उज्याली गौरा, अन्यारी गौरा

उज्याली गौरा, अन्यारी गौरा

गौरा डोट्याली लोक समुदायको मौलिक पहिचानको पर्व हो। साउन महिनाको पुत्रदा एकादशीदेखि सुरु हुने यस पर्वलाई स्थानीय बोलीका आधारमा गोःरा भन्ने गरिन्छ। यस क्षेत्रमा प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रूपमा भगवान् शिवकी अर्धांगिनी शक्तिस्वरूपा पार्वती (गौरी) लाई गौरा देवीको रूपमा पूजा अर्चना गरिँदै आइरहेको पाइन्छ। तिनी शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअर्चना गरिने पर्व नै गौरा पर्व हो।

गौरा भदौ महिनामा पर्दछ। यो अगस्ती ताराको उदयका हिसाबले शुक्ल या कृष्ण दुवै पक्षमा पर्ने गर्दछ। शुक्ल पक्षमा परेको गौरालाई उज्याली गौरा भनिन्छ भने कृष्ण पक्षमा परेको गौरालाई अन्यारी गौरा भनिन्छ। यी दुवै गौरालाई अति पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्त्वका साथ हेर्ने गर्छन्। विवाहित नारीहरूले कुलपरम्पराअनुसार पुरुषहरूजस्तै यज्ञोपवितका रूपमा दुवधागो लाउने प्रचलन यस क्षेत्रमा छ। पहिलोचोटी उक्त दुवधागो लगाउनका लागि उजेली गौरा परेको पर्व सर्वप्रथम पुत्रदा एकादशीको व्रत बसेपछि मात्र गौराको उपासना गर्न मिल्ने चलन यस क्षेत्रमा रहिआएको पाइन्छ।

पुत्रदा एकादशीको व्रत बसिसकेका विवाहित महिलाहरूले भदौ महिनाको बिरुडा पञ्चमीका दिन सर्वप्रथम नित्यस्नान गर्छन्। घरको सफाइ गरी व्रतका लागि तयार हुन्छन्। घरपरिवार तथा कुल समुदायका नारीहरू एक ठाउँमा जम्मा भई पूजा गर्ने ठाउँमा गाईको गोबर तथा गोमूत्र र पवित्रस्थानको माटोले लिपपोत गरी बिरुडा भिगाउने ठाउँ बनाउँछन्। त्यसपछि मंगल गीत (सगुन, फाग)सहित तामाको ताउलीलाई गाईको गोबर, दुबो र जौ तिलले सजाएर राख्छन्।

राम्रोसँग छानेका पञ्च अन्न बिरुडा (मास, गहत, गहुँ, कलौं, गुरुस) तामाको ताउलीमा हाली सुगन फाग गायनसँगै भिगाउँछन्। उक्त भिगाएका बिरुडाहरूलाई देवीको प्रतीकका रूपमा मानी चन्दन, अक्षता, फूल, धूप, दीप, फल आदि चढाएर पूजा गर्ने गर्छन्। उक्त भिगाएका बिरुडा भएको ताउलीलाई टाउकोमा राखी सगुन, फाग गायनसँगै महिलाले पानीको मुहानमा लैजान्छन्। त्यसपछि सगुन गायनसँगै पाँचपल्ट धुने गर्छन्। धारामा साँवाधानको गौराको सानो मूर्ति बनाएर स्थापना गरी बिरुडा तथा चन्दन, अक्षता, पाती, धूप, दीप, फल आदिले पूजा गर्छन्।

पुनः फाग गायनसँगै घरमा भिगाएकै ठाउँमा फर्किने गर्छन्। सप्तमीका दिन चेलीबेटीहरूले खेतबाट धान, साँवाधान, कुर्जो आदि हालेर रातो कपडा वा घुम्टीमा बेरेर गौराको मूर्ति बनाएर गोरा घरमा ल्याउँछन्। गौरालाई डालोमा राखेर शुद्ध आसनमा स्थापित गरिन्छ। एउटा काठको पिर्कोमा पहेँलो कपडा बनाएर महेश्वर पनि स्थापना गर्ने गरिन्छ। साँझपख व्रतालु महिला गोराघरमा जम्मा भई ब्राह्मण बोलाई गोरामा अभिशेष गरी पञ्चपूर्वांगसहित गौरामहेश्वरको पूजाआजा गर्छन्। यसै समयमा कुण्ड नुहाउने गरिन्छ।

