श्रमाटन : ‘लाइफ इन डेथ’

श्रमाटन : ‘लाइफ इन डेथ’

रोजगारीको सिलसिलामा बिदेसिने लाखौं नेपालीको कारुणिक जीवन, उनीहरूको भोगाइ र नियतिलाई प्रतिनिधित्व गर्न सक्ने शक्तिशाली संस्मरण हो, बीएन जोशीको गैरआख्यान पुस्तक ‘श्रमाटन’। संस्मरण भनेको गैरआख्यान हो जुन आख्यानजस्तो काल्पनिक हुँदैन, हुन्छ त निजी भोगाइ वा देखाइबाट जन्मिएका यथार्थ र तथ्यपरक कुरा जसलाई एउटा शैलीमा लेखिन्छ। 

‘श्रमाटन’ पढेपछि थाहा हुन्छ विदेशमा गैरकानुनी ढंगबाट रोजगारी खोज्न जानेहरूको पीडादायक र डरलाग्दो यात्रा, खुसी होइन बाध्यता, रहर होइन जिम्मेवारी। पढेपछि थाहा हुन्छ किन काम गर्न जानेहरू विदेशी जेलका चिसा छिँडीमा बस्न बाध्य हुन्छन्। पढेपछि थाहा हुन्छ किन कोही बन्द बाकसमा घर फर्किन्छन् र उनीहरूका सपनाहरू चकनाचुर हुन्छन्। पढेपछि थाहा हुन्छ, आफ्नै देशको हैसियत, आडम्बर, खोक्रोपन र नियति। आङ नै सिरिंग हुने, पलपल पीडामा बाँच्नुपर्ने र ज्यान नै पातमा राखेर रोजगारको यात्रामा निक्लनु पर्ने पात्रहरूको पीडा छ यसमा।

प्रतिनिधिमूलक पात्र लेखक स्वयंले देखेको, भोगेको र बाँचेको हुनाले लाखौं रोजगारका लागि बिदेसिने युवाहरू र उनीहरूको पीडालाई जस्ताको तस्तै उजागर गर्न सफल भएको छ ‘श्रमाटन’। यसको अर्को बलियो पक्ष भनेकै आख्यान नभएर लेखककै भोगाइ हो। लेखकको पलपलको मृत्यु र जीवनबीचको पौठाजोरीको जीवन्त वर्णन हो। ब्रिटिस कवि स्यामुल टेलर कोलरिजको कविता ‘दि राइम अफ दि एनिसियनट मारिनर’मा भनिएको ‘लाइफ इन डेथ’ अर्थात् मृत्युभित्रको जीवन जस्तो विम्ब आइरहन्छ पुस्तक पढिरहँदा।

मलेसियाको जेलमा बस्दा त्यहाँका प्रहरीको अमानवतालगायत अनगिन्ती घटना छन्, जसले पाठकलाई मर्माहत बनाउँछन्। यस्तो ‘मुभिङ’ भोगाइ नै पुस्तकको बलियो पक्ष हो। देह व्यापारमा लागेका महिलाको कथा आफैंमा कारुणिक छ। झिलिमिलिभित्रको बाध्यता र विवशता, अनि महिलालाई वस्तुको रूपमा हेर्ने समाज दुवैको चित्रण छ पुस्तकमा। पानी नपाएर छटपटाउनु, लेदो र कीरासहितको पानी पिउन विवश हुनु, नथामिसक्नु गर्मीमा आगो बालेर बस्नु, त्यो बीचमा पनि कसैले गोली हानेर मारिदिन्छ कि भनेर सन्त्रासमा बस्नु र लुकीलुकी मलेसियाको जंगलमा हिँड्नु कस्तो आपद् ! फेरि मलेसियाको जेलमा पर्नु। बाँचिन्छ कि मरिन्छ भनेर हरेक पल सन्त्रासमा बस्नुले रोजगारीमा जाने युवाको पीडालाई उजागर गरेको छ। त्योभन्दा बढी नेपाल देशको नेतृत्व वर्गको धज्जी उडाएको पाइन्छ।

लेखक आफैं विश्लेषण गर्छन् फ्ल्यास ब्याकमा आफूलाई पाएको पीडा र देशको नियति। खासै कमजोरी देखिँदैन पुस्तकमा। खासगरी ‘कमेन्ट्री’को रूपमा, अलिकति अनुसन्धान पनि मिसाएर, यो आजभोलि लेखिने गैरआख्यानमा गरिने अन्तर्राष्ट्रिय अभ्यास पनि हो। यद्यपि हामी लेखकसँगै विभिन्न ठाउँ र सहर पुग्छौं, मलेसियाको जंगलमा हराउँछौं। जेलमा पर्छौ। ‘गडबडे गोविन्द’को साथी बन्छौं। ‘डिना सुलोभा’लाई मिस गर्छौं। युवतीसँग नजिकिन्छौं। पाठक पढिसकेपछि एकछिन टोलाउन पुग्छ अनायासै र घोत्लिन्छ।

किन नेपालमा रोजगारका बाटाहरू प्रशस्त छैनन् ? 

