अशोकको ‘सन्तापको धून’
काठमाडौं (अन्नपूर्ण ) : त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा कथाकार डा. अशोक थापाको कथासंग्रह ‘सन्तापको धून’ लोकार्पण भएको छ। पेज टर्नरले बजारमा ल्याएको पुस्तक शनिबार लोकार्पण गरिएको हो।
कविडाँडा राष्ट्रिय साहित्य समाजका अध्यक्ष एल्बी क्षत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा लेखक तथा समालोचक प्राडा. गोविन्द भट्टराई, ज्ञानु पाण्डे, प्राडा खगेन्द्रप्रसाद लुइँटेल, उपप्राध्यापक नेत्र एटमलगायतले संयुक्त रूपमा लोकार्पण गरे।
कार्यक्रमा बोल्दै प्राध्यापक पाण्डेले सन्तापको धून पुस्तकको शीर्षक नै प्रतीकात्मक भएको बताइन्। समालोक एटमले कथाको शिल्पका बारेमा प्रकाश पारेका थिए। उनले कथाको शैली र बुनोट निकै चलाखीपूर्ण रूपमा उनिएको बताए। प्राडा भट्टराईले सन्तापको धूनका कतिपय कथामा पश्चिमी भेगको स्थानीय शब्द र परिवेशलाई निकै सुन्दर ढंगले प्रस्तुत भएको बताए। कथाकार थापाले नाट्य क्षेत्रमा कलम चलाइरहेको भए पनि ‘कथा लेखनतिर किन आकर्षित भएँ’ भन्नेबारे प्रष्ट्याएका थिए।