कलाको सम्मान नहुँदा चलचित्र क्षेत्रमा समस्या आएको छ

कलाको सम्मान नहुँदा चलचित्र क्षेत्रमा समस्या आएको छ

नेपाली सिने क्षेत्रमा गजित विष्ट परिचित नाम हो। ‘मायाज बार’बाट डेब्यु गरेका गजित नायकमा मात्रै सीमित छैनन्। करियोग्राफी, अभिनय, नृत्य, खेल, निर्देशन, मोटिभेसनलगायत हरेक विधामा उत्तिकै अब्बल छन्। प्रत्येक जिल्लामा पुगेर लोकनृत्यको अनुसन्धान गरेका उनको नृत्यमा फरक कला प्रष्ट देखिन्छ। सानैदेखि हरेक नायकको नृत्यलाई ठ्याक्कै उतार्न सिपालु उनले छोरा सौगात विष्टलाई विश्वकै कम उमेरको निर्देशकमा पनि उभ्याए।

गिनिज बुक अफ द वल्र्डमा रेकर्ड कायम भयो। परिवार र आफन्तभित्रै २२ कलाकार उत्पादन हुने वातावरण उनकै प्रेरणाबाट मिल्यो। सुन्दा सामान्य लागे पनि कमै भेटिने फरक नाम ‘गजित’बाट चिनिएका उनी नामजस्तै आफ्ना काममा पनि फरकपन दिनमै लागिरहेका हुन्छन्। उनै गजितसँग अन्नपूर्णकर्मी रविन भट्टराईले गरेको कुराकानी :

बाल्यकाल कता, कसरी बित्यो ? नामको अर्थ पनि स्पष्ट पार्दिनुस् न।

भोजपुरमा जन्में। विराटनगरमा हुर्कें। पढ्न त धेरै विद्यालय पढियो। बुवा प्रहरी भएकाले उहाँको पछि लागेर हिँड्दा स्कुल फेर्ने क्रम निरन्तर भयो। ६ कक्षासम्ममा ८ वटा स्कुल परिवर्तन गरें। सिराहादेखि पाँचथरसम्मका विद्यालयमा पढें। सरकारीदेखि निजी स्कुल पनि पढें। लेटाङबाट एसएलसी दिएँ। पहाड, तराई सबैतिर साथी भए। विद्यालयदेखि नै विभिन्न स्थानको रहनसहन बुझ्ने मौका मिल्यो। पाँचथर फिदिमको एउटा विद्यालयमा भने १३ दिनमात्र पढेछु। गजित न्वारानको नाम त होइन रे। बुवाले विद्यालयमा भर्ना गर्दा राखिदिनुभएछ। नाम चाहिँ त्यो समय पनि युनिक नै छान्नु भएछ। गजितको अर्थ हात्तीजस्तै भन्ने लाग्छ रे।
 
फरक विद्यालय चहारिरहँदा चुलबुले बानी हुन्छ नि ! कस्तो थियो र बाल्यकालको स्वभाव ?  

चुलबुले मात्रै होइन, बुवाआमाले ‘बदमास्’ भइस् नै भन्नु हुन्थ्यो। विद्यालयमा धेरै गुनासो पुग्दा रहेछन्। चकचके र छुच्चो स्वभावको रहेछु। बुवाले सुध्रन्छ कि भनेर कक्षा ६ पढ्दा लेटाङको जाँतेमा फुपूको घर पठाइदिनु भयो। पछि खेल क्षेत्रमा लागेपछि चकचके बानी सुधारियो। बालापनका हर्कत् सम्झँदा अचम्म लाग्छ। ठूलो हुँदासम्म त्यस्ता काम दोहोरिए। तर, खेल अनुशासनले त्यस्तो कर्म गर्न दिएन। अहिले त मोटिभेसन स्पिकर छु।
 
आफ्नो र छोराको बालापनमा के फरक पाउनुभयो ?  

