सेनाले गर्यो सुत्केरीको उद्धार
डोटी : डोटीको सायल गाउँपालिकाकी एक सुत्केरीको सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।
सायल गाउँपालिका-६ का गोबिन्द साउदकी श्रीमती २५ वर्षीया धौली साउदको सुत्केरीपछि अत्याधिक रक्तश्राव हुँदा थप उपचारका लागि सेनाले उद्धार गरेको हो।
डोटीस्थित नेपाली सेनाको भैरव प्रसाद गण र जिल्ला प्रशासन कार्यालय डोटीको पहलमा नेपाली सेनाको एन ए ०६१ कल साइन हेलिकप्टरद्वारा उद्धार गरी कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको भैरव प्रसाद गणका गणपति जनमतबहादुर कार्कीले बताए।
साउद बिहीबार बिहान रक्तश्राव भएर जिल्ला अस्पताल डोटीमा उपचारका लागि आएकी थिइन्। साउदको भिडियो एक्सरे गर्दा शिशुको पेटमै मृत्यु भएको पाइएको र अप्रेसन गरेर निकालिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट निराजन श्रेष्ठले बताए।
बच्चाको साल पाठेघरमा टाँसिएर पाठेघर उप्किएका कारण बच्चाको पेटमै मृत्यु भएको डाक्टर श्रेष्ठले बताए। अत्यधिक रक्तश्राव भइरहेकाले पाँच पिन्ट रगत समेत दिएको र गम्भीर समस्या देखिएकाले थप उपचारका लागि बाहिर पठाउनु परेको उनले बताए।