जहाँ कृषि क्रान्ति चलेको छ
गुल्मी : गुल्मी हुँगाका भुवन खराल स्नातक पढ्न बुटवल झरे। पढाइ सकेपछि विदेश जाने तयारीमा जुटे। तर, विदेशको प्रयास सफल भएन। गाउँमा जग्गाजमिन बाँझै थियो। खराल गाउँ फर्के। तरकारी खेती सुरु गरे। सुरुमा १२ रोपनी जग्गामा खुर्सानीलगायतका तरकारी गरे। त्यसबाट राम्रै आम्दानी भयो। अनि हौसिए। त्यसपछि निर्णय नै गरे– अब विदेश नजाने, गाउँमै खेती गर्ने।’
२१ वर्षको उमेरमै व्यावसायिक खेती सुरु गरेका खराल गुल्मीकै ठूलो क्षेत्रमा खेती गर्नेमध्येका एक हुन्। युवा जोस, सोच र प्रविधिलाई आधुनिक खेती प्रणालीमा प्रयोग गरेका खरालले गाउँमै ‘पैसा’ फलाएका छन्। आजभोलि खराल ५ सय ४० रोपनीमा तरकारी खेती गर्छन्। घरछेउकै १ सय ४० रोपनीमा मुला, गोलभेँडा, काउली फलाएका छन्। गाउँको जमिन अपुग भएपछि पाल्पाको अर्गेलीमा चार सय रोपनी जग्गा भाडामा लिएका छन्। त्यहाँ गोलभेँडा र काउली खेती गरेका छन्। ‘अहिले त गाउँमा भाडामा जग्गा पाइँदैन,’ खरालले भने, ‘गाउँ नजिक जमिन नपाएपछि अर्गेलीमा खेती गरेको छु।’
उनको फर्ममा १५ जना मजदुरले रोजगारी पनि पाएका छन्। तरकारी टिप्ने र रोप्ने बेला ३० जनासम्म मजदुर चाहिन्छन्। तर, मजदुरी गर्ने मान्छे भेटिन गाह्रो हुने गरेको खराल बताउँछन्। खरालले गत वर्ष ८ सय क्विन्टल गोलभेँडा बिक्री गरेका थिए। काउली र बन्दा ३ सय क्विन्टल, रातोमुला सय क्विन्टल बिक्री गरेका थिए। यी तीनवटा तरकारी मात्रै ३८ लाखको बिक्री गरेका थिए। त्यसमा उनको १२ लाख मात्रै लगानी थियो। यसबाट मात्रै उनलाई एक वर्षमा २६ लाख आम्दानी भएको थियो। ‘मौसम चिनेर व्यावसायिक खेती गर्ने हो भने कृषिबाट पनि राम्रो कमाइ हुँदोरहेछ, उनी भन्छन्, ‘चार रोपनीमा गोलभेँडा खेती छ। अन्य धेरै जमिनमा अकबरे खुर्सानी, मुला र काउली फलिरहेका छन्।’
- गुल्मीको छत्रकोट, रुरु गाउँपालिकाका हरेक गाउँमा व्यावसायिक कृषि फस्टाए
- गाउँको जमिन अपुग भएपछि पाल्पाको अर्गेलीमा चार सय रोपनी जग्गा भाडामा लिएर खेती
- तरकारी र फलफूल खेती फैलिएपछि गाउँमा नै युवाले रोजगारी
- चाडबाडको बीचमा बिक्री गर्दा राम्रो मूल्य आउनेमा उनी ढुक्क
- कृषकको काममा पैंचो पसलले ७ वर्षदेखि सघाउँदै
- एउटै गाउँले बेच्छ ५ करोडको कृषि उपज
गुल्मीका १५ हजार व्यावसायिक किसानमध्ये खराल एक उदाहरणीय पात्र हुन्। गुल्मीको छत्रकोट, रुरु गाउँपालिकाका हरेक गाउँमा व्यावसायिक कृषि फस्टाएको छ। यहाँका युवाले कृषिमा लागेर वार्षिक लाखौं आम्दानी गर्दै आएका छन्।
