भावनाहरूको दस्तावेज
वसन्त चौधरी परिचय दिइरहनु पर्ने नाम होइन। नेपालको उच्च व्यापारी घरानाको व्यक्ति जो अर्थसँग खेलिरहनुपर्ने समय अक्षरहरूसँग खेलिरहेका छन्। उनको अक्षर कर्म आजदेखि होइन, करिब तीन दशकदेखि निरन्तर अर्थसँगै अक्षरहरूमा खेल्ने बानी परेको छ। उनको मूल विधा काव्य नै हो, गीति क्षेत्रमा पनि उत्तिकै चर्चित छन् चौधरी। उनका आधा दर्जनभन्दा बढी एल्बम प्रकाशित छन्। करिब एक दर्जन कवितासंग्रह तथा दुई निबन्धका कृति प्रकाशित छन्। ‘तिमीबिनाको म’ कवितासंग्रह उनको कान्छो कृतिका रूपमा प्रकाशन भएको छ।
जसरी समुन्द्र, प्राणहरूको प्यास मेटाउँदै बहन्छ निरन्तर निरन्तर, त्यसरी नै वसन्तका कविता बहिरहेका छन्, पुस्तकका पानाहरूमा प्रेममय वासनाका साथ। हामीमा एउटा नमीठो भ्रम छ, प्रेम भन्नेबित्तिकै युवक र युवतीबीचको सम्बन्ध। सांसारिक तथा प्रकृतिप्रेमका बारेमा हामी अनभिज्ञ नै रहेछांै। कवि चौधरीले कवितामार्फत सांसारिक, मानवीय प्रेम र प्रकृतिप्रेमको उच्चतम कविताहरू कोरेका छन्, ‘तिमीबिनाको म’ शीर्षक कवितासंग्रहमार्फत।
चौधरीका कवितामा पे्रमका विविध आयाम भेटिन्छन्, देशप्रेम, मानवीय प्रेम, प्रकृतिप्रेम र त्यसपछि आफ्ना जीवनका आयाममा साथ दिनेहरूको प्रेममा चुर्लुम्म हुन्छन्। हरेक मानवलाई मानवीयताको कर्म सिकाउने उनका कविताहरू प्रेमिल लाग्छन्, कर्मयोगी लाग्छन्। संसार प्रेममै त अडेको छ, प्रेमबिना को टिक्न सक्छ र यो धरामा ? त्यसैले मानव सभ्यताको एउटा सुन्दर पक्ष हो, प्रेम। प्रेम न त बाँढेर सकिन्छ न त पैसाले किन्न सकिन्छ। बरु यो त जति बाँढ्यो उत्ति झांगिन्छ। त्यसैले प्रेमको आयातन हामीले नापेर नाप्न सक्दैनौं। यो विशाल संसारमा सबै आआफ्नै प्रेममा बाँचेका हुन्छन्। त्यसरी नै प्रेमको आयातन फराकिलो बनाउने प्रयासमा छन्, वसन्त चौधरी र उनको कवितासंग्रह ‘तिमीबिनाको म’।
‘तिम्रो अनमोल स्पन्दन र स्नेहले कुँदीकुँदी बनाएको हो मलाई म, तिम्रो कल्पनाको साकार फूल तिम्रो क्यानभासमा भरिएको रंगीन चित्र।’ उनका कवितामा पाइने यी र यस्तै सुन्दर यथार्थ विम्बहरूले कवितालाई प्रेममय बनाएको छ। ८५ ओटा विविध शीर्षकका यी कवितामा मानवजीवनकै अति नजिक तथा यथार्थ चित्रण गरिएका छन्। नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशित यी कविता मानव धर्तीका प्रेमिल सौन्दर्य हुन् भन्ने कुरा कविताभरि छरिएका छन्।
