नाथम कलेज सञ्चालनमा राजनीतिक चलखेल

नाथम कलेज सञ्चालनमा राजनीतिक चलखेल

नेपालगन्ज : पर्यटन तथा होटल व्यवस्थापन अध्ययन प्रतिष्ठान नेपाल (नाथम)ले नेपालगन्जमा सञ्चालन गर्न लागेको कलेजमा राजनीतिक चलखेलको आशंका गरिएको छ। 

नाथम कलेज स्थापनाबारे नाट्टा बाँकेले शनिबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा यहाँका पर्यटन व्यवसायीहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले बजेट नदिएर कलेज सञ्चालनको योजना अलपत्र पार्न खोजिएको बताए। 

कलेज निर्माणका अभियानकर्ता नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलका अनुसार नेपालगन्ज उपमहानगरपालिकाले वडा नं. १९ मा कलेजका लागि एक बिघा जग्गा उपलब्ध गराएको छ। 

भवन निर्माण नहुँदै कक्षा सञ्चालनका लागि उपमहानगरपालिकाले कन्या कलेजको भवनको व्यवस्था गरेको छ। चालु आर्थिक वर्षदेखि नै कक्षा सञ्चालनको तयारी भए पनि मन्त्रालयले बजेट नदिँदा पढाइ हुन सकेको छैन। 

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका होटल तथा पर्यटन क्षेत्रका लागि योग्य जनशक्ति उत्पादनका लागि नाथम कलेज नेपालगन्जमा सञ्चालन गर्न साढे दुई वर्षदेखि पहल सुरु गरिएको थियो।

कार्यक्रममा सिग्देलले भने, 'नाथम कलेजले सञ्चालन गर्ने पर्यटन तथा होटल म्यानेजमेन्टका एकेडेमिक कक्षा र छोटो अवधिका सीपमूलक नन-एकेडेमिक तालिमबाट पश्चिम नेपालकै पर्यटन क्षेत्रले लाभ पाउँछ। यसलाई कुनै पनि हालतमा रोक्नुहुदैन।'

नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली पनि सरकारले बजेट नदिँदा भौतिक पूर्वाधार निर्माण नभएर नाथम कलेज सञ्चालन नहुनुलाई दुःखद मान्छन्। 

उनले भने, 'कलेजका लागि जग्गा प्राप्त भइसकेको छ। भौतिक पूर्वाधार निर्माण गर्न बजेटको अभाव छ। सरकारले तुरुन्त बजेटको व्यवस्था गरोस्। यही हाम्रो माग हो।' 

नाट्टाका निवर्तमान केन्द्रीय अध्यक्ष गुरागाईका अनुसार, नाथम कलेजबाट उच्च शिक्षा लिएका विद्यार्थीहरूलाई विश्वका स्तरीय पर्यटन तथा होटल प्रतिष्ठानले रोजगारीमा सहजै लिने भएकाले पनि पश्चिममा बढ्दो होटल व्यवसायमा रोजगारी सिर्जना हुने बताउँछन्। 

कार्यक्रममा नाथमका केन्द्रीय प्रिन्सिपल रामकैलाश विच्छाले नाथम स्थापनाको ५० वर्ष पुगेकाले कलेजलाई प्रदेश स्तरमै विस्तार गर्न सके होटल र पर्यटन क्षेत्रले दक्ष जनशक्ति पाउने बताए। 

कार्यक्रमका प्रमुख अतिथि भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठलाई फोन गरेर तीन प्रदेशका युवालाई लाभ मिल्ने गरी नाथम कलेज सञ्चालनमा कम्तीमा १० करोड बजेट विनियोजन गर्न आग्रह गरेका थिए। 

मन्त्री राईले पश्चिममा पर्यटन क्षेत्रको गुणात्मक विकासका लागि पनि नाथम कलेज सञ्चालन हुन आवश्यक रहेको बताए। उनको जोड थियो, 'यो बहुपयोगी छ। बहुआवश्यक छ। मेरो मन्त्रालयको क्षेत्राधिकारभित्र नपर्ने भए पनि जिल्लावासीको नाताले कलेज स्थापनामा मेरो पहल हुनेछ।' 

सो अवसरमा बाँकेका पर्यटन व्यवसायीहरूले मन्त्री राईलाई नाथम कलेजको भौतिक पूर्वाधार निर्माणका लागि पहल गरिदिन माग गर्दै ज्ञापन पत्र बुझाएका थिए। 

पर्यटन मन्त्रालयले नाथम बोर्ड मार्फत राजधानी काठमाडौं बाहिर कलेज स्थापना गर्न सम्भाव्यता अध्ययन गरिएको थियो। त्यसक्रममा कार्यदलले नेपालगन्ज, बर्दिबास र बिर्तामोडमा कलेज स्थापना हुने उपयुक्त हुने सिफारिस गरेको थियो। 

मन्त्रालयले बर्दिबासबाट अध्ययन सुरु गर्ने तयारी गरेको छ। मधेस प्रदेशका ८ जिल्लालाई लक्षित गरेर कक्षा सञ्चालन गर्नुभन्दा साबिकको मध्य र सुदूरपश्चिमाञ्चल क्षेत्र (हालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका २४ जिल्ला)ले लाभ लिनसक्ने भएकाले लुम्बिनी प्रदेशमा नाथमले कक्षा सञ्चालन गर्नुपर्ने सरोकारवालाको माग छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.