अन्नपूर्ण केबलकार चढेर पञ्चमुखी गणेशको दर्शन
पोखरा : फेवातालको किनारबाट सराङकोटको डाँडासम्म अचेल १० मिनेटभन्दा कमै समयमा पुगिन्छ। अन्नपूर्ण केबलकार बनेपछि पर्यटकलाई सराङकोट पुगेर झुल्के घाम र सूर्यास्त हेर्न जान आउन सजिलो भएको छ।
सराङकोट अन्नपूर्ण हिमशृंखला र फेवातालको दृश्य पनि हेर्न जाने गन्तव्य हो। त्यतिमात्रै होइन अन्नपूर्ण केबल कार चढेर जाँदा अब भने पञ्चमुखी गणेशको दर्शन पनि गर्न पाइने भएको छ।
सराङकोट धार्मिक तथा पर्यटन क्षेत्र विकास समितिले डाँडाको टाकुरामै पञ्चमुखी गणेश मूर्ति स्थापना गर्न लागेको छ। अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष कालु गुरुङको अध्यक्षतामा मूर्ति निर्माण उपसमिति गठन भएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बुधबार मूर्ति स्थापनाका लागि शिलान्यास तथा भूमिपूजा गरे।
त्यस अवसरमा मेयर आचार्यले पञ्चमुखी गणेश मूर्ति बनेपछि सराङकोटमा पर्यटकको बसाइ लम्बिने विश्वास व्यक्त गरे। उनले पर्यटकीय विकासका लागि महानगरको सहयोग हुने आश्वासनसमेत दिए।
अन्नपूर्ण केबल कारका निर्देशक तीर्थराज त्रिपाठीले गणेशको मूर्ति निर्माण आउँदो शिवरात्रिभित्रै पूरा गरिने जानकारी दिए। ‘द्रूत गतिका काम गर्ने हो,’ उनले भने। केबलकारका अध्यक्ष गुरुङको उपसमितिले निर्माण पूरा गरेपछि सराङकोट धार्मिक तथा पर्यटन क्षेत्र विकास समितिलाई हस्तान्तरण गरिने बताए। मूर्ति निर्माण गर्न ५ देखि ९ करोड रुपैयाँ लाग्ने अनुमान छ।
समितिका अध्यक्ष प्रेमबहादुर जिसीले गणेश मूर्ति ६१ फिट अग्लो हुने जानकारी दिए। ‘सराङकोटको डाँडाको टावरभन्दा केही होचो हुनेछ,’ उनले भने । पञ्चमुखी गणेशको मूर्ति नेपालमै पहिलोपटक निर्माण गर्न लागिएको उनले सुनाए। दक्षिण भारतमा मात्रै यस्तो मूर्ति रहेको उनको भनाइ थियो।
पञ्चमुखी गणेश मूर्ति दर्शनका साथै पोखराको दृश्यावलोकनको स्थान पनि यो परियोजनामा समेटिएको छ।