बाबु–छोरीका कृति एकसाथ
काठमाडौं : भाषा आयोगका सदस्य तथा वरिष्ठ कवि डा. अमर गिरी, वरिष्ठ कवि तथा किरात सौन्दर्यविद् भूपाल राई, लोकप्रिय गायिका प्राज्ञ सत्यकला राईलगायतले गायिका तथा गीतकार अनिला राई र उनका बुबा गंगाराज राईका पुस्तक लोकार्पण गरेका छन्।
कार्यक्रममा अनिला राईद्वारा लिखित तथा स्वरबद्ध गीति एल्बमसमेत लोकार्पण गरिएको थियो। गायिका तथा गीतकार अनिलाको गीति एल्बम ‘एन्जेलिना’ र गीति पुस्तक ‘योद्धा, पपी फूल र म’ तथा उनका बुबा गंगाराम राईद्वारा लिखित कविता संग्रह ‘अक्षरको ऐना’ लोकार्पण गरिएको हो। कार्यक्रम बाबु–छोरीका तीन कृति एकसाथ लोकार्पण गरिएको हो। ‘एन्जेलिना’ अनिलाको सातौं एल्बम हो। गीति पुस्तक भने उनको पहिलो हो। एल्बम ‘एन्जेलिना’मा नौ वटा गीत समावेश गरिएका छन्। जसमा अनिलाको एकल शब्द छन्। एल्बममा ‘धाराको पानी’, ‘प्यारी छोरी’, पपी फूल’, ‘बेलायतको उत्तरी भेग’, ‘आमा’, ‘ढिँडो र सिस्नु’, ‘पठाउँदै छ युद्ध भूमि’, ‘साकेला’ र ‘चिसो चिसो मौसम छ’ बोलका गीत छन्।
एल्बममा समावेश सात वटा गीतमा अनिलाको एकल स्वर छ भने ‘धाराको पानी’ र ‘चिसो चिसो मौसम छ’ मा गायक रोशन राईले अनिलालाई साथ दिएका छन्। एल्बममा शान्तिराम राई, रोशन राई, जसिहाङ राई र सचिन सिंहको संगीत छ। गीति पुस्तक ‘योद्धा, पपी फूल र म’मा एक सय १२ वटा गीत संग्रहित छन्। तीमध्येबाटै नौ वटा गीत रेकर्ड गरिएको हो। कार्यक्रममा तीन वटा गीतको भिडियो पनि देखाइएको थियो। ‘धाराको पानी’, ‘प्यारी छोरी’ र ‘आमा’ गीतको भिडियो प्रिमियर गरिएको थियो।
‘धाराको पानी’ गीतको भिडियोलाई कमल राईले निर्देशन गरेका हुन्। भिडियोमा योगेन्द्र राई र उपसना नेम्बाङले अभिनय गरेका छन्। यस्तै टीका चाम्लिङद्वारा निर्देशित भिडियो ‘प्यारी छोरी’मा गायिका अनिला र उनकी छोरी एन्जेलिना नै फिचरिङ छन् भने ‘आमा’ मा अनिला, उनकी आमा सत्यवती र एन्जेलिना राईले अभिनय गरेका छन्।