‘मलाई लाग्छ सृष्टिसौन्दर्यको अनुभव नै कविता हो। कविता आत्माको संकल्पना र त्यसको प्रस्फुटन हो, जहाँ कविका अनुभूतिजन्य रचनात्मक विचार प्रकट गरिएको हुन्छ। तिनै रचनात्मक विचारहरू मानवीय संवेदना, युग परिवेशको चिन्तन, जीवनस्वप्न, खुसी आदिका गर्भगृहबाट अंकुरित हुन्छन्। मैले तीसौं वर्षको साहित्यिक साधनाको अनुभवबाट बुझ्दा कविता जीवनको सौन्दर्य हो, जीवनको अभिन्न अंग हो। किनभने जीवनले बाँचेको समयको अनुभूतिको बाह्य र लिपिगत रूप नै कविता हो।’ कविताका बारेमा कविको स्पष्ट धारणा यी माथिका हरफहरूले बताइरहेका छन्। लाग्छ, जसले जीवन र जगत्लाई स्पष्टसँग बुझ्न सक्छ वास्तवमा उही कवि हो। उनका कविताहरू पनि जीवन र जगत्का शाश्वत स्वरहरू हुन्, जीवनका हरेक मोड अति प्रिय हुन्छन्, चाहे दुःखका होस् या सुखका।
संसारमा को, कसलाई र कसरी आवश्यकता पर्छ, को कसरी कति कारणले प्रिय बन्छन् ? को कसरी जोडिन्छन् र बिछोडिन्छन् ? त्यो हामीले चालै पाउँदैनौ। यो बलवान् समयको अगाडि कसैको केही लाग्दैन। त्यसैले हामीले जीवनमा सधैं उज्यालो खोज्ने बानी बसाल्नु पर्छ। दुःख–सुख भन्ने कुरा हाम्रा यात्राका मार्गनिर्देशक हुन् भन्ने बुझेर जीवन यात्रालाई सहज बनाउनुपर्छ। यही शाश्वत सत्य उनका कविताहरूमा भेटिन्छन्।
वसन्तले जीवनसाथी मीना, छोरी मेघा र नातिनी आहनालाई कविताका पहिलो श्रोता, समीक्षक र प्रेरणाका रूपमा लिएका छन्। यो एउटा परिवारको मात्र होइन, हामी सबैले खुसी खोज्न अन्त जानै पर्दैन, परिवारमा भेटिन्छ। परिवारको माहोल प्रेमिल भएपछि संसार आफंै हाँस्दो रहेछ। हाम्रो देश पनि एउटा परिवार हो, देशको मुहारमा पनि खुसी खोज्ने प्रयत्न ‘तिमीबिनाको म’ कवितामा गरिएको छ। त्यसैलै पनि यी कविताहरू सिंगो युगका प्रतिविम्बका रूपमा प्रेमिल भएर ‘तिमीबिनाको म’ मा सजिएका छन्।
विविध शीर्षकका ८५ कविताहरूमा देश, काल, परिस्थितिका सुन्दर चित्रहरू सजिएका छन्। मानवीय संवेदनाका पक्ष कवितामार्फत उजागर भएका छन्। संसार हल्लाएको कोरोना महामारीको समयको त्रासद चित्र कवितामा अटाएका छन्। ‘जहाँ मानवसभ्यता र विकासका मान्यताहरू द्वन्द्वमा छन्, जीवन र मृत्युको यथार्थलाई आदर्शले छोप्न नसक्दा, छरिएका छन् सत्य वर्तमानसँग, सन्त्रासमा सास फेरिरहेको विश्व, पलपल अत्तिएको छ, युद्धरत छ जीवन मृत्युसँग, आँखामा आत्मीय पीडाको आँसु बोकेर बन्दी छ मान्छे, आफ्नै घरभित्र।’ ‘अन्योल समयको भीडबाट’ शीर्षक कविताका यी अंशहरूले हामीलाई त्यो त्रासद समयको पीडा बोध गराउँछ। हामीले भोगेको त्यो समय पक्कै अब दोहोरिने छैन।कवितामार्फत निराशाका काला बादलहरूलाई परास्त गरेर उज्यालो ल्याउन सक्ने सामथ्र्य ‘तिमीबिनाको म’ कवितासंग्रहमा छ। मरुभूमिलाई पनि उर्वर बनाउन सक्ने प्रेमिल भावना कवितामार्फत आएका छन्।
राष्ट्र र राष्ट्रियताप्रति स्नेह झल्काउने भावना स्वस्फूर्त रूपमा आएका छन्। समग्रमा कविता प्रेमिल छन्। प्रेमले नै संसार जित्न सकिन्छ र जितेका कैयौं उदाहरण पनि छन्। कविका यी प्रेमिल कविताहरूले सबैका मनमस्तिष्क प्रेमिल बनाउन सक्ने सामथ्र्य बोकेका छन्।