‘शिक्षा विमर्श भाग १, २ र ३’ पुस्तक शृङ्खला विमोचन
काठमाडौं : शिक्षाविद् राजकुमार बरालको ‘शिक्षा विमर्श भाग १, २ र ३’ पुस्तक शृङ्खलाको विमोचन भएको छ। शिक्षा विमर्श प्रालिद्वारा प्रकाशित उक्त पुस्तक बिहीबार राजधानीमा विमोचन गरिएको हो।
पुस्तकको हरेक भागमा शैक्षिक गतिविधिका सबै पाटोलाई केलाइएको लेखक बरालले बताए। उनका अनुसार शिक्षा विमर्शको भाग १ ले सार्वजनिक शिक्षाको चिरफार गरेको छ भने भाग २ मा शिक्षाको इतिहास, जङ्गी शिक्षा, शिक्षा आयोगका रस्साकस्सीलगायत र भाग ३ मा विश्वको आधुनिक शिक्षा, विश्वकै उत्कृष्ट शिक्षाविद्को योगदानलाई समेटिएको छ। ‘यसर्थ पुस्तकले समग्रमा शिक्षक, शिक्षासँग सम्बद्ध सबैलाई उपयोगी हुनेछ,’ लेखक बरालले भने।
यसैक्रममा पुस्तक विमोचन गर्दै वरिष्ठ शिक्षाविद् डा. विद्यानाथ कोइरालाले शिक्षा विमर्शका ३ वटै भाग संवेग र विवेक मिलाएर लेखिएको बताए। हरेक भागमा भूमिका लेख्ने जिम्मेवारी पाएका शिक्षाविद् डा. कोइराला लेखकसँग चिन्तन, चिन्ता र शान्त भएर लेख्ने क्षमता भएको टिप्पणी गर्छन्।
‘पुस्तकको हरेक भागले धेरै पक्षलाई समेटेको छ। भाग १ ले सार्वजनिक शिक्षा, शिक्षक आन्दोलन, शिक्षण तालिम, शिक्षण विधि परीक्षणलगायत, भाग २ ले शिक्षाको ऐतिहासिक शिक्षा आयोगको अनुभूति र स्साकस्सी, नेतृत्व, नियम, कार्य व्यवस्थापन, द्वन्द्व व्यवस्थापन कसरी गर्ने भनेर व्यख्या गरेको छ। भाग ३ ले प्रध्यापकले गर्नसक्छ भन्ने विश्लेषण पनि छ। जस्मा नमूना विद्यालय, संघीयतामा शिक्षा, अभिभावक शिक्षालगायतबारे विश्लेषण गरिएको छ,’ उनले भने।
यसैगरी कार्यक्रममा वरिष्ठ पत्रकार राजेन्द्र दाहालले विश्वका शिक्षाका विभिन्न अभ्यास, प्रवृत्ति, चिन्तन गरिनुपर्छ भनेरै लेखकको उदय भएको बताए। सार्वजनिक शिक्षामा निरन्तर खोज तथा अनुसन्धान गर्ने कम भएको औंल्याउदै उनले भने, ‘यो पुस्तकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक अभ्यास, खोज तथा विमर्श गरेको छ।’
शिक्षा विमर्श प्रालिका अधयक्ष बाबुराम थापा प्रकाशति पुस्तकको भाग २ मा आफ्नैबारे टिप्पणी उल्लेख भएको बताए। पुस्तकले नेपालको सार्वजनिक शिक्षालाई बलियो बनाउने स्रोतको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खोजी गरेको प्रष्ट्ए। यसर्थ पुस्तक पढेर लागू गर्नमा समेत रुची जाग्ने अध्यक्ष थापाको भनाइ छ।