रुरु–१ मिनामकोटका ३४ वर्षीय करामबहादुर नेपाली काउली स्याहार्दै छन्। चाडबाड नजिकिँदै छन्। चाडबाडको बीचमा बिक्री गर्दा राम्रो मूल्य आउनेमा उनी ढुक्क छन्। मकै रोप्ने गरिएको १६ रोपनी बारीमा उनले तरकारी खेती मात्रै गरेका छन्। ‘अहिले एउटा बोट पनि मकै रोपिनँ,’ नेपालीले भने, ‘मकैभन्दा तरकारीमै फाइदा रहेछ।’ यस वर्ष काउलीबाट मात्रै साढे ५ लाख आम्दानी गर्ने तर्खरमा छन्। गएको वर्ष पनि उनले त्यति नै आम्दानी गरेका थिए। यो भनेको शाखा अधिकृतले वर्षभरि पाउने तलबभन्दा धेरै हो। ‘बिक्री नहोला कि भन्ने चिन्ता छैन,’ नेपालीले भने, ‘तरकारी रोपेर फलाउन सक्नुपर्यो। बिक्री हुनेमा कुनै समस्या छैन।’
हुँगाका अर्का किसान नीलकण्ठ न्यौपाने तरकारी बेचेरै वार्षिक ३५ लाखको कारोबार गर्छन्। छोराछोरी बुटवलमा पढ्छन्। न्यौपाने श्रीमतीसहित गाउँकै बारीमा काम गर्छन्।
उनको फार्ममा दैनिक ५ जना कामदारले काम गर्छन्। ‘उखु, गुण, खुर्सानी, गोलभेँडा मैले धेरै बेच्छु,’ उनले भने, ‘वर्षको २० लाख जति आम्दानी गर्न कुनै कठिनाइ छैन।’ तरकारी लिन घरमै गाडी आइपुग्छ। तरकारी टिपेर राखिदिने काम मात्रै आफूहरूले गर्ने गरेको न्यौपाने बताउँछन्। किसानका लागि सबैभन्दा ठूलो समस्या भनेको बाँदर आतंक हो। जहाँ बाँदर लाग्छ, किसानले त्यहाँ खुसार्नी खेती गरेका छन्। खुसार्नीलाई बाँदरले पनि क्षति पुर्याउँदैन। बजारमा अकबरे खुसार्नीको माग पनि उच्च छ। त्यसैकारण यहाँका किसानहरू थोरै जमिनमा मात्रै मकै खेती लगाउने गरेको बताउँछन्। सिँचाइको पर्याप्त सुविधा छैन। तर, पनि किसानहरू तरकारी खेतीमा हौसिएका छन्।
भीरमा यसरी फल्यो ‘सुन’
गुल्मी हुँगा रुक्सेका रामकृष्ण कँडेलको बारी भिरालो छ। चिउरे चट्टानमा रहेका स–साना बारीमा मुस्किलले चारपाथी जौ फल्थ्यो। मकै बोक्न डोकोसमेत आवश्यक हुँदैनथ्यो। दुई भैंसी, दुईचार बाख्रा पालेका रामकृष्णलाई मकैले बढीमा तीन महिनामात्रै खान पुग्थ्यो। तरकारी घरमै खान पनि धौ धौ थियो। २०७२ तिर रामकृष्णको बारीले मुहार फेर्यो। आफ्नो बारीमा के फल्छ भन्ने प्राविधिक ज्ञान नभएका उनले जब सीप सिके त्यही बारीमा ‘सुन’ फल्यो।
‘किसानले खेती गर्न जाने सुन फल्दो रैछ,,’ कँडेलले भने, ‘मेरा बाले जीवन काटे। मैले ३५ वर्ष बिताएँ। तर, अहिलेजस्तो उब्जनी कहिल्यै भएन।’ चार पाथी जौ हुने बारीमा काँक्रा लगाएका छन्। बीचबीचमा अकबरे खुर्सानी, डिलमा सिस्नु रोपेका छन्। ‘यो वर्ष काँक्रा बोक्दा बोक्दा काँध खुइलियो’, उनले कपडा उप्काउँदै भने, ‘काँध खुइलिएको मेहनत पनि राम्रै आयो।’ उनले झन्डै चार लाखको काँक्रा बिक्री गरे। अकबरी खुर्सानी पाकेर टिप्ने बेला भएको छ। सिस्नो काटेर छानामाथि सुकाएका छन्। सिस्नोको सिजन भदौ १५ पछिमात्रै भित्रिने भएकाले हुँगाका किसानले त्यसको तयारी थालेका छन्।
