन्य सामग्री उत्पादनमा सार्की जाति (समुदाय) को विशेष सीप छ। मौलिक तथा परम्परागत पेसाको रूपमा पुर्खादेखि गर्दैै आएका सार्की समुदायको वंश परम्परा छालासँगको पनि अन्योन्याश्रित सम्बन्ध पनि छ। 

काँचो छालालाई मानव प्रयोजनका लागि प्रयोग गर्न मिल्नेसम्मको प्रक्रिया साबर हो। छालाबाट विभिन्न सामग्री बनाएर सार्की समुदायले जीविकोपार्जन गर्दै आए। पछि, साबर छालाबाटै जिल्लाको पहिचानसमेत दिलाए। साबर र बाइसघरे सार्की परिवारको इतिहास साबर छाला प्रशोधन सार्की समुदायको परम्परागत पेसा हो। पहिले जिल्लाको नारायण नगरपालिका–१ पुरानो बजारको भगवती टोलका २२ घरे सार्की परिवारले साबर छाला प्रशोधनको काम गर्थे। 

साबरमा नरबहादुरको देन

साबर उत्पादन र प्रशोधनमा यहाँका नरबहादुर सार्कीका सन्तानको विशेष भूमिका रहेको पाइन्छ। उनका ६ छोरा र २ छोरी थिए। नरबहादुरका छोराहरू बलबहादुर, रामबहादुर, भद्रबहादुर, खड्गबहादुर, डिलबहादुर र दलबहादुर सार्कीका योगदानलाई विशेष मानिन्छ। त्यसबेला यिनै ६ भाइ प्रतिघर चार वटा खाडी (साबर प्रशोधन गर्ने खाडल) का 
मालिक थिए। 

नरबहादुरका ६ छोरामध्ये तीन जनाको निधन भइसकेको छ। बाँचेका तीन भाइमध्ये एक भारततिर छन्। अर्का दैलेख सदरमुकाममा सानो व्यापार गरी बसेका छन्। अहिले साबर प्रशोधन र उत्पादन नरबहादुरका साहिँलो सन्तान भद्रबहादुर सार्कीले धानिरहेका छन्। भद्रबहादुर २०१२ सालमा जन्मिएका हुन्। भद्रबहादुर विशुंके (सार्की) का अनुसार दैलेखका २२ घरे सार्कीका पुर्खाहरूमा रहेको साबर प्रविधि अहिले दैलेखको भगवतीमाई गाउँपालिका–४ (साबिकको जगन्नाथ गाविस–७) को एक परिवारमा खुम्चिएको छ। जसलाई उनै भद्रले थाम्दै आएका छन्।

  •     नेपालमै एक मात्र जीवित साबर प्रविधि।
  •     जसलाई पुर्खाको विपद्को रक्षात्मक कबज मानिन्थ्यो।
  •     अनादिकालीन शिल्प सभ्यता हो।
  •     हरेकको रोजाइमा दैलेखी साबर।
  •     साबर प्रशोधन गर्ने एक्ला पात्र भद्रबहादुर।
  •     सीप हस्तान्तरण नहुँदा संकटमा छ साबर प्रविधि। 

साबर प्रशोधन गर्ने एक्ला पात्र भद्रबहादुर उमेरले झन्डै ६७ पुग्नै लागे। उनी हाल भगवतीमाई गाउँपालिका–४ स्थित मनघर गाउँमा बस्छन्। दैलेख बजार छोडेर जीविकोपार्जनका लागि मनघर पुगेका भद्रबहादुर उतै घरजम गरी बसे। त्यहाँ खाडी सञ्चालन गरेर बसेको करिब ६ दशक पुग्नै लाग्यो। सानै उमेरदेखि बाबु–बाजेको सिको गर्दै उनी यो पेसामा होमिएको थिए। आफूभन्दा अघिका दाइको मृत्युपछि ठाइँलाभाइ डिलबहादुरलाई साथ लगाएर खाडी सञ्चालन गर्दै आएका भद्र भाइको मृत्युपछि घर मात्र होइन्, खाडी पनि सुनसान बनेको बताउँछन्। भाइको मृत्युपछि भद्रबहादुर जिल्लामै एक्ला साबर उत्पादक हुन्।