पूजा स्थलमा गोबरका दुईओटा कुण्ड निर्माण गरी एउटामा गोमूत्र र अर्कोमा गाईको दूध राखिन्छ। दुवै हातमा दुर्वाका पात समाती पहिले गोमूत्रको कुण्डबाट गोमूत्र शिर तथा शरीरमा छर्किने चलन छ। त्यसपछि दूधको कुण्डबाट दूध शरीरमा छर्किन्छन्। सप्तमीको दिन धागोमा विशेष किसिमका सात गाँठा भएको धागोलाई गौरामा चढाई अभिशेष गरेपछि महिलाले घाँटीमा धारण गर्ने गर्छन्। त्यसैगरी दुवधागो पनि गौराकै आँचलमा बाँध्ने गर्छन्। सगुन, फागसहित गौराको पूजा सकेर प्रसाद ग्रहण गरी भोजन गर्छन्।

दुर्वाष्ठमीको दिन गौराको महत्त्वपूर्ण दिन हो। यसलाई अठ्याबाली भन्ने गरिन्छ। यो दिन महिलाहरूले सगुन फागसहित गौरालाई गौरा हुँदै आइरहेको आँगनमा लगेर राख्छन्। सबै महिला जम्मा भई अठ्यावाली गायनसँगै बिरुडाले गौराको पूजा गर्छन्। अठ्यावालीकै बीचमा प्रसंगअनुसार एउटा धर्मकथा प्रस्तुत गरिन्छ। यो कथा सबै महिलाले पछ्यौरीले शिर ढाकेर सुन्ने सुनाउने गर्छन्। अठ्यावाली पूरा भएपछि फलफट्काउने काम गरिन्छ।

त्यसपछि उपयुक्त साइत हेरी दुईजना पुरुषहरूले च्यादरमा गौरामा चढाएका फलफूल तथा बिरुडालाई आकाशतिर पूर्व, पश्चिम, उत्तर, दक्षिण र आकाशतिर क्रमशः फाल्ने गर्छन्। आकाशमा फालिएका बिरुडा प्रसादलाई व्रतालु महिला तथा उपस्थित सबैले देवीको प्रसादका रूपमा आकाशबाटै ग्रहण गर्ने गर्छन्। बाँकी रहेको अठ्यावाली र कान्छी औंला एकआपसमा जोडेर औंल्या खेल खेलिन्छ। यति सकेपछि महिलाहरूले पतिलगायत घरका सबै सदस्यको बिरुडाले टाउको पुज्ने र आशीर्वचन दिने गर्छन्।

साँझपख फलफट्काएका बिरुडाबाट बिरुडामा प्रयोग भएका अलगअलग पाँच अन्नका दानाहरू नचपाइकन पानीसँग निल्ने गर्छन्। एकआपसमा बिरुडा प्रसाद बाँड्ने कार्य पनि यसमा गरिन्छ। सर्वप्रथम इष्टकुल देवता तथा ग्रामवासी देवताको नाममा बिरुडाका पोका बनाई छुट्ट्याउने काम गरिन्छ। उक्त बिरुडा धामी, पण्णा, भणर्‍या तथा देवताका कर्मचारीहरूलाई दिने गरिन्छ। जसको घरमा मृतसुतक तथा कसैको मृत्युका कारण बिरुडा नपुगेको भए त्यसको घरमा पनि बिरुडा प्रसाद दिने चलन यस समुदायमा छ।

