१८ लाख नाघे ऋणी
काठमाडौं : कोभिड महामारी सुरु हुँदा १५ लाख २५ हजारको संख्यामा रहेका बैंकका ऋणी अहिले १८ लाख नाघेका छन्। २०७६ चैत मसान्तदेखि २०७९ असारसम्म ३ लाख ३ हजार ६ सय (१९.९० प्रतिशत) को संख्यामा ऋणी थपिएका हुन्। बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनेको संख्या क्रमशः बढ्न थालेको छ। कोभिड अघि भने कुल ऋणीको संख्या १२ लाख ६९ हजार थियो।
नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट पछिल्लो २ वर्ष ऋण लिनेको संख्या बढेको बताउँछन्। उनकाअनुसार प्रचार–प्रसार व्यापक हुनु, शाखा सञ्जाल वृद्धि हुनु, कर्जा ब्याज सस्तो, कोभिडका कारण प्रभावित क्षेत्रलाई सरकार तथा केन्द्रीय बैंकले प्राथमिकतामा राखेकाले र कर्जाको माग पनि सोही अनुपातमा बढेकाले ऋणीको संख्यामा सुधार देखिएको हो। तर, नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहाल कोभिडअघि र पछि ऋणीको संख्या वृद्धिदरको अवस्था उस्तै रहेको बताउँछन्। लामो समयदेखि तरलता अभावका कारण माग भएअनुसार कर्जा प्रवाह हुन सकिरहेको छैन।
साथै अत्याधिक कर्जा प्रवाह गर्दा नीतिगत सीमाको पनि ख्याल गर्नुपर्ने भएकाले बैंकरले कर्जा नियन्त्रण गर्नै पर्ने बाध्यता छ। बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी अभाव चर्किएकाले साउन मसान्तसम्म २६ वाणिज्य बैंकमध्ये १ दर्जन बैंकको कर्जा प्रवाह क्षमता कसिलो रह्यो। सो अवधिसम्म ३ बैंकले त सीमा नै नाघेर कर्जा प्रवाह गरेका थिए। नेपाल राष्ट्र बैंकले २०७९ असारदेखि कर्जा–निक्षेप अनुपात ९० प्रतिशतको सीमा पार गर्नेलाई कारबाही थालेको छ। यसका बाबजुद पनि सेञ्चुरी, नबिल र नेपाल बैंकको कर्जा–निक्षेप अनुपात ९० प्रतिशतको सीमा नघाएका थिए। यद्यपि भदौ १६ गतेसम्मको नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार भने समग्रमा वाणिज्य बैंकको कर्जा निक्षेप अनुपात औसत ८८.३५ प्रतिशत छ। बैंकहरू सीमा भित्रै रहेको देखिए पनि धेरै कर्जा प्रवाह गर्ने क्षमता भने खासै नभएको बैंकर बताउँछन्। नेपाल बैंकर्स संघका उपाध्यक्ष सुनिल केसी कोभिडपछि तरलता कसिलो हँुदै गएकाले चाहेर पनि ऋण बढाउन नसकेको बताउँछन्। ‘बजारमा लगानी गर्न कर्जाको माग बढ्नु स्वाभाविक हो तर लगानीयोज्य पुँजी अभाव बैंकले भोग्नु परेकाले चाहे जति कर्जा दिन सकिएको छैन,’ उनले भने, ‘ब्याजदर पनि बढेर गएको छ। गाडी लगायतका विलासी वस्तुको आयात प्रतिबन्ध भएकाले पनि त्यस्ता क्षेत्रमा कर्जा प्रवाह भएका छैनन्।’
यस्तै, राष्ट्र बैंककै आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ निक्षेप संख्याको अनुपातमा कर्जा खाता खासै नबढेको बताउँछन्। यद्यपि बैंकको शाखा सञ्जाल स्थानीय तहसम्म पुगेकाले नयाँ ग्राहक बढ्दा ऋणीको संख्या केही थपिएको हुनसक्ने उनको भनाइ छ। हालसम्म बझाङको साइपालबाहेकका स्थानीय तहमा बैंकको शाखा पुगिसकेको छ। क, ख र ग वर्गको शाखा सञ्जाल ६ हजार ३ सय ९४ पुगेका छन्। ऋणीको संख्या बढ्नुलाई वित्तीय पहुँचका रुपमा पनि लिइन्छ। तर, जसरी निक्षेप खाता खोल्नेको संख्या क्रमशः बढिरहेको छ। सोही अनुपातमा भने कर्जाको खाता संख्या बढ्न सकेको छैन। निक्षेप खातमा आम नागरिकको पहुँच भने अधिक नै देखिन्छ। निक्षेपकर्ताको संख्या करोडौंमा पुगेको छ भने ऋणीको संख्या लाखमै सीमित छ। वाणिज्य बैंकमा मात्रै कुल १४ लाख ९१ हजार ७ सय ६७ जना ऋणी छन्। यसपछि सञ्चालनमा रहेका १७ वटा विकास बैंकमा २ लाख ९५ हजार ६ सय ९२ जना र १७ वटा वित्त कम्पनीमा ४१ हजार ५ सय ८५ ऋणी पुगेका छन्। यसरी कुल ऋणी १८ लाख नाघेका हुन्।
असारसम्ममा निक्षेप खाताको संख्या ४ करोड ४९ लाख ७१ हजार पुगेको छ। यो अघिल्लो आवको भन्दा ७६ लाख ७६ हजार ८५ लाखले बढी हो। केन्द्रीय बैंकले पनि निक्षेपलाई नै आधार मानेर अहिलेसम्म वित्तीय पहुँचको व्याख्या गरेको छ। ‘वित्तीय पहुँच’ सम्बन्धी प्रतिवेदनका ६७.३ प्रतिशत नागरिकको निक्षेप खातामा पहुँच थियो। सो तथ्यांक दोहोरो खातालाई घटाएर गरिएको थियो। तर, जसरी निक्षेप खोल्नेको संख्या बढ्दै गएको छ। योभन्दा धेरै कम संख्यामा कर्जाको पहुँच भएको तथ्यांकले प्रष्ट हुन्छ। यसर्थ आम सर्वसाधारणले पनि बैंकमा कर्जा लिनसक्ने गरी वातावरण हुनुपर्ने सरोकारवाला बताउँछन्।