बाबुको गुण छोरामा पनि देखिएला र सुधार्न समस्या होला भन्ने डर थियो। छोरो पनि छुच्चो निस्कियो। एउटा कथा सम्झन्छु। छोराको जन्म भएपछि नाम के राख्ने भन्ने चर्चा भइरहेको थियो। एकजना आत्मराम राजवंशी दाइ हुनुहुन्थ्यो। उनले हेर भाइ तिम्रो छोरा त एकदमै ज्ञानी छ। यसको नाम त ज्ञानबहादुर राख्नुपर्छ भन्नुभयो। छोरा हुर्कँदै गयो। छोरा चुलबुले, फटाहा भयो। जे सामान पनि झ्यालबाट फालिदिने।

एक दिन एउटा सामान फाल्दा चाहिँ उनैलाई लागेछ। दाइ कराउनुभयो। ‘सरी दाइ हेर्नुस् न छोराले फालेछ’ भनेको छ। पहिले ज्ञानी छ, ज्ञानबहादुर नाम राख्नुपर्छ भन्ने दाइले त तिम्रो छोरा त आतंकवादी रहेछ नि भन्नुभयो। यो छोराको स्वभावसँग जोडिएको रोचक कहानी हो। तर, विद्यालयले अनुशासन सिकायो। पछि घरमा भन्दा स्कुलमा खुसी देखिन्थ्यो। विद्यालयमा पढाइ पनि राम्रो।  तीन वर्षको उमेरमै ऊ कलाकारिताको क्षेत्रमा प्रवेश गरिसकेको थियो।
 
कलाकारिता क्षेत्रमा प्रवेश गर्नुभयो। कलाकारिताको छनक सानैमा देखिने रहेछ ?   

यो अनुभव नै छैन। कलाकारिता भन्ने नै थाहा थिएन। खासमा मेरो सानुमा नक्कल गर्ने बानी थियो। हजुरबुवा, हजुरआमासँग भेट हुँदा उहाँहरूको नक्कल गर्थें। त्यो पनि ठ्याक्कै गर्थें रे। केही कुरा फरक देख्यो कि त्यसको नक्कल गर्ने बानी सानैमा थियो। घरमा पाहुना आउँदा पनि उनीहरूको नक्कल ठ्याक्कै गर्थें। तर, धेरैले मलाई नेता बन्छ, शिक्षक बन्छ भन्थे। बुवाआमाले पनि यो नै बन्छ कहिले भन्नु भएन। सानैदेखि क्यारिकेचरसँगै डान्स पनि गर्थें। विराटनगरमा धेरै कन्सर्ट हुन्थ्यो। तर, आपूmले चाहि“ नाच्नै नपाउने। अरू कलाकारलाई मात्रै नचाउँथे। कार्यक्रम सकिएपछि स्टेजमा गएर नाच्थ्यौंं। विवाह, ब्रतबन्ध जेमा पनि नाचगान गर्ने चलन थियो। म त्यो सबै भ्याउँथें।

एउटा पूजामा नाचेको त धेरैले प्रशंसा गरे। ‘विराटनगरबाट आएको केटो राम्रो नाच्छ’ भन्ने चर्चा चल्यो। त्यसपछि त फुपुका गाउँमा हुने विवाह, पूजा, व्रतबन्धको कार्ड फुपू र मलाई छुट्टाछुट्टै कार्ड आउन थाल्यो। मेरो डान्स त गाउँगाउँमा हिट भयो। विवाहको समयमा जन्ती र बेहुलीपट्टिको डान्स कम्पिटिसन हुन्थ्यो। प्रायः सबै ती कम्पिटिसनमा जितेको छु। कुनै विवाहमा मलाई बोलाइएन तर कम्पिटिसन हुने भयो भने घरमै आएर उठाएर लैजान्थे। भन्थे– ‘गाउँको इज्जतको सवाल छ, तँ जानै पर्छ।’
 
कुन गीतमा नाच्नु हुन्थ्यो ?  

धेरै त हिन्दी गीतमै नाचियो। अलिक फास्ट गीतमा धेरै नाचें। तर, नाच्न मन लाग्ने त्यो समयमा कुनै म्युजिक बज्दा पनि नाचुँ, नाचुँ लाग्थ्यो। समाचारमा त नाच्छ भनेर साथीभाइ हँसाउथें। अब यो बाटो... भन्ने स्लो मोसनको गीतमा पनि नाचें। अलिपछि राजेश हमालले नाच्ने गरेको गीतमा त्यहीँ शैलीमा धेरै नाचें। भुवन केसी त ननाच्ने, शिव श्रेष्ठ पछि दिलीप रायमाझीको डान्स हेरेर नाँचें। चलचित्र हेर्थें र त्यहाँ हिरोले नाचेका अधिकांश गीतमा त्यस्तै नाचेको छु। 
 
नृत्यको औपचारिक कक्षा पनि लिनुभयो त्यो समय ?   

