प्यूठानमा पुनः दुर्गा पौडेललाई उम्मेदवार बनाउने राजमोको निर्णय
प्यूठान : राष्ट्रिय जनमोर्चाले प्यूठानमा प्रतिनिधि सभा सदस्य उम्मेदवारमा पुनः दुर्गा पौडेललाई उठाउने निर्णय गरेको छ।
राजमोको संसदीय बोर्डको शनिबार बसेको बैठकले पार्टीका उपाध्यक्ष पौडेललाई दोस्रो पटक प्यूठानबाटै उम्मेदवार बनाउने निर्णय गरेको हो। उनी हाल प्रतिनिधिसभा सदस्य हुन्।
जिल्लाबाट उमेदवारका लागि सिफारिस आइरहे पनि तत्काल प्यूठान र बाग्लुङका उम्मेदवारको टुंगो लगाइएको राजमोले विज्ञप्ती मार्फत सार्वजनिक गरेको छ।
राजमोबाट प्यूठानमा पौडेलसहित नेता बोम बहादुर खत्रीको पनि नाम चर्चामा थियो।
पाँच दलीय गठवन्धनमा अझै सिट बाँडफाँटको टुंगो लागेको छैन। गठबन्धनबाट प्यूठान राजमोको भागमा नपरे एक्लै चुनाव लड्ने राजमोका केन्द्रीय सचिव एवं गठवन्धनमा वार्ता समितिका सदस्य हिमलाल पुरीले प्रतिक्रिया दिएका छन्।
स्थानीय तहको निर्वाचनअनुसार राजमो प्यूठानमा चौथो शक्ति हो।