बारीमा गोलभेँडा, कफी, सुन्तलाका बोटसमेत प्रशस्तै छन्। ४५ रोपनी बारीमा नफलेको फलफूल र तरकारी सायदै होला। ‘हेरचाह गरेर खेती गरे त हुँदो रैछ,’ उनले भने, ‘तर अहिले मात्रै बुद्धि आयो।’ रामकृष्ण हुँगाकै सबैभन्दा बढी कृषि उपज बेच्ने किसान हुन्। उनले जिल्ला कृषि ज्ञान केन्द्र गुल्मीबाट उत्कृष्ट पुरस्कारसमेत पाएका छन्। कृषि उत्पादनबाट वार्षिक १५ लाखभन्दा बढी आम्दानी गर्छन्।
हन्डर खाएपछि तरकारी खेती
ध्रुव न्यौपानेले फेन्सी पसल चलाए। होटल व्यवसाय गरे। जागिर पनि खाए। तर, केही पार लागेन। विभिन्न व्यवसायमा हन्डर खाएपछि न्यौपाने गाउँ फर्के। आजभोलि गोलभेँडा बारीमा उनका दिन बित्छन्। चार वर्षदेखि गोलभेँडा र काउली खेती गरिरहेका छन्। ‘बारीलाई चिन्न नसकेर १५ वर्ष भौतारिएँ,’ उनले भने, ‘बल्ल सही काम गरेजस्तो भएको छ। पहाडको बाँझो बारीको डल्ला फुटाउन थालेपछि बल्ल आनन्द मिल्यो।’ न्यौपानेले बारीमा ६५ सय बोट गोलभेँडा लगाएका छन्। फल दिन सुरु गरिसकेको गोलभेँडाबाट आठ लाख आम्दानी हुने अपेक्षा छ। गत वर्ष उनले सात लाख रुपैयाँ कमाएका थिए। एउटै बोटबाट ५÷६ किलो गोलभेँडा उत्पादन भएपछि उनले चार वर्षदेखि यही खेती गर्दै छन्। ‘बिक्री नहोला भन्ने डर भएन, कति धेरै फलाउने भन्ने चिन्ता मात्रै छ’, उनले भने।
छत्रकोट— १ का पूर्ववडाध्यक्ष धातानन्द भण्डारीले भने गाउँपालिकाले किसानकै पक्षमा धेरै काम गरेको बताउँछन्। ‘जसले धेरै उत्पादन गरेर बिक्री गर्छ, उसलाई पेन्सन दिने नीति पालिकाले बनाएको छ’, उनले भने, ‘अनुदान सहयोगका लागि पनि निर्णय भएका छन्।’
बिक्रीमा सघाउँछ पैंचो
गुल्मीका यी क्षेत्रमा उत्पादन हुने कृषि उपज सिधै बुटवल झर्छ। त्यसपछि तराईका अन्य क्षेत्रमा वितरण हुन्छन्। ‘बसे पनि सहर, गाउँकै खाने रहर’ नारा लेखिएका ट्रकहरू किसानको बारीमा पुगेर फसल उठाउँछन्। यो काममा पैंचो पसलले ७ वर्षदेखि काम गर्दै आएको छ। पैंचोको बलेटक्सार संकलन केन्द्रले किसानले उत्पादन गरेका जुनसुकै उपज पनि खरिद गर्छ।
भुटुक, गिठा, अमला, सिस्नो, तामा, भुइँकटहर, रुख कटहर, सागपात, अमिलो सबै खरिद गर्छ, पंैचोले। त्यसकै कारण गुल्मीका झन्डै १५ हजार किसान व्यावसायिक खेतीमा लागेका छन्।
