गठबन्धन सहमतिनजिक
काठमाडौं : सत्तारुढ गठबन्धनमा सिट भागबन्डाको विषय निष्कर्षनजिक पुगेको छ। गठबन्धन दलका शीर्ष नेतासहित बिहीबार दिनभर बालुवाटारमा भएको छलफलमा कांग्रेसले केही मात्रमा लचकता देखाएपछि गठबन्धनमा सिट बाँडफाँटको विषय एउटा निष्कर्षमा पुग्न लागेको हो।
कार्यदलका एक सदस्यका अनुसार कांग्रेस सय सिटको अडानमा थियो। बिहीबारको छलफलमा ९० सम्मको लचकतामा कांग्रेस देखिएको छ। शुक्रबार बस्ने गठबन्धनको बैठकले कसलाई कति सिट दिने भन्ने अन्तिम निर्णय गर्ने भएको छ। कार्यदलका सदस्य मध्येका एक माओवादी केन्द्रका महासचिव देव गुरुङले कांग्रेसले लचकता देखाउनेबित्तिकै सिट बाँडफाँटमा सहमति जुट्ने बताए। ‘अब सहमतिको नजिक पुगेका छौं यद्यपि छलफलकै क्रममै छौं,’ गुरुङले भने, ‘कांग्रेसले यदि सय सिटको दाबी नछाड्ने हो भने सहमति हुन सक्दैन भन्ने थियो।’
गठबन्धनकै अन्य दलहरूले भने कांग्रेसलाई ८० सिटसम्ममा थन्क्याउन खोजेका छन्। कांग्रेसको नेतृत्व भने ९० सिटभन्दा तल झर्ने अवस्थामा छैन। कांग्रेस भित्रकै डा. शेखर कोइराला पक्षले सय सिटको अडान नछाड्न र यदि छाडेदेखि पार्टीभित्रै विद्रोह हुने खबरदारी पार्टी सभापतिलगायतको पदाधिकारीलाई पटक–पटक गर्दै आएको छ।
बिहीबारको कार्यदलसहितको गठबन्धनका शीर्ष नेताको छलफलमा कांग्रेसबाहेक माओवादी केन्द्रलाई ४५ देखि ४७, एकीकृत समाजवादीलाई १५ देखि १८ र जसपालाई १२ देखि १३ सिट र राष्ट्रिय जनमोर्चालाई १ सिटमा बस्ने गरी सहमति बनेको छलफलमा सहभागी भएका कांग्रेसका एक नेताले बताए। संभावित २, ४ सिटमा फेरबदल हुन सक्ने अरू यस्तै स्वरूप हुने गुरुङले बताए। जित्ने सम्भावना बोकेका सिटभन्दा बढी सिट लिएर हार्नुभन्दा जित्ने गरी सिट लिनु उपयुक्त हुने गरी शीर्ष नेताहरू छलफलमा जुटेका थिए।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसको दाबी स्वाभाविक नै भनिए पनि कांग्रेस केही लचक हुन तयार रहेको बताए। प्रधानमन्त्री देउवाले शेखर समूहसँग पनि सय सिट लिएर ५० सिट जित्नुभन्दा बरु केही सिट घटेर धेरै सिट जित्नु राम्रो हुने प्रस्ताव राख्दै आएका थिए।