सबैको पुर्खा एउटै !

सबैको पुर्खा एउटै !

सबै जीवनको साधारण पूर्वज एकल प्रजाति हो। जसले सम्पूर्ण जीवनलाई जन्म दियो। त्यो पूर्वज लगभग ३.५ अर्ब वर्षपहिले पृथ्वीमा अस्तित्वमा थियो भन्ने मान्यतामा वैज्ञानिक डग्लस एल थियोबाल्ड पनि सहमत छन्। डग्लस म्यासाचुसेट्सस्थित ब्रान्डेइस विश्वविद्यालयका बायोकेमिस्ट हुन्।


झन्डै ६ देखि १० हजार वर्षयताबाट सभ्यताको विकास भएसँगै मानव जाति पृथ्वीकै विवेकशील प्राणीको रूपमा दरिएको छ। त्यही मानव जातिले नै प्रारम्भिक दिनदेखि नै आफ्नो उत्पत्तिबारे सोच्न थालेका हुन्, अचम्म मानेका हुन्। हामी जब प्रागैतिहासिक अवस्थाका बारेमा सोच्छौं, तब अनौठो र असाधारण जीवजन्तु र वनस्पतिहरूको समूह घुम्न थाल्छन्। नियन्डरथल मानिस, महाकाय जीव म्यामथ्स, डायनोसोर, एमोनाइटस, ट्राइलोबाइट्सलगायतका कयांै जनावरको आकृति हाम्रो सामु आउँछन्। कुनै समय यो धर्तीमा जीवनशून्य थियो भनेर पनि सोच्न पुग्छौं। यस्तै केवल चरम सरलताको सूक्ष्म जीव आदिम महासागरमा तैरिरहेका आकृतिहरू पनि छन्।

मानव समुदायमा सदैव उठ्ने एउटा प्रश्न हो, हामीलगायत सूक्ष्म जीवदेखि भीमकाय जीव, र फरक–फरक प्रजातिका वनस्पतिहरू यो धर्तीमा अलग–अलग रूपमै अस्तित्वमा आएका हुन् वा उनीहरू सबै एउटै पुर्खाका वंशजहरू हुन् ? पुरातन ग्रीक तथा रोमन विद्वान्हरूले यो विषयलाई निकै महत्त्व दिए। विभिन्न विचार अघि सारे। ३२२ ईशापूर्वअघि अरस्तुलगायत अधिकांश चिन्तक स्वतः स्फुरित वंश प्रणालीको विकासजस्ता विचारमा केन्द्रित थिए।

झन्डै २३ सय वर्षपहिले अरस्तुले के विश्वास गर्थे भने समुद्री जीव सेलफिसको उत्पत्ति पृथ्वीको सबै समुद्री किनारमा, त्यहाँ विद्यमान माटो, बालुवा र चिप्लो वा चिपचिपाहट पदार्थबाट, तटीय चट्टानबीच सहजै स्वःस्फुरित भयो। उनको विचारमा राति उड्ने पुतली ऊनी लुगा उत्पादन गर्ने गार्मेन्टहरूबाट उत्पन्न भए। बगैंचाका कीराहरू वसन्तकालीन शीत वा सडेको काठबाट उत्पन्न भए। माछाहरू समुद्रको सतहमा आउने फिँजबाट उत्पन्न भए। उनका यस्ता विचारहरू १९औं शताब्दीसम्म प्रचलनमा थिए। तर, आजका वैज्ञानिकहरूले पृथ्वीको पहिलो जीवनलाई अन्तिम विश्वव्यापी साझा (वा एककोषीय) पुर्खा (द लास्ट कमन् (सेलुलर÷एन्सेस्टर), अर्थात् लुका (एलयूसीए) का रूपमा उल्लेख गर्ने गरेका छन्।

‘विश्वव्यापी साझा पुर्खा’ को सिद्धान्त व्यापक रूपमा मान्यता पाएको सिद्धान्त हो, यसलाई झन्डै १ सय ६० वर्षअघि वैज्ञानिक चाल्र्स डार्बिनले पहिलोपटक प्रस्तावित गरेका थिए। सन् २००८ मा न्यु साइन्टिस्टमा प्रकाशित पृथ्वीको शास्त्रीय कथा, उत्पत्ति, उद्विकाश र बिलुप्तता शीर्षकको एक वैज्ञानिक लेखमा माइकल जे बेन्टनले भनेका छन्– चट्टानमा टाँसिएका जीवनका कतिपय निशानहरू सम्भवतः युगौंअघि नै लोप भइसकेका हुन सक्छन्। जीवनबारे महत्त्वपूर्ण रहस्यहरू अहिले अस्तित्वमा रहेका जीवित कोषहरूभित्र नै विद्यमान छन्। एउटा सामान्य साझा जैविक परिचालन प्रणाली जुन अहिलेका सबैजसो जीवनमा कायम छ, त्यसलाई विश्वव्यापी साझा पुर्खाले नै बाँडेको हुनुपर्छ।

