बुटवलमै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र
बुटवल : बुटवल–१० रामनगरस्थित बुटवल मण्डपमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण भएको छ। जहाँ २ हजार ७ सय जना अटाउने १२ वटा हल बनाइएको छ। १ हजार १ सय १४ जना अट्ने गौतमबुद्ध हल सबैभन्दा ठूलो छ। ५ सय क्षमताका ६ वटा बैठक कक्ष छन्। ५०/५० र १/१ सय क्षमताका दुइटा साना हल, भीआईपी, भिडियो, अडियो, ट्रान्सलेटरलगायत हल छन्। जसको नामकरण लुम्बिनी प्रदेशका ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको नामबाट गरिएको सहरी विकास मन्त्रालयका सहसचिव पदम मैनालीले बताए।
बुटवल मण्डपको साढे १६ बिघा जग्गामध्ये ९.६ बिघामा सभाहल फैलिएको छ। यो सभाहल आकाशबाट हेर्दा चन्द्र र सूर्य रहेको नेपालको झन्डा आकारमा छ। सभाहल अगाडि पानीका फोहोरासहित पोखरी बनाइएको छ। सम्मेलन केन्द्रमा प्रवेश गर्ने र बाहिरिनेहरूका लागि छुट्टाछुट्टै द्वार छन्। ५ वटामध्ये प्रवेश र निकास द्वार, भीआईपी र सर्भिस द्वार छन्। सम्मेलन केन्द्र निर्माण सम्पन्न भई परीक्षणपछि उद्घाटन गरिएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र बुटवल प्रदर्शनी केन्द्र निर्माण आयोजनाका प्रमुख धर्मेन्द्र पन्थीले बताए। प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार सम्मेलन केन्द्रको उद्घाटन गरेका हुन्। यो सभाहल राजधानीबाहिरको ठूलो भएको जनाइएको छ।
सम्मेलन केन्द्र दुई चरणमा सक्ने गरी २०७१ सालमा ठेक्का सम्झौता भएको थियो। २०७८ पुस मसान्तसम्म बनाइसक्ने भनिए पनि कोरोना महामारीका कारण ढिला भएको हो। दोस्रो चरणमा २०७४ सालमा सम्झौता गरी २०७६ कात्तिकसम्मको समयावधि तोकेर काम भएको थियो। पछि २०७९ कात्तिकसम्म म्याद थप गरिएको थियो। थप म्यादअगावै २०७८ असारमै निर्माण सम्पन्न गरिएको आयोजना प्रमुख पन्थीले बताए। पहिलो चरणको कामलाई २३ करोड र दोस्रो चरणको कामलाई ८० करोड गरी १ अर्ब ३ करोडमा ठेक्का सम्झौता गरिएको थियो। पहिलो चरणअन्तर्गत मुख्य सभाहल रहेको भवनको काम सकिएको हो। त्यहाँ सँगै ब्लकमा दुईवटा भवन छन्। मुख्य सभाहलभित्र रातो लहरै कुर्ची राखिएको छ। दोस्रो चरणमा चन्द्रमा आकारको संरचना निर्माण भएको हो। आयोजनाका इन्जिनियर सुमन दलार्मीका अनुसार सभाहलसँग साटेर उत्तर र दक्षिणमा गरी दुईवटा बहुउपयोगी भवन बनेका छन्। यी १ सय क्षमताका छन्। त्यसबाहेक दोस्रो दुईवटा सर्भिस ब्लक, क्यान्टिन, ग्रिन हाउस, ६ जना बस्न मिल्ने स्टाफ क्वार्टर बनाइएको छ।
सभाहलमा लिफ्टको व्यवस्था छ। सभाहल परिसरको ग्रिनरीसहितको बाटो, फुटपाथ, बगैंचालगायत संरचना पनि दोस्रो चरणअन्तर्गत निर्माण गरिएका छन्। बुटवल उपमहानगरपालिकाले संरक्षण गर्दै आएको बुटवल मण्डपमा पूर्वतर्फ बुटवल सम्मेलन केन्द्र र पश्चिमतर्फ अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने निर्णय सरकारले २०६५ सालमा गरेको थियो। तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले २०७६ जेठ १३ गते शिलान्यास गरेका थिए। रुपन्देही क्षेत्र नम्बर २ का सांसद एवं पूर्वअर्थमन्त्री पौडेलले योजनाको अवधारणा बनाएका थिए। एमाले महाधिवेशनपछि बुटवलमा ठूला कार्यक्रम गर्न ‘इनडोर’ सभाहलको आवश्यकता महसुस भएको पौडेलले बताए।
‘बुटवलले अब यही सभाहलमा ठूला कार्यक्रमहरू गर्न सक्छ। लुम्बिनी नजिक रहेकाले यसको विशेष महŒव छ’, उनले भने। यहीं ठाउँमा २०६५ सालमा एमालेको महाधिवेशन उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो। २०७१ माघ १५ गते निर्माण कम्पनीसँग सम्झौता भएको यो सम्मेलन केन्द्र ८ वर्षमा पूरा भएको हो। सम्मेलन केन्द्र कुन मोडालिटीबाट सञ्चालन गर्ने खाका भने तयार भएको छैन। बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने या कुनै समितिमार्फत सञ्चालन गर्नेबारे संघीय सरकारले नै निर्णय गर्ने इन्जिनियर दलार्मीले बताए।
सरोकारवारलाले यो छिटो सञ्चालन गर्न माग गरेका छन्। रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले सभाहल निर्माणपछि बुटवलमा आर्थिक गतिविधि बढ्ने विश्वास रहेकाले सञ्चालनमा ढिलाइ गर्न नहुने बताए। व्यवसायीले प्रदर्शनी केन्द्रको निर्माण छिट्टै सक्नुपर्ने माग गर्र्दै आएका छन्। यो संरचना निर्माणपछि स्थायी प्रदर्शनीस्थल तयार हुनेछ। बुटवल मण्डपको १६ बिघामध्ये पश्चिमतर्फको ६.४ बिघामा १ अर्ब २ करोड लागतमा बुटवल प्रदर्शनी केन्द्र निर्माणाधीन छ।