सरकारले आफूहरूको पुख्र्यौली सीप–कलाअन्तर्गत नीतिगत रूपमा साबर उत्पादन गर्नमा रोक लगाएको गुनासो गरे। ‘सबैको पहिलो रोजाइमा दैलेखी साबर नै पर्ने गर्दछ तर, उत्पादनमै रोक लगाएपछि के गर्ने ? यो कसरी न्यायसंगत भयो ? उनले गुनासो पोखे। परम्परागत मौलिक सीप–कला र प्रविधिमा अवरोध गरेर आफूहरूको जीविकोपार्जनमै सरकार बाधक बनेको उनको भनाइ छ। 

बहुउपयोगी साबर

साबरमा विभिन्न रंग चढाउने प्राकृतिक विधि छ। मौवा, उत्तिस, काफल, रैच, अंगेलीलगायतका बिरुवाका बोक्रालाई कुटेर रंग चढाइन्छ। उच्चस्तरीय छाला र आकर्षक रंग हुने भएकाले साबर बहुउपयोगी हुने साबर उद्यमी दलबहादुर सार्की बताउँछन्। ‘साबरको जुत्ता र चप्पलसँगै टोपी, ज्याकेट, आस्कोट, वेल्ड, ह्यान्डब्याग, हतियारको दाबको खोलसहित मोबाइलको कभरसम्म निर्माण गर्न सकिन्छ,’ दलबहादुर भन्छन्। 

पुर्खादेखि साबर प्रशोधन तथा बजारीकरणको काम गर्दै आएको उनको परिवार साबरको कामबाट टाढिँदै गएको छ। ‘कानुनी जटिलता, प्रशोधन र उत्पादनमा लामो प्रक्रियाले अहिलेको पुस्तामा आकर्षण छैन,’ उनले भने ‘सरकारले उत्पादनलाई बजारीकरण गर्दै आयात प्रतिस्थापन गरेर निर्यातलाई जोड दिनुको साटो बाधा अड्चन खडा गरेर पुस्तौंपुस्तादेखिको सीपसँगै जीविकोपार्जनको बाटो नै खोसेको छ।’

के हो साबर ? 

साबर एक प्रकारको विशिष्ट किसिमको छाला हो। गाई, गोरु, राँगा, भैंसी, मृग, रतुवासहित अन्य चौपायाको छालाबाट यसलाई बनाइन्छ। जुन कालगतिले मरेको होस् वा सिकारीले सिकार गरेका हुन्। मृत पशु चौपाय सिनो बन्नुभन्दा पहिला छाला निकालेर प्रशोधन गरिन्छ। साबर प्रशोधन गर्ने मौलिक विधि हो। साबरमध्ये मृग वा रतुवाको उत्कृष्ट साबर मानिन्छ। मृगको छाला विशेष साबर हो।

काँचो छाला प्रशोधनको प्रक्रिया सुरु भएको पाँचदेखि आठ महिनामा साबर तयार हुन्छ। छालाको दुर्गन्ध मार्ने, छालामा रहेको रौं हटाउने, छालाको सौन्दर्यसँगै दुर्गन्ध निकाल्नका लागि लामो समय लाग्छ। स्थानीय खानीबाट उत्खनन गरेको चुनढुंगाको प्रयोग गरी काँचो छालाको रौं हटाइन्छ। साबर छोटो समयमा पनि तयार गर्न सकिन्छ तर गुणस्तरीय हुँदैन।

काँचो छाला प्रशोधनपछि साबर उत्पादन गर्दै दैलेख भगवतीमाई गाउँपालिका–४ भद्रबहादुर सार्की। र, बायाँबाट क्रमशः गुइँठा बालेर चुनढुंगा पोलिँदै। साबरमा लगाइने रंग कुट्दै। साबर तयार गर्दा खाडीबाट निकालेर रंग भरिँदै र तयारी अवस्थाको साबर।   तस्बिर सौजन्य : विशाल सुनार

लामो अवधिलगायत साबर तयार गर्दा आकर्षक गुणस्तरीय हुन्छ। जुन सबैको रोजाइमा पर्ने गरेको जानकारहरू बताउँछन्। साबर प्रशोधन तथा उत्पादन गर्ने सार्की समुदाय आफैं मृगको सिकार गर्दैनन्। सिकार गर्न पनि पाइँदैन। लेकाली क्षेत्रमा हिमपात भएका बेला कोही हिउँमै मर्छन्। हिउँबाट ज्यान जोगाउन गाउँ पसेका मृगहरू अन्य कारणले मृत भेटिन्छन्। मरेका मृगको छाला नै साबरको कच्चा पदार्थ बन्छ।