जीवनको सुरुआत अर्थात् उत्पत्तिका सन्दर्भमा लेखिएका विश्वमै दुई उत्कृष्ट पुस्तकहरू छन् जसलाई धेरै वैज्ञानिकले महत्त्वपूर्ण ग्रन्थका रूपमा लिने गरेका छन्। ‘उत्पत्ति’ पहिलो पुस्तकको नाम हो। यो पुस्तकलाई संसारको उत्पत्तिको बारेमा गरिएको एक महत्त्वपूर्ण प्राचीन ग्रन्थका रूपमा लिइन्छ। प्रचलनमा यो ग्रन्थका लेखकलाई मुसा भनिन्छ। मुसा जो १२०० ईशापूर्वको सेरोफेरोमा बस्थे र त्यतिबेला उनी अत्यन्त प्रतिष्ठित थिए भनेर भनिन्छ। दोस्रो पुस्तक चाल्र्स डार्बिनको ‘ओरिजन अफ स्पेसिस’ हो। यो पुस्तक पनि वैज्ञानिक समुदायमा महत्त्वपूर्ण ग्रन्थका रूपमा छ।

सन् १८५९ मा प्रकाशित डार्बिनको यो पुस्तकले वास्तवमा ‘उत्पत्ति’ नामक ग्रन्थमा व्यक्त गरिएका प्रजातिहरूको अलग–अलग उत्पत्तिको अवधारणालाई कमजोर बनाइदियो। शदीयौं अघिका मान्यताहरूमा योबाहेक जीवनको सुरुआत वा प्रजातिको उत्पत्तिबारे केही बताएको पाइँदैन। डार्बिन आफैं पनि जीवन कसरी सुरु भयो भन्ने अनुमान लगाउने पहिलो वैज्ञानिकमध्ये नै एक हुन्। उनले ‘सबै प्रकारका एमोनिया र फोस्फोरिक लवणयुक्त, प्रकाश, ताप, बिजुली आदि उपस्थित भएको एउटा न्यानो सानो पोखरीको’ परिकल्पना गर्दै जीवन उत्पत्तिको पहिलो आधारबारे व्याख्या गरेका थिए।

वैज्ञानिक माइकल जे बेन्टनले भनेका छन्, प्रोटिनका लागि व्यञ्जनहरू सञ्चय गर्न डीएनए प्रयोग भएको थियो भनेर हामीलाई थाहा छ। तर यीमध्ये जीवन उत्पत्तिका लागि हामीले बुझ्नुपर्ने धेरै व्यन्जनहरू के–के थिए भन्ने नै हो। लुकाले कसरी एटीपी (एडेनोसिन ट्राइफोस्फेट) को रचना गर्‍यो त ? यो अर्को महत्त्वपूर्ण प्रश्न हो। वास्तवमा जीवन डिजाइन गर्ने जोसुकै होस् उसले कोषभित्र रासायनिक प्रतिक्रियाहरू प्रयोग गरेर एटीपी बनाउन सकेको हुनुपर्छ।

सन् १८५९ मा चाल्र्स डार्बिनले जीवन लुप्त भएर जान सक्ने समस्याबारे आफ्नो पुस्तक ‘ओरिजिन अफ स्पिसिज’ मा एउटा अध्याय पनि प्रकाशित गरेका थिए। त्यो अध्यायमा उनले जीवहरू बीचको ‘मध्यवर्ती सम्बन्ध’का बारेमा व्याख्या गरेका थिए। यो व्याख्याले नजिकको सम्बन्ध भएका जीव प्रजातिबीचको विकासवादी अन्तरलाई कम गर्‍यो। यद्यपि डार्बिनको यो सिद्धान्त सही थियो वा थिएन भनेर प्रस्ट पार्ने जीवावशेषको कुनै रेकर्ड त्यो बेला उपलब्ध थिएन। सन् १८६१ मा ‘आर्किओप्टेरिक्स’, जुन पखेटा र प्वाँखहरू सँगसँगै दाँत र पुच्छर भएको एउटा अद्भुत जीव हो। त्यसको खोज भएपछि नै प्रजातिबीचको मध्यवर्ती सम्बन्धका बारेमा केही तथ्य प्रकाशमा आएको हो।

