दसैंका लागि गाडीको टिकट बुकिङ अनलाइनबाटै

दसैंका लागि गाडीको टिकट बुकिङ अनलाइनबाटै

काठमाडौं : यसपालि दसैंका लागि अनलाइनबाटै टिकट बुकिङ गर्न पाइने भएको छ। विगतमा सर्वसाधारणले टिकट बुकिङ गर्न लाइन लाग्नुपर्ने बाध्यता थियो। यसपालिदेखि भने त्यो बाध्यता हटेको छ। असोज १ गतेबाट अनलाइन टिकट बुकिङ गर्न पाउने यातायात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डेले बताए। यात्रुको सहजताका लागि अनलाइन बुकिङ प्रक्रिया सुरु गर्न लागेका हौं। अनलाइन पूर्णरूपमा सम्भव नहुन सक्छ,’ पाण्डे भन्छन्, ‘गाडी कुन भन्ने ठेगान छैन।’ 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, राष्ट्रिय यातायात व्यवसायी महासंघ, सडक विभाग, ट्राफिक प्रहरीलगायतको बुधबारको संयुक्त बैठकले असोज १ गतेबाट अनलाइन बुकिङ खुला गरेको हो। मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात प्रयोगकर्ताले टिकट बुकिङ गर्न पाउनेछन्। अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीले यथाशक्य छुट वा सहुलियतसमेत प्रदान गर्ने, गराउने निर्णय भएको छ। 

अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रिने सवारीसाधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदुरसँग सहकार्य गरी अनुगमन प्रभावकारी अनुगमन गर्ने, गराउने निर्णय भएको महानिर्देशक डा. पाण्डेले बताए। 

अनाधिकृत काउन्टर र परिचयपत्र नभएका व्यक्तिबाट टिकट बिक्री गर्ने कार्य पूर्णतया बन्द हुने भएको छ। यात्रुवाहक सवारीसाधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुनेगरी रुट परमिट खुला गर्ने निर्णय भएको छ। तर, कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकारप्रकारका सार्वजनिक सवारी भने बन्देज नै रहनेछ। 

महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने बताए। असोज १० गते घटस्थापना र १९ गते विजयदशमी छ। अधिकांश मानिस घटस्थापनापछि घर जान सुरु गर्छन्। 

तर, यसपालि भने वर्षात् अझै सकिएको छैन। ठाउँठाउँमा बाढीपहिरोले गर्दा यात्रा कष्टकर देखिने व्यवसायीले आकलन गरेका छन्। वरिष्ठ उपाध्यक्ष सिटौलाले वर्षात् नरोकिएका कारण यात्रा असहज हुन सक्ने बताए। ‘बाढीपहिरो कायमै रहेकाले समयमै गाडी आउँछन् कि आउँदैनन् भन्ने चिन्ता छ’ उनले भने। प्राकृतिक प्रकोपका कारण गाडी समयमा नआउने समस्या भए पनि टिकट बुकिङ सुरु गर्ने उनको भनाइ छ। ‘जोखिम लिएर अग्रिम खोल्ने निर्णयमा सहमति गरेका छौं’ सिटौलाले भने। 

चाडपर्वलगत्तै मंसिर ४ गते निर्वाचन तय भएको छ। त्यसैले दसैंमा घर फर्किनेको संख्या अत्यधिक हुन सक्ने व्यवसायीले आकलन गरेका छन्।  रुट परमिट नचाहिने व्यवस्थाले सर्वसाधारणले जहाँको गाडी पनि रिजर्भ गरेर घर जान सहज हुने सिटौला बताउँछन्। यातायात आवागमनमा सहज बनाउन खाद्यान्नलगायतका अत्यावश्यक वस्तुको ढुवानी गर्नेबाहेक ट्रेलरलगायतका ठूला सवारीसाधन असोज १६ गतेदेखि २२ गतेसम्म नारायणहिटीदेखि काठमाडौंसम्म सञ्चालन गर्न रोक्ने निर्णय भएको छ। मुख्य सडक मर्मत, सम्भार गरी यातायात सञ्जाल सहज बनाउन सम्बन्धित निकायलाई अनुुरोध गरी पठाउने निर्णय भएको महानिर्देशक पाण्डेले बताए।

कोभिड—१९ को महामारीलाई मध्यनजर गरी मास्कको प्रयोग गर्न लगाउने, स्वास्थ्य मापदण्ड पालना गर्न गरी सवारी सञ्चालन गर्नुका साथै खाना खाने ठाउँमा भीडभाड नहुने व्यवस्था मिलाउनेसमेत निर्णय भएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.