अन्तिम क्यानभास
विभाजित मस्तिष्क बोकेर
आकाशमा मनसुन जिस्किरहेको छ
मलाई मताउने कुरा थुप्रै छन्
मसँग दुख्नका लागि
घाउहरू पनि नभएका कहाँ हुन् र !
तर, पनि म
चुपचाप तालझैं जमिरहेछु
कुनै विरोध र विद्रोहबिना नै ...
आजकल,
मृत्युलाई जित्न मान्छे
घरभित्रको बन्दी जीवन बाँचिरहेछ,
अल्जाइमरले ग्रस्त बिरामी झैं
अहिले ऊ शून्य छ
दम्भले भरिएका हुँकारहरू
मृत्युको छायाँसँगै विलीन हुँदैछन् ।
लाग्छ,
प्रलयको अन्तिम घडी नजिकै छ
यस्तो अवस्थामा म बारम्बार
तिमीलाई मात्र सम्झिरहेछु,
जीवन र मृत्युको दोसाँधमा निःशब्द म
आफ्नो मन मस्तिष्कलाई
चिसो रंग पोतेर
शीतल बनाउन सक्दो प्रयास गरिरहेछु ।
मुटुको कुनाकाप्चामा रहेका सबै
पीर र व्यथाहरूलाई
मायाको रंगसँगै घोलेर
मेरो जीवनको अन्तिम क्यानभासमा
म तिम्रै चित्र कोरिरहेछु ।