त्यो बेला त लिन पाइनँ। चलचित्र हेरेको भरमा नाचें। जस्ताको त्यस्तै नाच्ने कला थियो। काठमाडौं आएपछि कक्षा लिएँ। यसको एउटा रोचक कथा छ। गाउँमा हुँदा सबै चलचित्र र टीभीमा हेरेको भरमा नाचें। स्कुलमा साथी र शिक्षकहरूले तँ त हिरो बन्छस् भन्थे। खत्रा नाच्छस् भन्थे। त्यो समय राम्रो नाच्ने हिरो बन्छ भन्ने चलन थियो। कलेजमा आएपछि पनि चलचित्रको जस्तै नाच्ने भएकाले सबैले हिरो बन्छस् भन्थे। हो कि क्याहो जस्तो लाग्यो। त्यो समयमा नाच्नमा माहिर नेपाली र हिन्दी चलचित्रका सबै हिरोका गीतमा नाच्थें। ट्युसन पढाउने पुरुषोत्तम सर हुनुहुन्थ्यो। उहाँले गजित तिमी त राम्रो नाच्छौ, काठमाडौं जानुपर्ने हिरो बन्न भन्नुभयो।

  • चलचित्र क्षेत्र धेरै नै पछि छ। अन्य मुलुकको तुलनामा १५ वर्ष पछि छ। नयाँले पुरानालाई र पुरानाले नयाँलाई सम्मान गर्ने चलन कम छ। एकअर्काको कलाको सम्मान र भिजन नहुँदा पनि यो क्षेत्रमा समस्या आएको छ।
  • सुख मिल्नेछ भनेर काम गर्न र सिक्न आउनुहुन्छ भने भविष्य उज्ज्वल छ। तर, छोटो समयमा नै हिट हुन्छु, भाइरल बन्छु भन्ने सोच्नुभयो भने चाहिँ गाह्रो छ। 
  • पढेर आउनुहोस्। मेहनत गर्नुहोस्। क्षेत्र राम्रो छ।
  • रित्तो हात नै यो क्षेत्रमा काठमाडौं आएको मान्छे म। म एक्लै यो परिवारबाट कलाकारिता क्षेत्रमा आए पनि अहिले २२ जनालाई यो क्षेत्रमा लाग्न प्रेरणा दिएँ। हरेक क्षेत्रमा भूमिका निर्वाह गरें। खेलेको र दिएको भूमिकालाई न्याय गरेको छु।
  • नायक बन्ने, कलाकारिता क्षेत्रमा लाग्ने भन्ने कुरा त बुवाआमाले सोच्ने कुरा नै भएन नि। हिरो, हिरोइनलाई बुवा–आमा भगवान्जस्तो मान्नुहुन्थ्यो। त्यो स्थानमा छोरा पुग्छ भन्ने त 
  • के सोच्नुहुन्थ्यो र ? 

सरको यो भनाइले मन छोयो। काठमाडौं गए हिरो बन्छु भन्ने लाग्यो। घरमा गएर आमालाई भनें– ‘म त हिरो बन्न काठमाडौं जान्छु।’। आमाले त ‘लोपारी’ दिनुभयो। मन दुख्यो। सबैले हिरो बन्छस् भन्ने तर मेरै आमाले बन्दैनस् भन्ने। दुई÷चार दिन के गर्ने भन्ने सोचें। अनि, घरमा राखेको दुई हजार रुपैयाँ चोरेर काठमाडौं भागेर आएँ हिरो बन्नलाई।
 
काठमाडौं आएपछि के गर्नुभयो ?  

सामान्य नाच्न जान्ने केटो। काठमाडौं हिरो बन्न आएको। कहाँ–कहाँ चलचित्र सुटिङ हुन्छ भन्दै खोज्दै हिँडें। बिस्तारै बुझ्दै गएको त म कहाँ हिरो बन्ने रहेछु र ? अझै जिरोकै लेवलमा भएको थाहा पाएँ। धेरै 
कुरा सिक्नुपर्ने रहेछ। अनि नृत्यकक्षामा जोडिएँ। मार्सल आर्ट सिकें। अभिनय सिकें। यो क्षेत्रमा लाग्न चाहिने सबै कुरा पूरा गरें।
 
भागेर काठमाडौं आएको मान्छे। त्यो पनि दुई हजार रुपैयाँ बोकेर। कसरी व्यवस्थापन भयो र यो सबै कुरा ?  

