पाण्डेको पुस्तक प्रकाशित
काठमाडौं : बी. पाण्डेका गीतहरूको संग्रह 'मेरा सय गीतहरू' प्रकाशित भएको छ।
भारतीय प्रख्यात कवि एवं गीतकार जाबेद अख्तरसमेतले पुस्तक विमोचन गरेका हुन्। उनले छिमेकी देशका स्रष्टाले आफूजस्तै गीत लेखेर कृति प्रकाशन गरेको भन्दै खुसी व्यक्त गरे।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पाण्डेका गीतहरूले मन छुने धार पक्रिएको बताए। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले संग्रहका गीतले राजनीति र समाजलाई जोडेको बताए।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले गीतहरू संगीत भर्ने मात्र नभई यसरी कृतिका रूपमा पनि प्रकाशन गर्दा थप जीवन्त हुनेमा जोड दिए।
बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मूलधारलाई पक्रन सक्नुपर्ने बताए।
पुस्तकलाई एबीसी पब्लिकेसनले बजारमा ल्याएको हो। गीतकार पाण्डेले आफ्नो पुस्तकले समाजका विभिन्न क्षेत्रसँग गीतसंगीत क्षेत्रलाई जोड्न चाहेको बताएका थिए।
कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौड्याल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, कांग्रेस नेता गगन थापा, एमाले नेता योगेश भट्टराईलगायतले शुभकामना दिएका थिए।