ठूला पशु चौपायाको पनि साबर बन्छ। तर, खाडी (खाडल) ठूलो चाहिन्छ। काँचो छाला प्रशोधनको प्राकृतिक विधि र झन्झटिलो छ। उपहार स्वरूप साबरको सामग्री साबर मौलिक रूपमा परम्परागत रूपमा सानो र घरेलु उद्यमको रूपमा सञ्चालन गरिने भएकाले गुमनाम छ। तर, साबरबाट निर्माण भएका सामग्रीले राष्ट्रियस्तरको पुरस्कारहरू प्राप्त गरेका छन्। नारायण नगरपालिका–१ का दलबहादुर सार्कीले साबरकै जुत्ता तथा छाला प्रदर्शनीमा २०५६ सालमा १५औं राष्ट्रिय लघु उद्यमी पुरस्कार जिते।

हाल दैलेख सदरमुकामका जुत्ता पसलहरूमा नमुनाको रूपमा साबर पाउन सकिन्छ। साबरबाट निर्माण गरिएका सामग्रीहरू उपहार स्वरूप दिनका लागि अहिले पनि खोजी हुन्छ। स्थानीय इन्द्रबहादुर बयलकोटी भन्छन् ‘पदोन्नति हुँदा होस् वा सरुवाबढुवा मिलाउन, माथिल्लो तहका हाकिम हुन् वा मन्त्रालयका मन्त्रीका लागि पनि साबरको छालाबाट बनेका सामग्री उपहार स्वरूप जाने गरेको छ।’ जिल्लामै उत्पादन भएको साबरबाट बनेको जुत्ताचप्पल तीन हजारदेखि पाँच हजारसम्म पर्छ।

परम्परागत सीप र पेसा प्रवद्र्धन नेपालकै उत्कृष्ट परम्परागत सीपलाई प्रवद्र्धन गर्ने स्थानीय तहले जनाएका छन्। भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापाले जिल्लाको पहिचान आफ्नै पालिकामा हुनु गौरव भएको बताए। उनले स्थानीय सरकारले परम्परागत सीप र कला कौशललाई संरक्षण एवं प्रवद्र्धन गर्ने बताए। ‘पहिचानसँग जोडिएको परम्परागत सीप, कला र पेसालाई संरक्षण गर्न कानुनी अड्चन हुँदा केही काम गर्न सकिएको छैन। अब उद्यमी प्रवद्र्धनको माध्यमबाट उत्पादन, बजारीकरण गर्न तयार छौं।’ सार्की समुदायलाई विशेष अधिकारसहित कानुनी अड्चन फुकाउनुपर्ने अध्यक्ष थापाको माग छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ जारी भएपश्चात् मृग, रतुवालाई संरक्षित वन्यजन्तुको सूचीमा परेपछि कानुनी अड्चन सुरु भएको थियो। शिल्पी समाज दैलेखका अध्यक्ष बखतबहादुर नेपालीले सरकारले बनाएको कानुनले सबैभन्दा बढी शिल्पी समुदायको मौलिक पेसालाई प्रभावित पारेको बताउँछन्। शिल्पी समुदायको पुख्र्यौली ज्ञान, परम्परामा आधारित सीप–कला, प्रविधि, सांस्कृतिक सम्पदा र सभ्यता ओझेलमा परेको उनको भनाइ छ। ‘छाला प्रशोधन होस् या, गरगहना निर्माण गर्ने कला प्रवद्र्धन गर्नुको साटो कानुनी अड्चन खडा भइरहेको छ,’ उनले भने। शिल्पी समुदायसँग जोडिएका परम्परागत सीप कला र पेसालाई संरक्षण र प्रवद्र्धन गर्दै लैजानुपर्ने उनको माग छ।

सरकारले व्यावसायिक रूपमा वन्यजन्तु पालन तथा प्रजननसम्बन्धी मापदण्डको मस्यौदा तयार गरेको छ। ‘व्यावसायिक वन्यजन्तु पालन तथा प्रजननसम्बन्धी मापदण्ड, २०७८’ पारित भएपछि साबर उत्पादनमा सहज हुने जानकारहरू बताउँछन्। वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले ऐन, नियमावलीमा भएको व्यवस्था कार्यान्वयनका लागि मापदण्ड अगाडि बढाइएको र सरोकारवालाको राय सुझाव समेटेर स्वीकृत गर्ने तयारी भएको बताए।