यो खोजपछि नै बामे सर्ने माछा, स्तनपायी जन्तुहरू जस्तै छेपारो, सँगसँगै खुट्टोसहितका ह्वेल माछा अनि छोटो घाँटी भएका जिराफलगायतका जीवजन्तुबीच धेरै मध्यवर्ती सम्बन्ध वैज्ञानिकहरूले भेट्टाएका हुन्। तर, जीवन जेजस्तो रूपका भए पनि उनीहरूको अन्तिम सम्बन्ध सार्वभौमिक साधारण पूर्वजसँग नै हो। जसलाई हामी लुकाको रूपमा चिन्छौ– भनेर आमवैज्ञानिक दाबी गर्छन्। लगभग चार अर्ब वर्षपहिले यो धर्तीमा लुका अस्तित्वमा भएको हुनुपर्छ भन्ने वैज्ञानिक पनि छन्। ‘विश्वव्यापी साझा पुर्खा’ अर्थात् लुका एउटा सानो नाजुक जीवन रूप हो। र, पृथ्वीका हरेक जीवित प्राणीको प्रत्यक्ष पुर्खा हो।

माथि उल्लिखित जीव–जन्तुहरू नै पृथ्वीमा पहिलो भने होइनन्। यिनीहरू यो रूपमा आउन भएको उद्विकासको समयभन्दा पनि अगाडिको स्वरूपमा आउन पनि क्रम विकासमा हजारौं वा लाखौं वर्ष बितेका छन्। वैज्ञानिकहरू भन्छन्– जैविक विकास संशोधनसँगै हुने वंश प्रणालीको एउटा प्रक्रिया हो। यो प्रक्रियामा मुख्य गरी दुई हाँगा हुन्छन्। पहिलो हाँगामा जीवहरूको वंशपुस्ताहरू एन्जेनेसिस अर्थात् नश्लको विकासमार्फत परिवर्तन हुन्छन्। अर्को हाँगा भनेको विविधता देखा पर्नु हो। किनकि साझा पूर्वजबाट आउने वंशहरू समयक्रमसँगै भिन्न हुन्छन्। यो पद्धतिलाई वैज्ञानिक भाषामा क्लाडोजेनेसिस अर्थात् वंश विभाजन वा नयाँ प्रजातिहरू उत्पन्न हुने प्रक्रिया भनिन्छ।

क्यामिलो जे. सेला–कोन्डा र फ्रान्सिस्को जे. आयलाले जीव विकासका सन्दर्भमा लेखेको एउटा पुस्तकमा सबै जीवहरूका पूर्वजहरू साझा वंशसँग नै सम्बन्धित छन् भनेका छन्। मानिस र अन्य स्तनपायी प्राणीहरू आजभन्दा १५ करोड वर्षपहिले अस्तित्वमा रहेको अत्यन्त चतुर, स्यानो मुसोजस्तै स्नतपायी जीवहरूबाट विकसित भएका हुन्। स्तनपायी जीव, पन्छी, सरीसृपहरू, उभयचर र माछाहरूको साझा पूर्वज ६० करोड वर्षपहिले जलीय कीराको रूपमा अस्तित्वमा रहेको थियो। सबै वनस्पति, जीव र जनावरहरू जीवाणुजस्तो सूक्ष्म जीवहरूबाट नै विकसित भएका हुन जसको उत्पत्तिको सिलसिला तीन अर्ब वर्षभन्दा पहिले सुरु भएको थियो।

प्रसंग चाल्र्स डार्बिनकै समयको हो। त्यतिबेलाका चर्चित ब्रिटिस वैज्ञानिकहरू रोबर्ट एडमन्ड ग्रान्ट र चाल्र्स लायलले लेमार्कको सिद्धान्तलाई अस्वीकार गरे। त्यसपछि नै सबै प्रजातिमा आफ्नो जीवनशैलीहरू रूपान्तरण गर्न सक्ने क्षमता छ भनेर विश्वास गर्न थालियो। उनीहरूले भौगोलिक मापनबाट नै जीवन रूपको प्रगति देखाउन सकिन्छ भनेर उल्लेख गरेका थिए। रोबर्ट एडमन्ड ग्रान्ट जो डार्बिनका गुरु पनि हुन्, त्यति बेला एड्बर्न विश्वविद्यालयमा प्राध्यापन गर्थे। यिनले पनि चाल्र्स डार्बिनको हजुरबुबा इरास्मस डार्बिन जस्तै वनस्पति र जनावरहरूको साझा पूर्वजको प्रस्ताव गरेका थिए। यद्यपि ग्रान्ट र लायलले प्रजातिको रूपान्तरणको एक सुसंगत संयन्त्रको प्रस्ताव भने गर्न सकेनन्।

