नेताले नीति कथा पढ्ने कि ?
देशभन्दा एकादेश स्वर्गजस्तो लाग्ने परिस्थिति छ। देश रावणको सुनको लंका होइन, राजपक्षहरूको लंकाजस्तै होला कि भन्ने भय व्याप्त छ। नेताहरूले नेपाललाई सिंगापुर बनाउने त भन्छन् तर कुन कालको सिंगापुर बनाउने नि ? अहम् प्रश्न हो, यहाँहरूले बनाउन खोज्नु भएको दोस्रो विश्वयुद्धकालको सिंगापुर कि ली क्वान यूको शासनकाल र त्यसपछिको सिंगापुर ? जहिर साहपछिको अफगानिस्तान बनाउन पो खोज्नु भएको हो कि ? ढंग नपुगेर पो यो भूस्वर्गको हालत दयनीय भएको। नेपाललाई नेपाल नै रहन दिए के बिग्रन्छ ?
उत्तर आउन समय लाग्ला। देशलाई दोस्रो विश्वयुद्धकालीन सिंगापुर, राजपक्षकालीन श्रीलंका र जहिर शाहपछिको अफगानिस्तानको बीच बाटोमा खडा गरिएको भयावह यथार्थ बिर्सन एकैछिन भए पनि एकादेशको लाहुरतिर लागौं। ऊ बेलाको दक्षिणतिरको कुनै राज्यमा महिलारोप्य नामक नगर थियो रे। अब एकादेशका कुरा सबै ‘रे’ का कुरा हुने भइगए। पाठकले पनि उपयुक्त स्थानहरूमा ‘रे’ राखेरै यो कथा पढिदिनुहोला। ऊबेला राजा अमरशक्तिको सुशासन चलिरहेको थियो। शासक पनि कस्ता ! कल्पवृक्ष जस्ता ! तँ चिता म पुर्याउँछु भन्ने खालका। सबै कलामा निपुण। दानशील उस्तै। याचकहरूलाई खाली हात नफर्काउने।
त्यस्ता शासकअन्तर्गत शासित उबेलाका जनता कति खुसी थिए होला ? भो कल्पना नगरम्, बित्थामा पीडा हुन्छ। हुन त ऊबेलाका ग्रन्थकारहरू प्रशस्ती गाउन पनि पोख्त हुन्छन्, यति कुरा मनमा राखेर पढ्दा यथार्थको धेरै नजिक पुगिएला। नेपालमा पनि त्यति खराब स्थिति त छैन नि, होइन ? यहाँ निर्धक्क हाँस्न, रुन पाइएको छ। यसका लागि दैवलाई र सिंहदरबारबाट शासन गर्ने शेर सरकार, त्यसअघिको सुखी नेपाली समृद्ध नेपाल मार्का सरकार र अन्य सरकारहरूलाई एकमुष्ट धन्यवाद छ। ऊ बेलाका सर्वगुण सम्पन्न शासकलाई त चैन थियो होला नि, होइन ? कहाँ हुनु नि बरिलै। अमरशक्ति वास्तवमा दुःखी थिए, क्षीणशक्ति भइसकेका थिए उनी दुःख, चिन्ताले गलेर। शास्त्र यही भन्छ।
अमरशक्तिको दुःखको कारण के रहेछ त ? दुःखको कारण उनका तीन छोरा रहेछन्। शुभनामः बहुशक्ति, उग्रशक्ति, अनन्तशक्ति। राजकुमारहरू किन र कसरी राजाको दुःखको कारण भएछन् त ? अशिक्षित एवं अविवेकी भएकाले। मेरा ठूला दुःखले आज्र्याको विशाल साम्राज्य मेरा मूर्ख छोराहरूले कसरी सम्हाल्लान् ? यस्तै सोचेर राजा दिनरात पिरोलिन्थे। यसरी सधैं पिरोलिएर त भएन। राजाले मन्त्री र विद्वान्हरूलाई परामर्शका लागि बोलाए। त्यसो त राजाहरू त्यति खुल्दैनन् भनिन्छ तर त्यस बैठकमा राजाले खुलेरै बह पोखे।
राजाको सम्बोधनको सार यस्तो छः तपाईंहरूलाई थाहै छ, मेरा छोराहरू अशिक्षित छन्, अविवेकी छन्। यसै कारण यस विशाल साम्राज्यमा पनि मलाई सुःख, चैन छैन। वास्तवमा भन्नुपर्दा मूर्ख छोरो जन्मिनुभन्दा नजन्मिएकै बेस। सुन्दर, धनवान्, भाग्यमानी हुँदाहुँदै पनि अविद्वान् छोरो जन्मिनु कदापि राम्रो होइन। मूर्ख छोराका कारण बाबुले विद्वान्हरूको सभामा लज्जित हुनुपर्छ, आमाको पनि कहाँ मान रहन्छ र ? यस सभामा मैले व्यवस्था गरेको तलब, सुविधा उपभोग गर्ने विद्वान्मध्ये पाँचजना उपस्थित हुनुहुन्छ। यहाँहरूले जसरी भए पनि मेरा छोराहरूको बुद्धिको विकास हुने उपाय गर्नुहोस्, उनीहरूलाई निष्ठात राजनीतिज्ञ बनाउनुहोस्।