अठ्यावालीको दोस्रो दिनदेखि विभिन्न देवालयमा पुरुषहरूको खेल सुरु हुन्छ। यसमा ढोलक र मिजुराका स्थानीय देवीदेवता तथा पौराणिक कथावस्तुमा आधारित ढुष्को, धमारी, ठाडोखेल, चैत आदि प्रस्तुत गरिन्छ। यसमा घरका हरेक सदस्यहरूले खलो छुने भनेर उक्त सांस्कृतिक अवसरमा सहभागी हुनुपर्ने अनिवार्यता पाइन्छ। ती, नचार दिन खेल चलेपछि उपयुक्त साइत हेरी गौरा विसर्जन गरिन्छ। गौरा विर्सजनलाई गौरा सेलाउने भनिन्छ। गौरा घरमा रहेको गौरामहेश्वरको मूर्तिलाई परम्परादेखि सेलाउँदै आएको ठाउँमा विसर्जन गर्ने गरिन्छ।

यसरी गौरा पर्व यस क्षेत्रको मौलिक पहिचान बोकेको पर्व हो। यो पर्व विशेषगरी नारी सम्मानको पर्व पनि हो। यस क्षेत्रमा गौरा पर्वको अवसरमा घरपरिवारका सबै सदस्यका लागि एकजोर नयाँ लुगा किन्ने प्रचलन पनि रहँदै आएको पाइन्छ। त्यसैगरी घरबाहिर स्वदेश तथा विशेषमा रहेका मानिस पनि गोराको बिरुडा प्रसाद ग्रहण गर्न घर फर्किने, चेलीबेटी तथा इष्टमित्रलाई समेत घरमा बोलाउने रमाइलो गर्ने पर्वका रूपमा लिइन्छ। यस क्षेत्रमा गौराको बिरुडा र दसैंको जमरा जसरी पनि प्रसादका रूपमा ग्रहण गर्ने पर्ने मान्यता छ।

यदि कारणवश कोही मानिस घर आउन सकेन भने पनि उनका लागि चिठीको खामभित्र वा कसै मानिससँग पठाएर पनि बिरुडाप्रसाद पुर्‍याउने चलन छ। यस पर्वले यस क्षेत्रका नारीलाई वैदिक मन्त्र उच्चारणको अधिकारसमेत दिएको पाइन्छ। शुक्ल यजुर्वेदको दोस्रो अध्यायमा रहेको लक्ष्मीको मन्त्रलाई यस क्षेत्रका नारीहरूले गायत्री मन्त्रका रूपमा ग्रहण गरी नित्य जप्ने गर्छन्। नारीहरूले पुरुषजस्तै यज्ञोपवितका रूपमा दुवधागो लगाउने र त्यसमै लक्ष्मीको वैदिक मन्त्र जप्ने गर्छन्।

गौराको पूजा अर्चनाले विशेषगरी श्रीमान् तथा घरपरिवारका सदस्य निरोगी र दीर्घायु हुने साथै परिवारमा सुख, समृद्धि हुने जनविश्वास रहेको पाइन्छ। विवाहित तथा दुवधागो लगाइसकेकी नारीहरूले प्रत्येक वर्ष गौराको उपासना अनिवार्य मानिन्छ। यसरी, समग्रमा भन्नुपर्दा नारीहरूलाई विशेष सम्मानका साथ मनाइने यो पर्व धार्मिक, सामाजिक, सांस्कृतिक, साहित्यिक, पौराणिक, ऐतिहासिक तथा अन्य विविध दृष्टिकोणले महत्त्व बोकेको पर्व हो।

यस पर्वले यस क्षेत्रको भाषा, कला, साहित्य, लोकसाहित्य, संस्कृति, इतिहास आदिको जगेर्ना गरेको छ। साथै यस क्षेत्रको समग्र लोकजीवनको झल्कोसमेत दिइरहेको छ। यसरी विविध दृष्टिकोणले महत्त्वपूर्ण यो पर्व मानसखण्ड क्षेत्रकै मौलिक पहिचान र गौरवमय सांस्कृतिक पर्व हो। यसको संरक्षण, संवद्र्धन तथा प्रचारप्रसार गर्नु र यसलाई सांस्कृतिक रूपमा निरन्तरता दिनु हामी सबैको कर्तव्य हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.