सच्चिँदै अपमानित नाम

सच्चिँदै अपमानित नाम

दैलेख : साबिक दुल्लु गाविस–१ का ३९ वर्षीय फणीन्द्र बादीको नागरिकतामा अपमानजनक नाम सच्चिएको छ। ठेगाना, नागरिकता नम्बर, बाबुको नाम, नागरिकता जारी भएको मिति पुरानै कायम गरी नागरिकताको प्रतिलिपि दिइएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए। अभिलेखअनुसार फणीन्द्रले पहिलो प्रतिलिपि २०७५ वैशाख २५ गते पुरानै नाममा लिएका थिए। अहिले अपमानबोधक नामको सट्टा फणीन्द्र बादी नाम जनाएर दोस्रो प्रतिलिपि दिइएको प्याकुरेलको भनाइ छ।

२०४० जेठ २ गते जन्मिएका फणीन्द्रले नयाँ नामसहितको नागरिकता पाएका हुन्।

तत्कालीन प्रमुख जिल्ला अधिकारी टेकराज ज्ञवालीले २०६० जेठ ९ गते प्रमाणित गरेको नेपाली नागरिकतामा उनको नाम ‘फ्याउरो बादी’ उल्लेख थियो। उक्त नामले आफूलाई अपमानबोध भएको भन्दै फणीन्द्रले सच्याइदिन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए। उति बेला नै यो नाम नराखी दिन आग्रह गर्दा पनि गाविस सचिवले गरेको सिफारिसका आधारमा नागरिकतामा अपमानित नाम लेखिएको उनको भनाइ छ। 

‘गाउँसमाजका समूहमा नाम राख्दा, मतदान गर्न र बैंकमा खाता खोल्न जस्ता काममा नागरिकता चाहिँदा नागरिकता देखाउन गाह्रो लाग्थ्यो। नागरिकतामै फ्याउरो बादी लेखिएका कारण जिस्क्याउनलाई पनि चिया पसल र चौतारामा नाम सोध्थे। म भन्थेँ। सबै गलल हाँस्थे’, उनले भने, ‘अब त जसले सोधे पनि आफ्नो नाम निर्धक्कसाथ फणीन्द्र बादी भन्छु।’ गृह मन्त्रालयले गत साउन २३ गते यस्ता अपमानजनक नाममा नागरिकता जारी नगर्न र अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकताको प्रमाणपत्र सम्बन्धित व्यक्तिले सच्याउन चाहे सच्याइदिन परिपत्र गरेको थियो। 

जुन परिपत्रअनुसार देशभरमै पहिलो पटक जिल्ला प्रशासन कार्यालय दैलेखले भदौ ५ गते दुई जनाको नाम सच्याएको थियो। भगवतीमाई–३ का ६२ वर्षीय कविराम कामी र भगवतीमाई–५ कट्टीका ४४ वर्षीय कर्णबहादुर विकको अपमानजनक नाम सच्याएर नयाँ नागरिकताको प्रतिलिपि दिइएको थियो। कविरामको नागरिकतामा कुकुर र कर्णबहादुरको ठगे कामी उल्लेख थियो। कविरामका एक छोराको नागरिकतामा बुबाको नाम र कर्णबहादुरको श्रीमतीको नागरिकतामा पतिको नाम सच्याइएको छ। गृहको परिपत्रपछि अनमानजनक नाम सच्याउन पाउनेमा फणीन्द्र जिल्लाका तेस्रो व्यक्ति हुन्। 

बागलुङको ताराखोला गाउँपालिका–४ तारागाउँकी ५६ वर्षीया सावित्री कामीलाई यही भदौ ६ गते अपमानित नाम सच्याएर प्रतिलिपि दिइएको थियो। उनको नागरिकतामा ‘कुकुर्नी कामी’ लेखिएको थियो। बागलुङका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले उक्त प्रतिलिपि दिएका हुन्। दैलेखमा तीन, बागलुङमा एक गरी देशभर अहिलेसम्म ४ वटा मात्र अपमानजनक नाम सच्याइएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.