एक मन्त्रीले यसो भने ः हे राजन ! व्याकरणको ज्ञान हासिल गर्न १२ वर्ष लाग्छ। व्याकरण अध्ययनपछि धर्म, अर्थ, कामसम्बन्धी शास्त्रहरू पढ्नु, पढाउनुपर्छ। अध्ययन गरिएका, अध्यापन गराइएका विषयहरूको चिन्तन मनन गरी बुझ्नु पनि पर्यो। यति गरिसकेपछि बल्ल राजकुमारहरूको बुद्धिको विकास हुन सक्छ। सुमति नाम भएका मन्त्रीले यसो भने : व्याकरण ज्यादै गहन तथा विशाल हुन्छ, जीवन छोटो हुन्छ। क्षणभंगुर जीवनमा अनेक बिघ्नबाधाहरू आइलाग्छन्। त्यसैले लामालामा व्याख्यानहरू छाडेर सारको ज्ञान प्राप्त हुने चाँजो मिलाइनुपर्छ, राजहंसले जसरी दूधको दूध पानीको पानी छुट्ट्याउँछ ठीक त्यसैगरी। राजकुमारहरूलाई राजनीतिमा निपुण बनाउन सरल तथा संक्षिप्त शास्त्र आवश्यक छ।
विष्णु शर्मा नामधारी विद्वान् यसै सभामा उपस्थित हुनुहुन्छ। उहाँ सबै शास्त्रका ज्ञाता हुनुहुन्छ, छात्र समुदायमा सुविख्यात हुनुहुन्छ। मलाई पूरा विश्वास छ, उहाँले राजकुमारहरूलाई ज्यादै छोटो समयमा सुशिक्षित गराउन सक्नुहुनेछ। राजाले विष्णु शर्मालाई बोलाएर विनम्रतापूर्वक भनेः हे देव, ममाथि कृपा गर्नुहोस्। जति सक्दो छिटो छोराहरूलाई नीतिशास्त्रका अद्वितीय ज्ञाता बनाइदिनुहोस्। छोराहरू नीतिज्ञ हुनासाथ सय गाउँको शासन म यहाँलाई सुम्पिनेछु। ‘हे राजन, मेरो सत्य वचन ध्यान दिएर सुन्नुहोस्’, विष्णु शर्माले भने। एक सय गाउँको लोभमा म विद्या बिक्री गर्दिनँ। मलाई धनको लोभ छैन, आवश्यकता पनि छैन। ८० कटिसकें, इन्द्रियसुखको लालसा छैन। तर यहाँको अभीष्ट पूरा गर्न विद्यादान गर्न चाहन्छु, यसै कर्ममार्फत आनन्द प्राप्त गर्न चाहन्छु। यहाँले आजको मिति टिपेर राख्नुहोस्। यदि ६ महिनाभित्र राजकुमारहरूलाई नीतिशास्त्रका अद्वितीय ज्ञाता बनाउन सकिनँ भने मृत्युदण्ड दिनुभए हुन्छ। राजा र मन्त्रीहरू ती विद्वान् ब्राह्मणको प्रतिज्ञा सुनेर आश्चर्यचकित भए। राजकुमारहरूलाई विष्णु शर्माको जिम्मा लगाएर राजा निश्चिन्त भए।
विष्णु शर्माले राजकुमारहरूलाई नीतिज्ञ बनाउन मित्रभेद, मित्रसम्प्राप्ति, काकोलुकीय, लब्धप्रणाश र अपरीक्षितकारक शीर्षकका पाँच अध्यायको रचना गरे। ती अध्यायहरूको अध्यापन गराए। विष्णु शर्माले भनेजस्तै ६ महिनाभित्रै ती ‘मूर्खशिरोमणि’ राजकुमारहरू विद्वान् भए रे। विष्णु शर्माविरचित त्यही शास्त्र हो, पञ्चतन्त्रम्। त्यसकालदेखि नै बालबालिकालाई बुद्धिमान् एवं व्यवहार कुशल बनाउन पञ्चतन्त्रलगायत नीतिशास्त्र पढाइन्छ। सरल र रोचक शैलीमा गुरु गम्भीर ज्ञान पस्किन्छन् नीतिकथाहरूले।
वास्तवमा अमरशक्तिका छोराहरूका लागि मात्र होइन, गणतन्त्रका केन्द्र, प्रदेश तथा स्थानीय तहका सयौं छोटेबडे राजकुमार, राजकुमारीहरूका लागि पनि नीतिकथाहरू उपयोगी हुन सक्छन्। हुन त यहाँमध्ये कतिपयले देश–विदेशका प्रतिष्ठित शैक्षिक, प्राज्ञिक संस्थाहरूमा अध्ययन गर्नुभएको, अध्यापन गराउनुभएकै होला। विषयगत ज्ञान, पेसागत सीप पनि प्रशस्त आर्जन गर्नुभएकै होला, अब्बल नै हुनुहुन्छ होला आआफ्ना क्षेत्रमा। यति हुँदाहुँदै पनि देश त गरिब र अविकसित छ, जनता सुखी छैनन्, खुसी छैनन्। विधिको शासन छैन, भ्रष्टाचार संस्थागत भएको छ, लुटतन्त्र छ, अर्थ राजनीतिक संकट गहिरिँदो छ। किन होला ? कतै नीति कथाहरूले पो बाटो देखाउँछन् कि ? यसो छुट्टी पाए मिलाएका बेला नीतिकथाहरू पनि पढ्ने गर्नु भए हुन्थ्यो कि ? गणतन्त्रका अधिपति, परमाधिपतिलाई सल्लाह दिने
धृष्टता चाहिँ नगरिहालु। ती शास्त्रहरू तुरिसकेर यसो चिन्तन–मनन् अनि विद्वान्हरूसँग विचार–विमर्श गरे देश र जनताको प्रगति र समृद्धिको बाटो भेटिन्थ्यो कि त ? आगे यहाँहरूको जो मर्जी।