साबरले यसरी पाउन सक्छ पुनर्जीवन 

डीबी नेपाली ‘दमु’

साबरलाई पुनर्जीवन दिनको लागि स्थानीय र प्रदेश सरकारले विशेष सहयोग गर्न सक्छन्। बाधा, व्यवधान र असहयोगी नीति नियमलाई समयानुकूल परिमार्जन र संशोधन गर्न दुवै सरकारले पहल लिन जरुरी छ। 
राज्यको मानसिकतामा परिवर्तन र जंगली जनावर मृगलाई संरक्षण गरिनु पर्छ। यसमा कसैको पनि दुई मत हुनु हुँदैन। तर, नीतिगत रूपमै मृगलाई व्यावसायिक पालन गर्ने नीति बनाई दिएमा धेरै सहज हुन सक्छ। यसो गरिएमा पालिएका मृगलाई व्यवस्थित रूपमा साबर उत्पादनमा प्रयोग गर्न सकिन्छ।

जंगलमा खुला रूपमा रहेकालाई संरक्षण गर्ने। यसो भएमा मृग पनि बच्यो, लोपोन्मुख साबर प्रविधि र सीप–कला पनि बच्यो। यो मध्यमार्गी उपायले दुवै पक्षको विजय हुन्छ। यसले मानव इतिहासकै जीवित सभ्यतालाई पनि बचाउँछ। संग्रहालयमा थन्किनबाट बचाई व्यावसायिक उत्पादनमा पनि फड्को मार्न सक्छ। स्थानीय र प्रदेश सरकारले सहयोगी भूमिका खेलेर यो सीप र प्रविधिलाई किन नबचाउने ? सम्बन्धित सबै पक्षको बेलैमा ध्यान जानुपर्छ। 

सरकारले साबर प्रशोधनको विधि र संस्कृतिलाई पुस्तकामा संग्रृहीत गर्नुपर्छ। सम्भावनाको खानीमाथि बसेर कर्णाली प्रदेश अहिले सहयोगको याचना गरिरहेको छ। कृषि, पर्यटन, जलविद्युत् जस्तै अर्को विशेष क्षेत्र सीप र कलाको प्रवद्र्धन प्रमुख क्षेत्र हो। प्रदेश र स्थानीय सरकारको समन्वय, सहकार्य र सहमतिमा साबरलाई अन्तर्राष्ट्रिय निर्यातमूलक वस्तुमा ब्रान्डिङ गरिनुपर्छ। 

यसको व्यावसायिक उत्पादन सरकारी लगानीमै थालिनुपर्छ। यसको लागि प्राविधिक र आर्थिक सहयोगलाई एकद्वार प्रणालीमार्फत काम गर्न जरुरी छ। साबर उत्पादनमा चाहिने आवश्यक कच्चा पदार्थ, सर्वसुलभ जनशक्ति उपलब्धता र नीतिगत रूपमा आमूल परिवर्तनको माध्यमबाट व्यावसायिक उत्पादनमा फड्को मार्न सकिन्छ।

कम्तीमा यो कार्य जति सक्दो छिटो प्रदेश र स्थानीय सरकारले गरिदिनुपर्छ। अहिले दैलेख जिल्लाको एउटा परिवारमा सीमित लोपोन्मुख साबरले सानका साथ अन्तर्राष्ट्रिय ब्रान्ङ्गिको रूपमा विश्व बजारमा सहज रूपमा प्रवेश गर्न सक्ने प्रशस्त आधारहरू छन्। जसरी इटालीको रोयल लेदर भनेर छालाजन्य उत्पादनका सामग्रीमा अहिले संसार प्रसिद्ध भएको छ। इटालीमा पनि छालाको काम गर्ने सार्की समुदायलाई त्यहाँको सरकारले नै विशेष सहयोगी भूमिका खेलेर रोयल लेदरले प्रसिद्धि पाएको हो। हाम्रो देशमा पनि दैलेखी साबरलाई यसै गरी अन्तर्राष्ट्रिय ब्रान्ङ्गि किन नगर्ने ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.