प्यूठान कांग्रेसमा आकांक्षीको लर्को, सर्वसम्मत भएनन् डाक्टर गोविन्द
प्यूठान : प्रतिनिधि सभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको प्यूठानमा उम्मेदवार बन्नका लागि आकांक्षीको लर्को लागेको छ।
शनिबार बसेको नेपाली कांग्रेस जिल्ला कार्यंसमिति प्यूठानको बैठकले प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरेको छ। समानुपातिकतर्फ ८ जना गरी कूल १४ जना सिफारिस भएको पार्टी सभापति विष्णु कुमार गिरीले जानकारी दिए।
प्रत्यक्षतर्फ पार्टीका केन्द्रीय सदस्य प्राध्यापक डा. गोविन्दराज पोखरेल, निवर्तमान जिल्ला पार्टी सभापति अमंरप्रसाद भण्डारी, पूर्व पार्टी सभापति सुभास केसी, पूर्व पार्टी सचिव शिव रिजाल, महाधिवेशन प्रतिनिधि खिमानसिँह रायमाझी र विरेन्द्र थापाको नाम सिफारिस भएको छ।
२०७४ मा डाक्टर पोखरेल सर्वसम्मत सिफारिस भएका थिए। तर, यसपाली उनलाई कांग्रेसभित्र सहजै उम्मेदवार बनाउन स्वीकार नगरेको पाइएको छ। कांग्रेस प्यूठानमा पनि देउवा र कोइराला पक्षको दुई लाइन गुट सक्रिय छ।
समानुपातिकतर्फ मुक्ती प्रसाद शर्मा, दिवाकर गौतम, श्रीकृष्ण प्रपन्न सुवेदी, मुक्ती सुवेदी, देविराम पुन, धनलक्ष्मी श्रेष्ठ, नाम बहादुर नेपाली र तिलक विक सिफारिस भएको सभापति गिरीले जानकारी दिए।