डेंगुको जोखिम : खेलाँची गरे जानसक्छ ज्यान

डेंगुको जोखिम : खेलाँची गरे जानसक्छ ज्यान

काठमाडौं : डेंगु जोखिम दैनिक बढ्दै गएपछि चिकित्सकहरुले सतर्कता अपनाउन आग्रह गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म ६ हजार ७०७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। 

संक्रमितमध्ये तीन जनाको मृत्यु भएको छ। यो संख्या अझै बढ्नसक्ने चिकित्सकहरुको अनुमान छ। मृत्यु हुनेहरु स्वास्थ्य अवस्था निकै बिग्रिएपछि अस्पताल पुगेको सम्बन्धित जिल्ला अस्पतालहरुले जनाएका छन्। उनीहरुको उमेर समूह ५ देखि ९० वर्षसम्म छ। स्वास्थ्य सेवा विभाग इपीडीमीयोलोजी तथा रोग नियन्त्रयण महाशाखाका अनुसार अहिलेसम्म ७५ जिल्लामा डेंगु पुगिसकेको छ।

डेंगु भाइरस ‘एडिस’ जातको लामखुट्टेले सार्ने गर्छ। यो लामखुट्टेले विशेषगरी दिउँसोमात्र टोक्ने गर्छ। वर्षात् सुरु भएपछि यो लामखुट्टे अत्यधिक सक्रिय बन्ने चिकित्सकहरुको भनाइ छ।

डेंगु संक्रमण भएको ४ देखि १० दिनसम्म लक्षणहरू देखा पर्ने गर्छ। उच्च ज्वरो आउनु, आँखाको गेडी खस्लाजस्तो हुनु, वाकवाकी तथा बान्ता हुनु, पखाला वा पातलो दिसा लाग्नु, खानामा अरुचि देखिनु  डेंगुका प्रमुख लक्षण हुन्। 

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनले संक्रमित डेंगु सक सिन्ड्रम भएर मृत्युसम्म पुग्ने बताउँछन्। उनी अन्नपूर्णसँग भन्छन्, ‘डेंगु सक सिन्ड्रम भन्ने हुन्छ। मान्छे सक (अचेत हुने अवस्था)मा गइसकेको हुन्छ। त्यो अवस्थामा पनि उपचार पाएन भने व्यक्तिको मृत्युसम्म हुनसक्छ। जटिल लक्षण भएका बिरामीको फोक्सो वा पेटमा पानी जमिरहेको हुन्छ।’ जटिल लक्षण देखिएको अवस्थामा तुरून्तै अस्पताल जानुपर्ने चिकित्सकको सुझाव छ। 

डेंगु भएका थोरै संख्याका मानिसलाई हेमोजेरिक हुने बताए। यसमा बढी मात्रामा रक्तस्राव हुने, गिजाबाट रगत बग्नुका साथै आन्तरिक रक्तस्राव पनि हुने बताए। श्वास-प्रश्वासमा गाह्रो हुनु, पेट दुख्नु, गिजाबाट रगत बगेजस्तो हुनु, थकान महसुस हुनु, बान्ता हुँदा रगत देखिनु, बिरामी बेहोस हुनु डेंगुको जटिल लक्षण हो।

डा. पुन थप्छन्, ‘डेंगुमा लक्षणका आधारमा उपचार हुने हो। डेंगुको लागि यो वा त्यो औषधि भन्ने हुँदैन। भाइरस भएपछि  भाइरसको वृद्धि हुने सम्भावनालाई रोक्ने हो। बान्ता आयो बान्ता रोक्नुपर्‍यो। शरीर कमजोर भए झोलीलो पदार्थ पिउन भन्नुपर्ने हुन्छ। पहिलेदेखि नै समस्या भएका अंगहरुमा थप असर पर्नसक्छ। समयमा उपचार पाउन सकेन भने मृत्युसम्म हुनसक्छ।’

त्यही भएर यो रोगको नाम पीडा दिने रोग भन्ने गरेको उनी बताउँछन्। ‘डेंगु भएर मान्छे फ्याट्ट फ्याट्ट मर्ने त होइन। थप समस्या भएका, दीर्घ रोगी भएकालाई अलिकति बढी च्याप्न सक्छ,’ उनी भन्छन्।

