राजस्व चुहावट रोक्न भन्सार माग

राजस्व चुहावट रोक्न भन्सार माग

गुलरिया : आर्थिक चुहावट भएको भन्दै बर्दियाको गणेशपुर नाकामा छोटी भन्सार कार्यालयको माग गरिएको छ।  सीमावर्ती भारतीय बजारका कारण नेपाली बजारमा व्यापार मन्दी भइ राजस्व छलीका कारण आर्थिक चुहावट भएको भन्दै बर्दियाका सबै पालिकामा रहेका उद्योग बाणिज्य संघहरूले गुलरिया नगरपालिका–११ स्थित गणेशपुर नाकामा छोटी भन्सार कार्यालय स्थापनाको माग गरेका छन्। खुला सीमानामा भइरहेको निर्वाध व्यापारको दीर्घकालीन समस्या समाधानतर्फ योजना तयार गरी अबैध आयातलाई निरुत्साहन गर्न बर्दियाका व्यवसायीहरूले माग गरेका छन्।  

नेपाल–भारत सीमाबाट निर्वाध रुपमा नेपालतर्फ भित्र्याइने सरसामानको आयातमा कडाइ गर्न बर्दियाका आठ ओटै स्थानीयतहका उद्योग बाणिज्य संघहरूले जिल्ला प्रशासन कार्यालय बर्दियालाई संयुक्त रुपमा ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएका छन्। 

‘आयात रोकी व्यापारीका समस्या समाधान गर्न सिमानामा कडाइ र भन्सार कार्यालय अविलम्व स्थापनाको माग हाम्रो छ’, उद्योग बाणिज्य संघ जिल्ला समन्वय समिति बर्दियाका अध्यक्ष देबेन्द्र पाण्डेले बताए। ‘व्यापारीहरूका जायज मागहरू अबिलम्ब पुरा नभए जिल्लास्थित सम्पूर्ण उद्योग वाणिज्य संघहरूको पहलमा बजार बन्द गरी क्रमगत आन्दोलनमा जान्छौं।’, उनले भने। 

बर्दियाको खुला सीमासँग जोडिएका भारतको लौकही बजार, चितलहवा, बठनिया तथा तिकुनिया बजारमा दैनिक उपभोग्य सामाग्री खरिद गर्न नेपालीहरू निर्बाध जाने गरेकोले नेपाली बजार सुक्दै गएको उनले प्रष्ट्याए। 

बर्दियाका बजारहरूमा तिज, दसैं, तिहारलगायतका चाडपर्वमा समेत व्यापार व्यवसाय ठप्प छन्। भारतीय बजारमा किनमेल हुन थालेपछि जिल्लाका व्यापारी तथा व्यवसायीहरू मर्कामा परेको उनको भनाइ छ। 

हजारौं नेपालीहरू दैनिक रुपमा भारतीय बजारमा सरसामान किनमेल गरी घरघर ल्याउने परिपाटीले एकातिर राजस्व गुमेको छ। अर्कोतिर स्थानीय नेपाली व्यापारीको व्यापार मन्दी भएको छ। व्यापार व्यवसाय चौपट हुँदा स्थानीय नेपाली व्यापारीहरू विस्थापित भइरहेको तर्फ अध्यक्ष पाण्डेले चिन्ता व्यक्त गरे। 

उद्योग बाणिज्य संघ बढैयाताल, मधुवन, बर्दिया राजापुर, बाँसगढी, बारबर्दिया, ठाकुरबाबा गेरुवा र गुलरियाका अध्यक्षहरूको उपस्थिती तथा संयुक्त हस्ताक्षरमा प्रमुख जिल्ला अधिकारीलाई समस्या समाधान गर्न ज्ञापन पत्र बुझाएको उद्योग बाणिज्य संघ बढैयातालका अध्यक्ष बालकृष्ण लामिछानेले बताए। 

समयमै व्यापारीको समस्या सम्बोधन नभए समस्या थपिन सक्छ। खुला सिमानाको हर्कतले व्यापारीलाई मात्र होइन स्वयम् उपभोक्ताहरू पनि ठगिने गरेका छन्। सीमावर्ती बजारहरूमा नुनदेखि सुनसम्म सबै किन्न पाइन्छ। 

गुणस्तरहीन खाद्यवस्तुहरूको प्रयोगले नेपाली उपभोक्ताहरू ठगिएको अवस्था रहेकाले प्रशासनले त्यसको अनुगमन गर्नुपर्ने अध्यक्ष लामिछानेले बताए। 

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले व्यापारीहरूको समस्या समाधान गर्न आफूले कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘जिल्लाका सुरक्षाकर्मीहरूलाई अलर्ट गर्दै भन्सार कार्यालयसँग परामर्श थाल्छौं। हामीले केन्द्रसँग पनि स्थानीय व्यवसायीहरूको समस्याको समाधानका लागि समन्वय गर्दै कानुनसम्मत के गर्न सकिन्छ त्यसतर्फ कदम चाल्छौं।’ 

प्रजिअ बाँस्तोलाले भने, ‘बोर्डरमा हुने आवागमनलगायत मापदण्ड अनुसारका सामान्य घरायसी सरसामान रोक्न पनि मिल्दैन। कसैले अनाधिकृत फाइदा लिने गरेको पाइए कानुन बमोजिम कारबाही गर्छौं’, उनले प्रष्ट्याए।

भारतीय सीमावर्ती बजारहरूमा चहलपहल भएपछि स्थानीय व्यापार व्यवसाय सुकेको गुलरिया बजारका व्यवसायी मतिन अहमद ईद्रिसीले बताए। उनले भने, ‘हामीले सरकारलाई विभिन्न कर तिर्छौ तर व्यापार व्यवसाय छैन। अब त राजस्व बुझाउने जति पनि बिक्री हुँदैन। परिवार पाल्ने कि, राजस्व तिर्ने ?’ कोठाभाडा बुझाउने ईद्रिसीले पीडा पोखे। 

‘यस्तै अवस्था रही रहे हामीले व्यापार व्यवसाय छोड्नुपर्ने बाध्यता छ। सरकारले समस्याको समाधान गर्नुपर्‍यो। होइन भने हामी व्यापारमा ताला लगाएर आन्दोलनमा उत्रिन्छौं’ ईद्रिसीले आक्रोस पोखे। चाडपर्वमा पनि कहिलेकाहीँ त बोहोनीसम्म नहुने पीडा उनले सुनाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.