पृथ्वीका सबै प्रजातिका जीवित जीव तथा वनस्पतिहरूको पुर्खाबारे जान्नका लागि आणविक जीव विज्ञानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ भनेर बेन्टन भन्छन्। डार्बिनले भनेजस्तै जीवनको विश्वव्यापी एउटा रुख छ जसले सबै प्रकारका ज्ञात–अज्ञात जीवहरूलाई अँगालेको छ भन्ने कुरामा पनि उनी सहमत छन्। 

वास्तवमा मानवले जहिले पनि जीवनसँग गाँसिएका जटिलताहरू र जीवित जीवनका रहस्यबारे बुझ्ने प्रयास गरेका छन्। अरस्तुदेखि लिन्नियस सम्मका वैज्ञानिकहरूले जीवनको सूची बनाउने प्रयत्न गरे। र, यो कहाँबाट आएको हो भनेर जान्ने प्रयास गरे। १८औं शताब्दीको दौडानमा पृथ्वी पहिले विचित्र र अद्भूत प्राणीहरूले भरिएको थियो। तर, ती प्राणीहरू आज अस्तित्वमा छैनन् भन्ने थाहा भयो। सन् १८२० सम्ममा भूगर्भीय समयको अध्ययनबाट फ्लोरा र फाउनाका उत्तराधिकारीहरूको खास तस्बिरहरू वैज्ञानिक समुदायमा छर्लंगिन थाल्यो।

सन् १८३० को सुरुमा बिगल यात्राको क्रममा वैज्ञानिक चाल्र्स डार्बिनले जीवन आफूले कल्पना गरेको भन्दा बढी विविध छ भन्ने बुझे। उनले भ्रमण गरेको प्रत्येक टापुहरूमा बोटबिरुवा र जीव–जन्तुका नयाँ–नयाँ प्रजातिहरू फेला पर्नु नै यसो हुनुको कारण थियो। उनले प्रजातिहरूको बीचमा पाश्र्व (भौगोलिक) र ठाडो (ऐतिहासिक) सम्बन्धहरू पनि देखे। र, सन् १८३७ सम्ममा उनले महसुस गरे कि पृथ्वीमा अस्तित्वमा रहेका प्रजाति सबैलाई एउटा ठूलो रुखले जोडेको छ। विविधताहरू पनि त्यही एउटा रुखभित्रका हाँगाहरू नै हुन्।

पृथ्वीका सबै प्रजातिका जीवित जीव तथा वनस्पतिहरूको पुर्खाबारे जान्नका लागि आणविक जीव विज्ञानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ भनेर बेन्टन भन्छन्। डार्बिनले भनेजस्तै जीवनको विश्वव्यापी एउटा रुख छ जसले सबै प्रकारका ज्ञात–अज्ञात जीवहरूलाई अँगालेको छ भन्ने कुरामा पनि उनी सहमत छन्। प्रस्तावित रुखका ब्याक्टेरिया, आर्खिया र युकारियालगायत तीन महत्त्वपूर्ण हाँगाहरू छन्। यी तीन हाँगाहरू नै जीवनका महत्त्वपूर्ण समूह हुन् भन्ने मान्यतामा आमवैज्ञानिक सहमत छन्।

मानव समुदायमा सदैव उठ्ने एउटा प्रश्न हो, हामीलगायत सूक्ष्म जीवदेखि भीमकाय जीव, र फरक–फरक प्रजातिका वनस्पतिहरू यो धर्तीमा अलग–अलग रूपमै अस्तित्वमा आएका हुन् वा उनीहरू सबै एउटै पुर्खाका वंशजहरू हुन् ? पुरातन ग्रीक तथा रोमन विद्वान्हरूले यो विषयलाई निकै महत्त्व दिए।

