ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको निधन

ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको निधन

स्कटल्याण्ड  : ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा बाल्मोरलमा निधन भएको छ। उनी यूकेमा सबैभन्दा लामो समय ७० वर्षसम्म गद्दीसीन थिइन्। एक विज्ञप्ति जारी गर्दै बकिङ्गम दरबारले बिहीबार बाल्मोरलमा महारानीको निधन भएको जानकारी दिएको हो।  स्थानीय समय अनुसार बेलुकीको साढे छ बजे महारानीको निधन भएको घोषणा गरिएको थियो। सो घोषणापछि उक्त दरबारमा रहेको राष्ट्रिय झण्डा आधा झुकाइएको थियो। महारानीको निधन भएको भन्ने औपचारिक सूचना पनि दरबार बाहिर राखिएको थियो।

बिहीबार उनको स्वास्थ्यका बारेमा सञ्चारमाध्यमहरुमा गम्भीर चिन्ता व्यक्त भएका थिए। उनका परिवारका सदस्यहरू उनी बस्ने स्कटल्याण्डस्थित निवासमा भेला भएका थिए।

महारानी एलिजाबेथले सन् १९५२ बाट गद्दी सम्हालेकी थिइन् । उनको निधनपछि उनका जेठा छोरा चार्ल्स अब राजा चार्ल्स तृतीय बनेका छन्। उनी १४ वटा राष्ट्रमण्डलका देशहरूको राष्ट्रप्रमुख पनि बन्ने भएका छन्।

राजा चार्ल्सले एक विज्ञप्ती जारी गर्दै भने, 'हामीले एकजना लोकप्रिय महारानी र सबैले माया गर्ने आमाको निधनको गहीरो शोक मनाउने छौं। मलाई थाहा छ उनको अभाव देशभर र राष्ट्रमण्डलका देशहरूमा पनि अनुभव गरिने छ । साथै संसारभरीका अनगिन्ती मानिसहरूले उनको अभाव महसुस गर्नेछन्।'

महारानी एलिजाबेथ द्वितीयाबाट मंगलबार मात्रै पदभार ग्रहण गरेकी ब्रिटेनकी प्रधानमन्त्री लिज ट्रसले 'महारानी आधुनिक ब्रिटेन निर्माणको चट्टान जस्तै भएको र उनले हामीलाई आवश्यक स्थीरता र शक्ति प्रदान गरेकी' बताएकी छन्।
  
महारानी एलिजाबेथ द्वितीयाको शासनकालमा मात्र ब्रिटेनमा १५ जना प्रधानमन्त्री भएका छन्। सन् १८७४ मा जन्मेका विन्स्टन चर्चीलदेखि लिएर त्यसको १०१ वर्ष पछि सन् १९७५ मा जन्मेकी हालकी प्रधानमन्त्री लिज ट्रससम्म उनकै कालमा भएका प्रम हुन्।

राज्यकालभरी नै उनले प्रधानमन्त्रीहरूसँग साप्ताहिक रूपमा भेटघाट गर्थिन्।

महारानीको जन्म सन् १९२६ को २१ अप्रिलमा लण्डनको मेफएरमा भएको थियो। उनी ब्रिटेनको महारानी बन्लिन् भनेर कसैले पनि अनुमान गरेका थिएनन् तर सन् १९३६ मा उनको ठूलो बुवा एडवर्ड अष्टम्‌ले दुईपटक पूर्वपतिहरूसँग छोडपत्र गरेकी अमेरिकी महिला वालिस सिम्पसनसँग विवाह गर्न राजगद्दी त्यागे। त्यसपछि उनका पिता राजा जोर्ज छैठौँ बनेपछि १० वर्षको उमेरमा नै परिवारभित्र लिलिबेट भनेर मायालु नामले बोलाइने उनी राजगद्दीको उत्तराधिकारी बन्न पुगेकी थिइन्। बीबीसी
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.