त्यो पैसा त आएको चार दिनमै सकियो। एक जना मामा हुनुहुन्छ रे भन्ने सुनें। मामालाई खोज्न थालें तर भेटिनँ। पछि राजवंशी मित दाइसँग भेट भयो। उहाँले नै एकजना पुकार भट्टराई हुनुहुन्छ, फिल्म बनाउनुहुन्छ भनेर भेट गर्न लैजानुभयो।

कोटेश्वरमा भेट्न गयौं। मुक्ति भन्ने सिरियलबाट उहाँ हिट मान्छे। सिरियल बनाउँदै गरेको थाहा भयो। परिचय र कुराकानी गरियो। उहाँको बुवाले मलाई झापाको घैलाडुब्बामा पढाउनु भएको रहेछ। नजिकिएको महसुस भयो। पुकारको बुवा हरि सर हुनुहुन्छ। त्यसपछि उहाँसँगै प्रोडक्सनको काम गरें। कुनै रोल पाइन्छ भन्ने आश गरेर धेरै काम गरें। पछि उहाँले एउटा प्रहरीको रोल निकाल्नु भयो। मेरो बुवा पनि प्रहरी मान्छे। राम्रो हुन्छ यो रोल भन्ने लाग्यो। तयारी पनि गरें। मैले खेल्ने त्यो सिरियलको नाम थियो ‘दिन–रात’। पछि नेताको रोल आयो। सडकमा दौडनुपर्नेलगायत रोल पाएँ। पछि त त्यो सिन नै काटियो। अनि थाहा भयो मैले धेरै निखारिन बाँकी छ भन्ने। धेरै साइड रोल मात्रै पाउन थाले पछि थाहा भयो म त हिरो बन्न नसक्ने रहेछु। हिरो बन्न आवश्यक कुरा सिक्न थालें।
 
पहिलेपटक चलचित्रमा बोलेको संवाद थाहा छ ?   

‘यस्तै रहेछ जिन्दगी’को एउटा डाइलग थाहा छ। त्यो समय राजेश हमाल र जल शाहसँग मेरो रोल छ भन्ने सुनेपछि फुर्किएर गएको थिएँ। मेरो रोल डाक्टरको थियो। त्यहाँ प्रहरीको इन्स्पेक्टरले सोधेका थिए– ‘डाक्टर के यो हत्या गर्ने उद्देश्यले नै आक्रमण भएको हो ?  ’ जवाफ दिएको थिएँ– ‘अँ, एक्ज्याक्टली। यो हत्याराले हत्या गर्ने उद्देश्यले नै प्रहार गरेको देखिन्छ। तर, थ्याङ्स गड, उहाँले समयमा नै हस्पिटल ल्याएकाले ज्यान बचाउन सकियो।’ यो नै मेरो डाइलग हो। यो त मेरा लागि त्यो समय ठूलो कुरा हो नि।

छोरो हिरो बन्न काठमाडौं भाग्यो। घरमा बुवा–आमाको चाहना चाहिँ के बने हुन्थ्यो भन्ने थियो ?  

एकजना हाम्रो घरमा दाइ बस्नुहुन्थ्यो। उहाँले अगरबत्ती फ्याक्ट्री चलाउनुहुन्थ्यो। मलाई त्यसमै मेनेजर बन भन्नुहुन्थ्यो। त्यसको मार्केटिङ गर्न पनि कुदियो एक वर्ष। त्यसो हुँदाहुँदै दुबई जा भन्न थाल्नुभयो। त्यो समय दुबई जाने चलन धेरै थियो। त्यहाँ गएर कमाएर ल्याएर एउटा सानो व्यापार गरोस् भन्ने चाहना घरमा थियो। नायक बन्ने, कलाकारिता क्षेत्रमा लाग्ने भन्ने कुरा त उहाँहरूले सोच्ने कुरा नै भएन नि। हिरो, हिरोइनलाई बुवा–आमा नै भगवान् जस्तो मान्नुहुन्थ्यो। त्यो स्थानमा छोरा पुग्छ भन्ने त के सोच्नुहुन्थ्यो र ?  
 
कलाकारिता त धेरै संघर्ष गर्ने क्षेत्र हो नि। त्यति सजिलै सोचेको ठाउँमा पनि पुगिन्छ त ?  

