सिट बाँडफाँटमा अल्झन
काठमाडौं : मंसिर ४ गते निर्धारित प्रतिनिधिसभा-प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँट गर्न कार्यदल बनाएको एक महिना बित्यो। तर, दलीय अडानका कारण अझै टुंगो लाग्न सकेन। कार्यदलको आइतबारको बैठकमा पनि दलहरूले आ–आफ्नो अडान यथावत राखेका थिए। दलहरूले निर्वाचन क्षेत्रभन्दा बढी दाबी गरेका छन्।
राष्ट्रिय जनमोर्चाका हिमाल पुरीले भने, ‘सबै पार्टीका नेताहरू सिट घटेर आउनुहुन्छ र त्यसमा छलफल हुन्छ भन्ने अपेक्षा थियो। अब अरू विषयमा विवाद छैन सिट दाबीमा मात्र विवाद हो। दाबी यथावत नै राख्ने हो भने कुरा मिल्दैन। सबैले केही न केही लचकता हुनैपर्छ।’ उनका अनुसार मुख्य ठूला दलहरू दाबी सिटमा घट्दा यो विषय आजै सल्टिने हो। कोही पनि आफ्नो अडानबाट पछि हट्ने सुरमा देखिनुहुन्छ। मुख्य पार्टी कांग्रेसमै आपसमै कति सिट दाबी गर्ने भन्ने टुंगिएको देखिन्न। माओवादी पनि आफ्नो अडानमा यथावत छ।’
नेकपा माओवादीका महासचिव देव गुरूङले भने सिट अडानका आधार तय भइसके पनि कार्यदलका संयोजक नेता कृष्णप्रसाद सिटौला बिरामी परेका कारण अहिले भेट्ने र छुटिने मात्रै भएको छ। ‘सिटौलाजी बिरामी परेर पनि अहिले निष्कर्षमा पुग्न सकिएको छैन। शीर्ष नेता बीचमा छलफल गर्नै पाइएको छैन। गठबन्धन गर्ने क्रममा माओवादी पार्टी केही लचिलो हुन सक्छ। समस्या माओवादीमा छैन। समस्या कांग्रेसमा हो। कांग्रेसभित्रै सयमा बस्ने की केही लचिलो हुने भन्ने द्वन्द्व देखिन्छ,’ उनले भने, ‘कांग्रेसमा गगनजीको एउटा अडान छ।
अहिले दाबी गरेकोमा अडान कायम राख्ने उहाँको कुरा देखिन्छ। सिटौला जी र स्वयं देउवाजी केही लचिलो देखिनुहुन्छ। गठबन्धनमा जाँदा केही सिट बाँडफाँटमा तलमाथि हुनुपर्छ भन्ने छ।’कांग्रेसभित्रै संस्थापन पक्ष केही लचिलो हुन खोजेको छ। सँगसँगै इतर पक्ष भने १ सय सिटबाट पछि नहट्ने अडान राखेको छ। नेता डा. शेखर कोइराला १ सय सिट कांग्रेसले कुनै हालतमा छाड्न नहुने बताउँदै आएका छन्। अर्कोतिर लोकप्रिय ठाउँ हुँदाहुँदै पनि गठबन्धनमा हुँदा ती ठाउँ गठबन्धन दलकै अर्को पार्टीलाई छोड्नुपर्ने बाध्यता आउन सक्छ। गठबन्धन गर्ने क्रममा यस्ता समस्या देखिन्छन्। यद्यपि, कांग्रेस ठूलो पार्टी हो। सभापतिजीले सबैलाई अटाएर लैजान खोज्नुभएको छ,’ उनले भने। गठबन्धन दलका अन्य दलहरूले दाबी गर्दैमा कांग्रेसले सिट छोडिहाल्ने भन्ने नहुने कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले बताए। उनले भने, ‘कहाँ कसको संगठन कस्तो छ ? जित्ने आधार कति छ ? सबै कुराको लेखाजोखा गरेर सिट बाँडफाँट गरिनुपर्छ।’
गठबन्धनमा अहिले ५ दल छन्। तर, सभापति देउवाले मधेस दल शक्ति लोकतान्त्रिक समाजवादी पार्टीलाई समेत गठबन्धनमा जोडेर जानुपर्ने भन्दै आएका छन्। बालुवाटार स्रोतका अनुसार देउवा सिट बाँडफाँटको विषयमा केही लचकता देखिनुको प्रमुख कारण लोसपालाई गठबन्धनमा ल्याउनकै लागि हो।
सय सिटभन्दा तल जाँदा कांग्रेसले गठबन्धन गर्न सक्दैन
कांग्रेसका नेता डा.शेखर कोइरालाले गठबन्धन गर्दा जितेको ठाउँमा कांग्रेसले छाड्न नहुने बताएका छन्। कांग्रेस क्षेत्रीय समिति मोरङमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कुनै पनि क्षेत्रमा कांग्रेस नछुट्ने गरी गठबन्धन हुनुपर्ने बताए।
‘सय सिटभन्दा कम गरेर कांग्रेसले गठबन्धन गर्न सक्दैन,’ स्थानीय तहमा भएको गठबन्धनले परिणाम राम्रो आए पनि अहिले सय सिटभन्दा कममा गठबन्धन गर्न नसकिने भन्दै कोइरालाले भने, ‘गठबन्धनको मर्म भनेको एमालेले गरेको असंवैधानिक कदम रोक्ने मात्रै हो। त्योभन्दा बढी केही होइन। पहिला हाम्रै पार्टीका साथीहरू पनि यस विषयमा प्रष्ट हुनुपर्यो। गठबन्धन गर्दा भू–भाग र क्षेत्रमा कांग्रेस नछुट्ने गरी गठबन्धन गर्नुपर्छ।’
कोइरालाले सयभन्दा कम सिटमा गठबन्धन भयो भने पार्टीभित्रै विद्रोह सुरु हुने बताए। सिट बढाउनतिर नलागी घट्नतिर लागियो भने पार्टीभित्र थप बेथिति थपिँदै जाने बताए । ‘बेथितितर्पm ध्यान दिन अहिले शेरबहादुरजीको नेतृत्वले सकिरहेको छैन। राजनीतिक सिद्धान्त र विचार नेतृत्वले बिर्सेको अवस्था छ। कार्यकर्ताले सुशासन र पारदर्शिता खोजेका छन्।’
गठबन्धनमा रहेको कांग्रेसले एक सिट, माओवादीले ६० सिट, नेकपा (एस)ले ४० सिट तथा जसपाले ३२ सिट दाबी गरेको छ। यस्तै जनमोर्चाले २ सिट दाबी गर्दै आएका छन्।