ब्याक्टेरिया र आर्खियाहरू प्रोकारियोटिक सूक्ष्म जीवहरू हुन्। आर्खिया पृथ्वीको जीवनको सीमालाई परिभाषित गर्ने ब्याक्टेरिया जस्तै सूक्ष्म जीवहरू हुन्। तिनीहरू अत्यन्त खतरनाक वातावरण जस्तैः समुद्री पिँधको हाइड्रोथर्मल भेन्टलगायत अत्यन्त ताप भएको जलीय स्रोतमा अस्तित्वमा थिए। यिनीहरूको अस्तित्व नुनिलो, अम्लीय र अक्सिजन बिनाको (एनारोबिक) वातावरणमा थियो भनेर वैज्ञानिकहरू वर्णन गर्छन्। युक्यारियोट समूहमा जटिल बहुकोषीय प्रजातिहरू समावेश छन्। युकारियाको कोषिका अंगले नाभीकण (न्युक्लियस) सँगै वंशानुगत डीएनए समावेश गर्छ। मानिसलगायत जनावर, बोटबिरुवा र फंगीहरू यसैअन्तर्गतका बहुकोषीय जीवनहरू हुन्। र, यी सबै जीवनहरू अन्तिम विश्वव्यापी साझा पूर्वज अर्थात् लुकाबाट नै यो धर्तीमा अस्तित्वमा आएका हुन्। 

सन् १८६६ मा अस्ट्रियाका भिक्षु ग्रेगर मेन्डलले जिन भन्ने छुट्टै एकाइहरूद्वारा पैतृक गुण नियन्त्रण भएको हो भन्ने धारणा प्रस्तुत गरे। तर, उनी त्यसको भौतिक प्रकृतिको बारेमा भने ज्ञात थिएनन्। मात्र उनले आफूले देखेको कुराबाट तिनीहरूको अस्तित्वको अनुमान गरेका थिए। जीवन अध्ययन गर्न उनको यो वैज्ञानिक मान्यता अत्यन्त महत्त्वपूर्ण छ। सबै जीवनको साधारण पूर्वज एकल प्रजाति हो। जसले सम्पूर्ण जीवनलाई जन्म दियो। त्यो पूर्वज लगभग ३.५ अर्ब वर्षपहिले पृथ्वीमा अस्तित्वमा थियो भन्ने मान्यतामा वैज्ञानिक डग्लस एल थियोबाल्ड पनि सहमत छन्। डग्लस म्यासाचुसेट्सस्थित ब्रान्डेइस विश्वविद्यालयका बायोकेमिस्ट हुन्। ‘विश्वव्यापी साझा पुर्खाको सिद्धान्तको औपचारिक परीक्षण’ शीर्षकको उनको अनुसन्धान पत्र प्रतिष्ठित जर्नल ‘नेचर’मा सन् २०१० मा प्रकाशित भएको थियो।

कम्प्युटर मोडेल तथा तथ्यांकीय तरिकाहरू अपनाएर उनले जीवनका तीन मुख्य समूहका सबै प्रजाति फरक–फरक ढंगबाट उत्पन्न हुन सक्ने सम्भावनाबारे गहन अध्ययन गरेका थिए। वैज्ञानिकहरू भन्छन्– यी तीनैवटा डोमेनमा पाइने सबै प्रजातिमा २३ वटा साझा विश्वव्यापी प्रोटिन हुन्छन्। यद्यपि, प्रोटिनको डीएनएको क्रमबद्धतामा भने अलि फरक हुन्छन्। यी २३ वटा साझा प्रोटिनले डिएनएको नक्कल गर्ने र डिएनएलाई प्रोटिनमा अनुवाद गर्ने आधारभूत कोषीय क्रियाकलाप गर्छन्। यो प्रक्रिया वास्तवमा पहिचानमा आएका सबैभन्दा सूक्ष्म जीवदेखि भीमकाय ह्वेलसम्मका जीवलाई जीवित रहन अत्यन्त अत्यावश्यक छ।

हाम्रो ग्रहमा जीवन एकपटक हैन, धेरैभन्दा धेरैपटक सुरु भएको हुन सक्छ। त्यो कुरा हामीलाई थाहा नभएको हुन सक्छ भनेर धेरै वैज्ञानिकले भन्ने गरेका छन्। तर जीवनले जीवनको केवल एक रूपबाट नै आफूलाई समृद्ध बनाउँदै आफ्नो वंशजको एउटा शृंखला कायम गर्‍यो। त्यही शृंखलाअन्तर्गतका जीवहरू नै अहिले पृथ्वीमा बसोबास गर्छन् भन्ने यथार्थलाई माथि उल्लिखित विश्लेषणले प्रस्ट पार्छ। त्यस्तै हरेक प्रकारका जीवनमा विद्यमान साझा जैविक–रासायनिक चरित्र र प्रणाली पनि हामी सबैको विकास एउटै विश्वव्यापी साझा पुर्खाबाट नै भएको हो भन्ने मान्यतालाई पुष्टि गर्ने थप आधार पनि हो।

- कट्टेल चाइनिज एकेडेमी अफ साइन्सेस, बेइजिङमा सहप्राध्यापक छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.