सामान्यतया प्लेटलेट्सको मात्रा एक लाखभन्दा कम भएको राम्रो मानिँदैन। इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. चुमनलाल दास डेंगु जोखिम कायमै रहेकाले सतर्कता अपनाउनुपर्ने बताउँछन्। लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगु रोगबाट बच्ने एकमात्र उपाय रहेको उनको भनाइ छ।

उनी भन्छन्, ‘एक्कासी ३ देखि ५ दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो। यसरी आएको ज्वरो ५ देखि ७ दिनसम्म रहिरहन सक्छ। यसका साथै बेस्सरी टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीरमा डाबरहरू आउने अरूचि हुने जोर्नी तथा मांसपेशीहरू बेस्सरी दुख्ने, पेट तथा आन्द्रामा गडबडी आउँछ। केही बिरामीमा सुरूमै शरीरभरि खटिरा आउँछन्।’्

डेंगु रोकथामका लागि सरकारले ‘लार्भा खोज र नष्ट अभियान’ अघि बढाएको छ। लामखुट्टे नियन्त्रणका लागि सरकारले विशेष पहलकदमी चाल्नुपर्ने र सचेतना अभियानलाई तिव्र बनाउनुपर्ने सरोकारवालाको सुझाव छ।

डेंगु संक्रमित उच्च जोखिमका संकेतहरु

असाध्यै पेट दुख्नु

तारान्तार बान्ता आउनु

कलेजो सुन्नीनु

रगतमा प्लेटेलेट्सको मात्रा घट्नु

छाती वा पेटमा पानी जम्नु

नाक, गिजा लगायतका ठाउँबाट रगत बग्नु

डेंगु ज्वरोको संक्रमणबाट बच्ने उपायहरू

यो रोगबाट बच्नको लागि मुख्यतयाः लामखुट्टेको टोकाइबाट जोगिनु पर्दछ । यसको लागि लामखुट्टेको नियन्त्रण नै सबैभन्दा उत्तम उपाय हो ।

–पुरा शरीर ढाकिने गरी कपडा लगाउने ।

–लामखुट्टेको टोकाईबाट बच्न मल्हम वा मच्छड धूप जस्ता सामग्री प्रयोग गर्ने । लामखुट्टेको टोकाईबाट बच्न राति र दिउँसो सधैं झुलभित्र सुत्ने

–घरवरपर वा खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पु¥याउने । झ्याल ढोकामा जाली लगाई बन्द राख्ने ।

–लामखुट्टेले फल पार्ने ठाउँहरुमा फल पार्न नदिन गर्नुपर्ने उपायहरू पानी राख्ने भाँडाहरू जस्तै पानी ट्याङकी, गाग्री, दहीको कतारो, बाल्टिन, ड्रम आदि सधैं छोपेर राख्ने । लामखुट्टेको नियन्त्रणको लागि घर वरपर पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र घर आँगन सफा राख्ने ।

–यो लामखुट्टेले सफा जमेको पानीमा फुल पार्ने हुनाले लामो समयसम्म एउटै ठाँउमा पानी जम्मा गरेर नराख्ने । पुराना टायर, पानी जम्न सक्ने भाँडाकुँडा, पुराना बट्टा खाल्टो खनी छोप्ने वा नष्ट गर्ने । गमला र फुलदानी, एअरकुलर जस्ता पानी जम्ने सामग्रीको पानी हप्तामा एक पटक नियमित रूपमा सुख्खा हुनेगरी सफा गर्ने ।

–कुनै स्थानमा खानेपानीको पाईप तथा ढलहरु चुहिने भएमा तुरून्त मर्मतको ब्यवस्था गर्ने ।

डेंगु ज्वरोको उपचार

डेंगु ज्वरो बिषाणुको कारणबाट लाग्ने भएकाले यसको कुनै किसिमको उपचार छैन । तर, बिरामीमा देखिएका लक्षणहरु अनुसारको उपचार गरिन्छ । ज्वरो घटाउन सिटामोल र प्रसस्त मात्रामा झोल पदार्थ पिउनुपर्दछ ।

लक्षणहरु कुनैपनि व्यक्तिमा देखापर्ने वित्तिकै डेंगु ज्वरोबाट हुने जटिलताबाट बचाउन तुरून्त स्वास्थ्य संस्थामा लगी उपचार गराउनु पर्दछ । डेंगुको बिरामीहरूको विशेष हेरचाहका लागि अस्पतालमा भर्ना गर्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.