यो सहरमा
नाङ्लोमा निफनेर
चपाउँदै मकै कट्याङ कट्याङ
आफ्नै खुट्टामा उभिन खोज्दै छ
शदीयौं अघिको संस्कार मस्काउँदै
अनि सभ्यता र संस्कृति
परिमार्जित गर्दै यो सहर।
लालुपातेझैं फक्रँदै
नयाँ उमंग बोकेर
देश उचालेको छ थाप्लोमा
अबोध, कोमल र निश्चल नानीहरू
उता, गोडामा काँडा रोपेर ब्वाँसाहरू
जुलुस हिँडिरहेका छन्
र, सपना चिथोरिरहेका छन् कोपिलामै
यता, शब्द तुहाएर आँसुसित
उज्याला चपाइरहेका छन् निष्फिक्री बाख्राहरू
यो सहरमा।
परिचयहीन आँखाहरू
किचिक किचिक गर्दै
भाला रोपिरहेका छन् मस्तिष्कमा
चैत्र–वैशाखमै मनसुन गर्जिसकेपछि
असारमा आँगन बर्सिन सकेन छातीभरि
सुक्खा वनपाखाहरूमा
हरियाली झुल्न सकेन यतातिर
चुत्रो र ऐंसेलुका झ्यांगहरूमा
बाटो हराएका बटुवाहरू
अलिकति हिउँ चोरेर हिमालबाट
अन्कन्टार जंगलबाट निस्किएका नदीजस्तै
बालुवा र ढुंगाका काँप काँपमा
भास्सिएका भेटिन्छन् सहरमा।
बाँझो खेतको डल्ला फोर्न नसकेर
सुइराहरू मात्र उम्रेका छन् सहरमा
अँध्यारो, बाक्लो बादलले निलेको छ आकाश
अन्तर्वेदना र आँसुको आहालमा
चुर्लुम्म डुबेको छ यो सहर।
तर पनि अन्तर्मनको तरेलीमा
चिन्तनको विशाल आकाश बोकेर
पाइलैपिच्छे अनुभूतिका फूलपातले
रंगिएको छ मुहार
पीडासँगै खुसीका जूनतारा
उदाएका भेटिन्छन् सहरमा
विष्मयका निर्दोष आँखाहरू हुर्केका छन्
गम्भीर मुस्कान पनि झुल्केका छन् त्यहाँ
सल्बलाएका छन् छातीमा
गौरवका उतुंग टाकुराहरू
यो सहरमा।