मकै जोगाउनै धौधौ

मकै जोगाउनै धौधौ

बैतडी : पाटन–५ अड्तोलाका रामदत्त पाण्डेको बास एक महिनादेखि खेतमै छ। उनी जंगली जनावरबाट मकै जोगाउन खेतको आलीमा अस्थायी टहरा बनाएर बस्ने गरेका छन्। ‘चौबीसै घण्टा जागराम बस्नुपर्छ। बाली जोगाउनै पर्‍यो’, उनले भने, ‘बँदेल र बाँदरले बर्खाभरि सुखले बस्न दिएन।’

सुर्नया–५ का दलबहादुर विष्टलाई पनि बाँदरबाट मकै जोगाउन हम्मेहम्मे छ। बँदेल र बाँदरका लागि दिनभर खेतमा बस्नुपरेको उनले सुनाए। ‘चार रोपनी खेतमा मकै लगाएको हुँ। आधा खाइसक्यो। बथानै आउने हुनाले धपाउनै सकिन्न’, विष्टले भने। मकै भिœयाउने समयमा मकै जनावरले सखाप पारेपछि पिर थपिएको दुःखेसो उनले गरे। 

बैतडीका सबैजसो ठाउँमा जंगली जनावरले मकै सखाप पार्ने गरेको किसानको गुनासो छ। दशरथचन्द, पाटन, मेलौली नगरपालिका, सुर्नया, सिगास गाउँपालिकामा बढीजसो बँदेल र बाँदरले बाली सखाप पार्ने गरेको छ।  अस्थायी टहरा लगाएर एक जना दिनैभर रेखदेखमा बस्ने गरेका छन्। 

मकैे गोडमेलपछि जंगली जनावरबाट जोगाउन धौधौ हुने गरेको पाटन–१ का किसान गाणेशदत्त भट्टराईले बताए। ‘गोडमेल गरिसकेपछि लगातार रेखदेखमै ब्यस्त हुनुपर्छ। बँदेलको बथान नै आउने गरेको छ। राति खेतमै टहरा बनाएर बस्ने गरेका छौं,’ उनले भने। बँदेलको बथान आएको बेला एक–दुई जनाले धपाउन पनि नसकिने उनले बताए।

मकै जोगाउन किसानलाई धौधौ भएको पाटन नगरपालिकाका कृषिशाखा प्रमुख महेश अवस्थीले बताए। अधिकांशले लगाएको मकै बाली आधा पनि बचाउन नसकेको उनले बताए। ‘हामी अनुगमनमा गयौं। सबैजसो ठाउँमा मकै सखाप पारेको छ’, उनले भने। बँदेल, दुम्सी र बाँदरले बढी आतंक मच्चाएको उनले बताए। 

बैतडीमा १२ हजार २ सय हेक्टर क्षेत्रफलमा मकै खेती गरिँदै आएको छ। पहाडी क्षेत्रको मुख्य अन्नको रूपमा रहेको मकै यस वर्ष उत्पदान घट्ने आकलन गरिएको छ। गतवर्ष १९ हजार ५ सय मेट्रिक टन मकै उत्पादन भएको थियो। यस वर्ष जंगली जनावरले मकैमा क्षति पुर्‍याएकाले उत्पादन घट्न सक्ने कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ। 

‘गत वर्षभन्दा मकै उत्पादन घट्ने आकलन गरेका छौं। यस वर्ष जंगली जनावरको आतंक बढेको छ’, कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख गोपालदत्त भट्टले भने। दैनिक दर्जनौंको संख्याका किसान क्षतिपूर्तिका लागि सिफारीसका लागि आउने गरेको उनले बताए। पछिल्लो एक हप्ताको अवधिमा ४० भन्दा बढी किसान क्षतिपूर्तिका लागि सिफारिसका लागि आएका छन्। बढीजसो बँदेल र बाँदरले मकै नोक्सान गरेको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.