पैंचो पसलका प्रबन्ध निर्देशक ध्रुव न्यौपाने भन्छन्, ‘किसानले बजार खोजेका थिए, हामीले बजार दियौं, अहिले गाउँमा व्यावसायिक तरकारी खेती गर्ने ‘हुइँम’ नै चलेको छ।’ किसानको उत्पादन संकलन गर्न पैंचो पसलले ३६ वटा संकलन केन्द्र बनाएको छ। गुल्मी र पाल्पाका किसानले तिनै संकलन केन्द्रबाट आफ्नो उत्पादन बिक्री गर्दै आएका छन्।
पैंचोले तरकारी खरिद गर्न थालेपछि हुँगाका ७२ वर्षीय डिल्लीराज कँडेलले दुई चार किलो गिठा बिक्री गर्ने गरेका छन्। ‘थोरै तरकारी बेचे पनि नुनतेल खान पुगेको छ’, उनले भने।
एउटै गाउँले बेच्छ ५ करोडको कृषि उपज
रुरु गाउँपालिका–५, बम्घा गाउँले वार्षिक ५ करोडको कृषि उपज सहर पठाउँछ। सदरमुकाम तम्घास र बुटवल मुख्य बजार हुन्। कुनै समय डोकोमा तरकारी राखेर उल्लीखोला बजार झर्ने बम्घाका हिमलाल पुरी अहिले बुटवलमा तरकारी पठाउँछन्। बम्घामा अहिले गोलभेँडा, करेला, सिमी, बोडी, गोभी लगाइएको छ। पाँच रोपनीमा खेती गरिरहेका हिमलाल वर्षमा साढे ३ लाख कमाउँछन्। बम्घामा धेरै जमिन छैन, भाडामा लिन चाहे पनि पाइँदैन। सबै किसानहरू यही व्यवसाय गरेर जीविको चलाउँछन्।
बम्घाबाट वर्षमा साढे २ करोडको हरियो तरकारीमात्रै बिक्री हुन्छ। दूध, खसीबोकासमेत गरेर ५ करोडको कृषि उपज बिक्री हुने गरेको स्मार्ट कृषि गाउँ कार्यक्रमका अध्यक्ष चेतनारायण श्रेष्ठ बताउँछन्। बम्घा आलुका लागि प्रसिद्ध छ। यहाँको आलु बजारमा अत्यधिक माग हुन्छ। अन्य सिजनमा किसानहरू हरियो तरकारी लगाएर बिक्री गर्छन्। एक किलो आलु लगाउँदा १५ किलो उत्पादन हुने गरेको छ।
बम्घाको दुग्ध सहकारीका अध्यक्ष कुलचन्द्र पुरीले ६० जना किसानले साढे २ करोडको दूध बिक्री गर्ने गरेको बताउँछन्। सबै दूध सहकारीमा जम्मा भएर पठाउने गरिएको छ।
रुरु—५ का वडाध्यक्ष हरि ज्ञवालीले थोरेपाडीमा २४ सय अनुदान दिएर व्यावसायिक भैंसीपालन सुुरु गरिएको बताउँछन्। अहिले दूधबाटै मासिक १० लाखसम्म आम्दानी गर्ने किसानहरूसमेत रहेकाले उनले बताए।
अनि बने व्यवसायी
आठ वर्षअघिसम्म गुल्मी, पाल्पाका किसान सामान्य खेती किसानीमा थिए। जब २०७१ मा पैंचो पसलले किसानको तरकारी किन्न थाल्यो, किसानले व्यावसायिक उत्पादन थाले। अहिले १५ हजार किसान व्यावसायिक रूपमा कृषिमा लागेका छन्। उनीहरूको सबै उत्पादन पैंचोले खरिद गर्छ। किसानलाई मूल्य नपाइएला कि भन्ने चिन्ता छैन।
पैंचो पसलका प्रबन्ध निर्देशक न्यौपाने भन्छन्, ‘गाउँका किसानको उत्पादन देख्दा आफैं अचम्ममा छौं।’ पैंचोले किसानको हरेक उत्पादन बजारभाउ अनुसार खरिद गर्छ। त्यसका लागि विभिन्न स्थानमा संकलन केन्द्र खोलिएका छन्। मध्याह्न १२ बजे मूल्य निर्धारण हुन्छ। किसानहरूले संकलन केन्द्रमा तरकारी ल्याउँछन्। आफ्नो पैसा बैंक खातामा आउँछ। गुल्मीको बलेटक्सारबाट सुरु भएको संकलन केन्द्र धेरै स्थानमा पुगिसकेको छ। भुटुक, गिठादेखि बाँसका तामासम्म किसानले बिक्री गर्न ल्याउँछन्।