किन महंगी छ ? किन यो समाजको सोच बदल्न सकिँदैन ? किन नेतृत्व वर्गभित्रै खिचातानी हुन्छ ?

किन एकले अर्काको राम्रो काम गर्दा पनि खुट्टा तान्न खोज्छ ? किन हरेक तह तप्का र संस्थामा काम गर्ने कार्यकर्ता सबैमा ढुसी परेका सोच छन् ? किन हरेक दिन सक्षम जनशक्ति कामको सिलसिलामा बिदेसिन्छ ? किन ? किन ? यी प्रश्नहरू गर्ने ठाउँ नभएको भए कस्तो हुन्थ्यो होला नेपाल र नेपालीको जीवनशैली ? ‘हातमा पैसा नभई केही हुन्न, खोइ हाम्रो देशमा अवसर, श्रीमती र बालबच्चालाई कसरी पाल्ने, महँगी छ। यहाँ गर्छु भन्नेलाई नै वातावरण छैन। नबिदेसिएर के गर्नु ?’ केही समय पहिले विदेश गएको एक साथीले भनेको सम्झिन पुग्छु, पुस्तक पढ्दा पढ्दै।

‘कहिले बन्द, कहिले हडताल, कहिले कुन समूहको चक्काजाम र नेपाल बन्द, कहिले यो समूह र त्यो समूह, गरिखान दिँदैनन्।’ उनीहरूले भनेजस्तो आफ्नै देशमा गरी खाने वातावरण भइदिए कस्तो हुन्थ्यो होला ? ‘श्रमाटन’ एउटा पीडा हो, रोजगारीको सिलसिलामा बिदेसिने युवाको बीभत्स र कारुणिक कथा हो। त्यसैले यो नेतृत्व वर्गमा रहने नेता, विद्वान् र राजनीतिज्ञहरूले पढ्न, मनन् र महसुस गर्न आवश्यक छ। नेपालमा बेरोजगारको समस्या हेर्ने हो भने अझै पनि बढ्दो छ। अन्तर्राष्ट्रिय श्रम संगठनको रिपोर्टअनुसार बिदेसिनेको जनसंख्यामध्ये बहुसंख्यक १५ देखि २९ वर्षका उमेरको पाएको छ। श्रमाटन पुस्तकभित्रका पात्रकै कुरा गर्ने हो भने पनि त्यही उमेर वर्गभित्रका युवालाई भेट्न सकिन्छ। त्यो उमेर भनेको काम गर्न सक्ने सक्रिय उमेर हो। यस्तो उमेर बिदेसिँदा देशले कस्तो जनशक्ति पाउँछ र देशको विकास कसरी हुन्छ भन्ने प्रश्न त्यति नै टड्कारो छ।

रोजगार नमिल्दा अवैधानिक रूपमा मलेसिया छिर्न खोज्दा पाउने पीडा र त्यस्तो अवैधानिक रूपमा खाडी छिरेका नेपालीको जमातलाई उजागर गरेको छ श्रमाटनले। त्यसको हिसाबकिताब कसैलाई थाहा हुन्न। यस अर्थमा श्रमाटनले भने एउटा गतिलो काम गरेको छ। हेरौं यस पुस्तक माथि नीति निर्माताका आँखा कत्तिको पुग्ने हो ? लेखक आफैं भन्छन् ‘श्रमाटन’ एउटा कालखण्डको दस्ताबेज हो। कल्पनाभन्दा बाहिरको तीक्ष्ण पराख्यान। जसले आम पाठक र ‘श्रमाटन’मा जान बाध्य पिँडीहरूलाई निरन्तर सुःसूचित गराउनेछ। ‘म यो पुस्तकका अरू पाटा र फेहरिस्त केलाउनतिर लाग्दिन’ किनकि म चाहन्छु पाठक आफैंले पढोस् यो पुस्तक।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.