बुवाको एउटा भनाइ छ, ‘सजिलो काम सबैले गर्छन् छोरा, म चाहिँ गाह्रो काम गर्न जन्मिएको भन्ने सम्झिस् भने जीवन सहज हुन्छ।’ त्यसपछि मैले मेहनतलाई गाह्रोको रूपमा कहिले पनि लिइनँ। गाह्रो भनिएका सबै काम गर्दै गएँ। ईख लिएको थिएँ। मेरै परिवारबाट ‘तँ मुला बन्छस् कलाकार’ भन्नुहुन्थ्यो। यो कुरा मेरो मनमा गडेको थियो। त्यो कुरा सम्झिएर नै मैले गर्ने हरेक मेहनतको समयलाई बढाउँथे। सिक्नुपर्ने कुरा दोहोर्‍याई, तेहर्‍याई गर्थें। मेहनत गर्दा हुन्छ भन्ने कुरामा म विश्वस्त थिएँ।
 
बीचमा यो क्षेत्र छाडूँ भन्ने सोचाइ आएन ?  

किन नआउनु, मज्जाले आ’थ्यो। थुप्रो ठाउँमा अडिसन दिन्थें। पास पनि हुन्थें। बोलाउँथे पनि। तर, त्यहाँ पुगेपछि यसो अलिअलि लगानी पनि गर्नुपर्छ भन्ने कुरा आउँथे। म त क्षमता भएको मान्छे। मैले किन लगानी गर्ने ? मेरो क्षमताको पो मूल्यांकन गर्नुपर्छ भन्ने सोच्थें। तर, अहिले सोच्दा त त्यो होइन कि क्या हो जस्तो पनि लाग्छ। म एकदमै दुब्लो पातलो। शरीर पनि नसुहाउने। मलाई किन लिनु पर्‍यो ? भन्ने पनि लागेको होला भन्ने लाग्यो। त्यो समय मलाई हे... यो क्षेत्रमा केही नहोला जस्तो छ भनेर चसक्क भयो। तर, बुवाले भन्नुभएको कुरा सम्झन्थें। त्यसैले लक्ष्य छाडिनँ।
 
कलाकार बन्न  काठमाडौं नै आउनुपर्ने रहेछ नि ?   

नेपालको परिस्थितिमा यस्तै छ। यहाँ सबै जिल्लाका मान्छे आएका छन्। सिक्न र बुझ्न पाइने भएकाले पनि केही गर्न खोज्नेले काठमाडौं नै रोज्नुपर्ने बाध्यता छ। तर, एउटा समस्या भने छ। केही सिकेर र लक्ष्य देखेर आएकालाई भने यहाँ लक्ष्यमा दौडन सहज छ। तर, यहाँ आउनेबित्तिकै चाँडै प्रतिफल खोज्न भने हुँदैन। लक्ष्य भेटाउन धेरै मेहनत आवश्यक छ।
 
काठमाडौं एउटा समुद्र नै हो भन्छन्। सपना पूरा गर्न खोज्दा कोही, कोही उत्रन्छन्। तपाईं नि ?  

‘समुद्रको गहिराइमा नडुबी मोती भेटिँदैन। हावाको बेगलाई यो नयनले देखिन्न। सूर्यको प्रकाशलाई हत्केलाले छेक्किन। आगो नबलेको चुलोमा रोटी त सेकिँदैन’, यो मेरै भनाइ हो। त्यसैले केही पाउन त्यो क्षेत्रमा डुब्नै पर्छ। समुद्र जतिसुकै गहिरो होस् त्यहाँ डुबुल्की मार्ने आँट गरेन भने कहाँ मोती टिप्न सकिन्छ र ?  यहाँ लाखौं मान्छे सपना देखेर आउँछन्। १०–१५ जनाको मात्रै सपना साकार भएको हुन्छ।

फरक गर्छु भन्ने म कहिल्यै थाक्दिनँ भन्ठान्छु। हरेक कुरा सिक्नुपर्छ भन्ने लाग्छ। सायदै कलाकारिताका लागि आवश्यक पर्ने कुरा सिक्न बाँकी होला। कलाकार बन्न खेलाडी पनि बनें। मार्सल आर्टमा सबै गरें। १५ वर्षमा हरेक खेल, जिमलगायत व्यायाम सबै पूरा गरें। म यहाँ पौडँदै छु। डुबेको छैन भन्ने नै लाग्छ। अझै गर्न पनि धेरै नै छ।
 
परिवार र आफन्त धेरै कलाकार नै हुनुहुन्छ। के कसरी यो सम्भव भयो ?  