पैंचोले ती कच्चा पदार्थ प्रयोग गरेर अचार, जाम, ससलगायत अन्य उत्पादन संकलन गर्दै आएको छ। गुल्मीको रिडीमा रहेको सो उद्योगको उत्पादन सातै प्रदेशमात्रै होइन खाडी मुलुकसहित अमेरिका, अस्ट्रेलिया निर्यात हुन थालेको छ। पैंचोका उत्पादनले अन्तर्राष्ट्रिय गुणस्तर पाएका छन्। विभिन्न सहरमा शाखा सञ्चालनमा छन्। बुटवलका विभिन्न स्थानमा हरियो तरकारी बिक्री केन्द्र छन्। किसानलाई प्राविधिकदेखि अन्य सहयोग गर्दै आएको छ। १८ जना कृषि प्राविधिकहरूले निःशुल्क सेवा गर्दै आइरहेका छन्। विभिन्न स्थानमा चार सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।
सिँचाइ र खेताला अभाव
अहिले गाउँमा श्रम गर्ने युवा छैनन्। युवा शक्ति नहुँदा मजदुर पाउन कठिन छ। दिगामकी किसान शारदा न्यौपानेले खेताला नपाउँदा तरकारी टिप्न नसकेर नोक्सान हुने गरेको बताइन्। अन्नपूर्णसँग कुराकानी गरिरहँदा उनको बारीमा ५ जना खेतालाले खुर्सानी टिपिरहेका थिए। ‘काम गर्ने मान्छे पाइने हो भने कृषि उत्पादन अझै बढाउन सकिन्छ, उनले भनिन्।
गाउँमा सिँचाइको पनि उस्तै अभाव छ। आकाशेपानीको भरमा व्यावसायिक कृषि भइरहेको छ। किसान भुवन खरालले सिँचाइका क्षेत्रमा सरकारी लगानी गरिदिनुपर्ने बताउँछन्। ‘खेताला नपाइनु ठूलो समस्या छ, पाए पनि सीप सिकेका छैनन्, उनले भने,– ‘लामो खडेरी पर्दा बाली नोक्सानी हुने गर्छ।’ पहाडमा सिँचाइका लागि पोखरी उपयुक्त विकल्प हुने किसानहरू बताउँछन्।
युवालाई प्रोत्साहन गर्न ज्ञान केन्द्र
कृषि ज्ञान केन्द्रले पनि युवाहरू व्यावसायिक खेतीमा लगाउन प्रेरित गरिरहेको छ। स्थायी टनेल २० वटा बनाउनेलाई ६० प्रतिशतसम्म अनुदान दिँदै आएको छ। यसमा युवालाई बढी प्राथमिकतामा राख्ने गरिएको ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारी बताउँछन्।
‘कृषि उत्पादनको बजारीकरणमा सरकारी संयन्त्रले काम गर्न सक्ने अवस्था छैन, उनी भन्छन्,– ‘निजी क्षेत्रले गरेका महत्त्वपूर्ण कामलाई प्रोत्साहनको नीति हुनुपर्छ।’ व्यावसायिक किसानहरू थोरै भए पनि कृषि उत्पादन वृद्धि गर्न सकिने उनको भनाइ छ। रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली किसानलाई प्रोत्साहन गर्न बारीमा डुल्छन्। सिँचाइ, बीउमा केही सहयोगसमेत पालिकाले गरेको छ। उनले उत्पादनका आधारमा अनुदान दिने नीतिमा काम भइरहेको बताए।