आगामी निर्वाचनमा एमालेले १५० सिट ल्याउँछ : ओली
महेन्द्रनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी संसदीय निर्वाचनबाट एमालेले १ सय ५० सिट जित्ने दाबी गरेका छन्। बुधबार महेन्द्रनगरमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रत्यक्ष र समानुपातिक गरेर एमालेले १ सय ५० सिट जित्ने दाबी गरे।
'आगामी मंसिर ४ गते गठबन्धनलाई परास्त गर्दै एमालेले एक सय ५० सिट जित्छ। अवैध गठबन्धले जिते देशले हार्छ, देशले जित्न एमालेले जित्नुपर्छ,' उनले भने।
उनले परमादेशबाट बनेको सरकारले राष्ट्रिय हितविपरित काम गरेको बताए। उनले आफू प्रधामन्त्री हुँदा कालापानी लिपुलेकसहितको नक्सा जारी गरेको बताउँदै अहिलेको गठबन्धनको सरकारले भूमि फिर्ता ल्याउन पहन नगरेको बताए।
'देउवा भारत गए म्याउ म्याउ गरेर आए। अर्काको त केही सुनिएन ख्यास ख्यास खुसखुसमात्रै हो,' उनले भने, 'म सरकारमा हुँदाका बखत भारतलाई थुप्रै पत्र पठाएको हो।'
कार्यक्रममा उपस्थित नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टले गठबन्धन सरकाले नागरिकता विधेयकजस्ता राष्ट्रघाति काम गरिरहेको बताए।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका शीर्ष नेताले पार्टी परित्याग गरी एमाले प्रवेश गरेको छन्। बुधबार उनीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे।
एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश उपसचिव तथा पूर्व मन्त्रीमा सक्रिय रहेकी प्रतिनिधिसभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङ, समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका पूर्व अध्यक्ष विक्रमबहादुर शाही, वेदकोट नगरपालिकाका निवर्तमान मेयर तथा समाजवादीका जिल्ला उपाध्यक्ष अशोककुमार चन्दसहितका नेता एमालेमा फर्केका हुन्।
त्यस्तै आजमात्रै बर्खास्तमा परेका सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी पनि एमालेमा फर्किएका छन्। उनीहरु सबैलाई अध्यक्ष ओलीले गम्छा ओढाएर स्वागत गरे।