घरबाट भागेर आएर संघर्ष गर्नेमा पर्छु। आफन्तमा कलाकारिताको नै गफ हुन्छ। सबैको ध्यान यतै तानियो। कारण म नै हो। अहिले मसँग जोडिएका आफन्त र परिवारमा लगभग २२ जना त यो क्षेत्रमा सक्रिय छौं। श्रीमती, छोरा, छोरी सबै कलाकार। छोरीले बालकलाकारमा राष्ट्रिय पुरस्कार नै जितेकी छन्। छोरो गिनिज बुक अफ द वल्र्ड रेकर्डस्मा कान्छो निर्देशक। भाइ, बहिनी, भान्जा, भान्जी सबै कलाकार नै छन्। भेटघाट हुँदा पनि यो क्षेत्रकै कुरा हुँदोरहेछ।
 
सबै कुरा तयारी राखे पनि तपाईं किन लुकिरहे झैं लाग्छ ?  

सबै क्षेत्रमा हात हालें। नृत्यमा धेरै काम गरें। सबै जिल्लाको लोकनृत्यको अनुसन्धान गरें। सिकें र ती कुरामा लक्ष्य बनें। विद्यालयमा नृत्यशिक्षक पनि बनें। नृत्यमा त गहिरिएरै अनुसन्धान गरें। त्यो सबै हिरो बन्नकै लागि हो। सिकेका कुरा खेर जाँदैनन्। जानेका कुरा प्रयोग गरिरहेकै हुन्छु।
 
जुन क्षेत्रमा आएको हो त्यसमा सफल भएको जस्तो लाग्छ ?  

भन्नै पर्दा रित्तो हात नै यो क्षेत्रमा काठमाडौं आएको मान्छे म। म एक्लै यो परिवारबाट कलाकारिता क्षेत्रमा आए पनि अहिले २२ जनालाई यो क्षेत्रमा लाग्न प्रेरणा दिएँ। हरेक क्षेत्रमा भूमिका निर्वाह गरें। मैले 
खेलेको र दिएको भूमिकालाई न्याय नै गरेको छु। पक्कै सफल भएँ हुँला।
 
चलचित्र क्षेत्रको विकास कम भएजस्तो, साँघुरिए जस्तो लाग्दैन ? विश्वमा नेपाल चिनाउने काम कम भएजस्तो लाग्दैन ?  

यो क्षेत्र धेरै नै पछि छ। लगभग अन्य मुलुकको तुलनामा १५ वर्ष पछि छ। नयाँले पुरानालाई र पुरानाले नयाँलाई मान्नु सम्मान गर्ने चलन कम छ। एकअर्काको कलाको सम्मान र भिजन नहुँदा पनि यो क्षेत्रमा समस्या आएको छ। यो क्षेत्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा कसरी लैजान सकिन्छ भन्ने विषयमा कम अनुसन्धान भयो। अनुसन्धान गर्नेलाई पनि साथ मिलेन।

छोरोलाई अन्तर्राष्ट्रिय सम्मान मिल्यो तर, नेपालले उसलाई चिन्दैन। नेपालमा पाखुरा तान्नेभन्दा पनि खुट्टा तान्ने क्रम बढी भयो। हामीमा एकता भन्ने कुरा नै छैन। मुख्य समस्या नै यो हो। यहाँ कसैले एक्लैको प्रयासले चल्यो भने चल्यो नत्र गाह्रो छ। यो क्रमलाई सुधार्ने हो भने मात्रै चलचित्र क्षेत्रको सुधार हुन्छ।
 
पछिल्लो समय के गर्दै हुनुहुन्छ ?   

कोरोनाको समयमा केही सुषुप्त भएर बसें। अहिले म्युजिक भिडियो, एडलगायतका काममा पनि व्यक्त छु। केही नयाँ प्रोजेक्ट तयार गर्दैछु। जुन सार्वजनिक भएपछि त्यसले विश्वमा नै चर्चा बटुल्नेछ भन्ने आशामा काम गरिरहेको छु। मोटिभेसन स्पिकरको पनि काम गरिरहेको छु। यस्तै यस्तै छ। केही सिरियल र चलचित्रको पनि काम गरिरहेको छु।  
 
यो क्षेत्रमा आउने नयाँ पुस्तालाई सुझाव के छ ?   

यो क्षेत्रमा धेरै काम गर्न सकिन्छ। तर, मेहनत गर्नुपर्छ। लगनशील बन्नुपर्छ। कुनै पनि लक्ष्य राखेर दुःख परे पनि सुख आउँछ भनेर काम गर्न र सिक्न आउनुहुन्छ भने भविष्य उज्ज्वल छ। तर, छोटो समयमा नै हिट हुन्छु, भाइरल बन्छु भन्ने सोच्नुभयो भने चाहिँ गाह्रो छ। पढेर आउनुहोस्। मेहनत गर्नुहोस्। क्षेत्र राम्रो छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.