थारु समुदायमा अटवारी उत्साह
दाङ : पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतका थारु समुदायले आइतबार अटवारी पर्व धुमधामले मनाएका छन्। अटवारी पुरुष थारुहरूको महत्वपूर्ण पर्व मानिन्छ।
अटवारीमा दाङका केही स्थानीय तहले सार्वजनिक बिदासमेत दिएका छन्। थारु बाहुल क्षेत्र रहेका जिल्लाका पालिकाहरूमा सार्वजनिक बिदा दिइएको हो। थारु समुदायका पुरुषहरूले महिलाको सम्मानका लागि यो दिनलाई विशेष रुपमा लिने गरेका छन्। पानीसमेत नखाएर पुरुषहरू (निर्जला) ब्रत बस्ने गर्छन्। यो पर्वमा सूर्य अर्थात शक्तिको उपसना गरिने लुम्बिनी प्रदेशका पर्यटन तथा सहरी विकासमन्त्री डिल्लीबहादुर चौधरीले जानकारी दिए। उनले पाँच पाण्डवका भीमको पौरखसँगसमेत जोडिएको पर्व भएकाले यसको महत्व थारु समुदायमा ठूलो रहेको बताए।
किम्वदन्ती अनुसार दाङका थारु राजा दंगीशरण, पाण्डव र कौरवबीचको युद्धका नायक भीमसँगसमेत जोडेर मनाउने गरिएको मन्त्री चौधरीले जानकारी दिए। उनले थारु राजा र पाँच पाण्डवको सम्बन्धलाई बलियो बनाउन यो पर्व मनाइने गरेको बताए।
संस्कृतिविद् अशोक थारुले अटवारी पर्वलाई शक्ति र प्रकृतिको पूजाका रुपमा लिनुपर्ने बताए। ‘सम्पूर्ण ब्रह्मान्डको मूल स्रोत भनेको सौर्य उर्जा हो। त्यही शक्तिको उपासना नै अटवारी हो’, संस्कृतिविद् थारुले भने। उनले अटवारी पर्वलाई अलौकिक मिथकसँग जोड्नुभन्दा विश्व ब्रह्मान्डीय विज्ञानलाई जोड्नु बढी बैज्ञानिक र दिगो हुने धारणा राखे। ‘अटवारीका बारेमा अब द्वापर युग, भीम र दंगीशरण राजाभन्दा अगाडि गएर सूर्यको उत्पत्तिको युगका बारेमा बुझ्नुपर्ने हुन्छ’, उनले भने। थारु बुद्धिजीवी चूर्णबहादुर चौधरीले धर्म, संस्कृति र परम्पराले विविधतालाई एकतामा जोड्ने पर्व अटवारी भएको बताए। थारु समुदायमा अटवारीका अवसरमा स्थानीय स्तरमा उत्पादित काँक्रो, अम्बा, केरा र चामलको पिठोको रोटी पकाएर खाने चलन छ। भोकले व्याकुल बनेका ‘भीम’ रोटी पकाउँदै गर्दा युद्धको बिगुल बजेपछि पकाउँदै गरेको रोटी छाडेर कौरवसँग लड्न गएको र आउँदासमेत त्यो रोटी नडढेकाले उनको बहादुरीको प्रशंसाका लागि एकातर्फ मात्रै पकाएको रोटी खाने प्रचलन रहेको बुद्धिजीवी चौधरीले बताए। अटवारी पर्वमा जंगलबाट ल्याएको मालुको पातको दुनाटपरीमा परिकार खाने प्रचलन छ। अटवारीमा माछा मासु भने खाइँदैन।