थारू समुदायमा अट्वारी उत्साह : पाँच पाण्डवका भीमको स्मृति
दाङ : थारू समुदायमा पुरुषहरूले मनाउने अट्वारी पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतका थारू समुदायले आइतबार धुमधामले मनाएका छन्।
अटवारीलाई पुरुष थारूहरूको लागि महत्वपूर्ण पर्वको रूपमा लिइने गरिएको छ।
अट्वारीमा दाङका केही स्थानीय तहले सार्वजनिक बिदा समेत दिएका छन्। थारू बाहुल क्षेत्र रहेका जिल्लाका पालिकाहरूमा सार्वजनिक बिदा दिइएका हुन्। भने लुम्बिनी प्रदेश सरकारले समुदायकका लागि आइतवार बिदा दिएको थियो।
थारू समुदायका पु्रुषहरूले महिलाको सम्मानका लागि भनेर यो दिनलाई विशेष रूपमा लिने गरेका छन्। पानी समेत नखाएर पुरुषहरू (निर्जला) ब्रत बस्ने गर्ने गर्दछन्।
यो पर्व सूर्य अर्थात शक्तिको उपसनाका लागि गर्ने गरिएको लुम्बिनी प्रदेशका पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले बताए।
उनले पाँच पाण्डवका भीमको भौरखसँग समेत जोडिएको पर्व भएकाले यसको महत्व थारू समुदायमा ठूलो रहेको बताए।
किंम्वदन्ती अनुसार दाङका थारू राजा दंगीशरण, पाण्डव र कौरवको बीचको युद्धका नायक भीमसँग समेत जोडेर मनाउने गरिएको उनको भनाइ छ।
उनले थारू राजा र पाँच पाण्डवको सम्बन्धलाई बलियो बनाउन यो पर्व मनाइने गरेको बताए।
थारू संस्कृतिविद् अशोक थारूले अट्वारी पर्वलाई शक्ति र प्रकृतिको पूजाको रूपमा लिनुपर्ने बताए। सम्पूर्ण व्रह्माण्डको मूल स्रोत भनेको सौर्य ऊर्जा भएकाले त्यही शक्तिको उपासना नै अट्वारीकोरूप भएको थारूको भनाइ छ।
उनले अट्वारी पर्वलाई अलौकिक मिथकसँग जोड्नु भन्दा विश्व व्रह्माण्डीय विज्ञानलाई जोड्नु बढी बैज्ञानिक र दिगो हुने धारणा राखे।
'अट्वारीको बारेमा अव द्वापर युग, भिम र दंगीशरण राजा भन्दा अगाडि गएर सूर्यको उत्पत्तिको युगसँग सोच्न सक्नुपर्ने वताए।'
तर, चामलको पिठोको उक्त रोटी भने एकसरो पकाएको हुन्छ। यस्मा पनि रोचक किम्वदन्ती छ। द्वापर युगमा धर्म युद्द हुने गर्दथ्यो। त्यतिबेला सूर्य अस्तपछि युद्द हुँदैन थियो थारूले भने।
थारू बुद्धिजिवी चूर्णबहादुर चौधरीले धर्म संस्कृती र परम्पराले विविधतालाई एकतामा अट्वारी पर्वले जोडेको बताए। उनले यहि भएर अहिले सबै जातजातिले समेत अटवारीको महत्व बुझेको र मनाउने गरेको उल्लेख गरे।
धर्म संस्कृति संरक्षण र विकासका लागि स्थानीय सरकारहरूले समेत ध्यान दिनु राम्रो भएको वताए। आफनो संस्कति र परम्पराको जगेर्ना गर्दै अरुको संस्कृतिको सम्मान गर्नु पर्ने बताए।
थारू समुदायमा अट्वारीका अवसरमा स्थानीय स्तरमा उत्पादित बस्तुहरू काँक्रा, अम्वा, केरा र चामलको पिठोको रोटी पकाएर खाने चलन छ।
भोकले व्याकुल 'भिम' रोटी पकाउँदै गर्दा युद्दको 'डंका' युद्धको विगुल बजेपछि उनी पकाउँदै गरेको रोटी छोडेर कौरवसँग भिड्न गएको हुँदा र आउदा समेत रोटी नडढेकोले उनको बहादुरीको प्रशंसाको लागि एकतर्फ मात्रै पकाएको रोटी खाने प्रचलन रहेको चौधरीले वताए।
अट्वारी पर्वमा जंगलबाट ल्याएको नयाँ र शुद्ध मालुको पातको डुना टपरी कासेर परिकार खाने प्रचलन छ। अट्वारीमा माछा मासु खाइँदैन।
केही पहिलेसम्म अट्वारी पर्व मनाउने विषयमा थारू समुदायकै बीचमा फरक-फरक मिति र समय हुन थालेपछि यसमा एक रूपता ल्याउन पछिल्लो समय थारू बाहुल क्षेत्र दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर तथा सुर्खेतका मटहवा, भलमन्सा र बढघरहरूले संयुक्त रूपमा क्यालेन्डर समेत सार्वजनिक गरेर एकै दिन मनाउने निर्णय गरे पछि अहिले एकै दिन मनाइदै आएको छ।