सात वर्षमा नयाँ सहर आयोजनाका १४ योजना
अछाम : अछामको साँफेबगरलाई सुविधा सम्पन्न युक्त नयाँ सहर बनाउने कार्य सुरु भएको सात वर्ष बित्यो। आर्थिक वर्ष ०७२/७३ देखि सुरु भएको कामले सोचेअनुरूप गति लिन सकेको छैन।
यो अवधिमा आयोजनामार्फत १४ वटा योजना मात्र सम्पन्न भएका छन्।
७५ लाखको साँफेबगर खानेपानी निर्माण, एयरपोर्ट बजार क्षेत्रमा ढुंगा बिछ्याउने कार्य, दुई करोडको बजारमा सौर्य बत्ती जडान, तीन करोड ८२ लाख ६३ हजारको जग्गा विकास आयोजनाको बाटो खोल्ने कार्य, तीन करोड ८४ लाख ५५ हजारको साँफे-नौलाकोट-देउझाल-मष्टामाण्डौ सडक, ५४ लाखको नगर खेलकुद मैदान, दुई करोड ६९ लाख ५० हजारको फलफूल तथा तरकारी संकलन केन्द्र, दुई करोड ९३ लाख २६ हजारको कार्यालयको भवन निर्माण, नौ करोड १७ लाख ३८ हजारको भाग्यश्वरको माझको पिपलदेखि लङ्गमाता मन्दिर जाने सडक निर्माण भएको छ।
तीन करोड ८८ लाखको बसपार्कका लागि मुआब्जा वितरण, एक करोड ९५ लाखको सडक विभागदेखि श्रीकोट जाने गारेटो बाटो, एक करोड ६५ लाखमा साँफेबजार क्षेत्रमा नाली निर्माण र १९ करोड ६० लाखको जिमराडी सडक निर्माण गरेको कार्यालयका इन्जिनियर ललित बुढाले जानकारी दिए।
सबैभन्दा महत्वपूर्ण काम बसपार्क निर्माणको लागि प्रक्रिया अगाडि बढेको र मुआब्जा वितरण गरिसकिएको इन्जिनियर बुढाले बताए। उनले भने, 'ठूला योजनाहरू सुरुवात हुनै सकेको छैनन्, कोल्डस्टोरको काम सकियो, अब बसपार्क निर्माण सुरु गरेका छौं, पटक पटक कार्यालय प्रमुख परिवर्तनले समस्या निम्त्याएको छ।
ऐलानी जग्गामा स्थानीयको हस्तक्षेपमा कारण पनि काम हुन सकेको छैन।' कार्यालय प्रमुख घनश्याम श्रेष्ठ असारमा सरुवा भएर हेटौडा गएपछि कार्यालय प्रमुख बिहिन छ। भने ७ वर्षको अवधिमा ६ जना कार्यालय प्रमुख फेरिसकेका छन्।
७ वर्षको अवधिमा ७३ करोड ८१ लाख ६७ हजार बजेट खर्च भएको छ। आव ०७२/७३ मा एक करोड ३३ लाख ७५ हजार, ०७३/७४ मा ८८ लाख ३१ हजार ३ सय, ०७४/७५ मा सात करोड ८० लाख ६ हजार, ०७५/७६ मा १५ करोड २७ लाख १८ हजार, ०७६/७७ मा २० करोड १६ लाख ६० हजार, ०७७/७८ मा १० करोड ५६ लाख ६५ हजार र ०७८/७९ का लागि १७ करोड ९६ लाख ८७ हजार बजेट खर्च भएको आयोजनाले जनाएको छ।
बहुउद्देश्यीय हल, खेलमैदान, सपिङ कम्पलेक्सजस्ता ठूला योजनाहरूको काम सुरुवात नै हुन सकेको छैन भने नयाँ सहर अन्तर्गत बनेका पूर्वाधारहरू समेत प्रयोगमा नआउँदै भत्किने अवस्थामा पुगेको छ।
बुढीगंगा नदीमा बनाइएको शवदाह गृह निर्माण सम्पन्न नहुँदै भत्किन थालेको छ। शवदाह गृह आर्थिक वर्ष ०७४/०७५ मा ८४ लाख ५६ हजारमा निर्माण कार्य सुरु भएको थियो। शवदाह गृहको छानो होचो भएकाले शव जलाउन नमिल्ने स्थानीय नृप दमाईले बताए। उनले भने, 'निर्माण नै गलत भएको जस्तो छ, यति होचोमा कसरी लास जलाउन सकिन्छ?'
माथि जस्तापाताको छानो छ, लास जलाउँदा पुरै आगलागी हुनसक्छ। लास जलाइसकेपछि जलाएको ठाउँ पखाल्ने परम्परा छ। त्यो पनि गर्न सहज छैन।'
नयाँ सहर निर्वाचनका क्रममा मात्र नेताहरूलाई भाषण गर्ने माध्यम बनेको छ। पटकपटक कार्यालय प्रमुख बदलिनु, राजनीतिक हस्तक्षेप, जिम्मेवार निकायको मौनताले आयोजनाको काम अलपत्र परेको हो।
ऐलानी जग्गामा स्थानीयको हस्तक्षेप, राजनितिक दल, जनप्रतिनिधिको चासो नहुनु र पटकपटक कार्यालय प्रमुख बदलिरहनुले नयाँ सहरको कामले गति लिन नसकेको हो।