‘मास्टर हिलरको एन्सेन्ट सेक्रेटस्ले पुस्तक जन्मायो’

‘मास्टर हिलरको एन्सेन्ट सेक्रेटस्ले पुस्तक जन्मायो’

बुवालाई रोगले गाँज्यो। अमेरिकी नागरिक उनले ७८ वर्षीय वृद्ध बुवालाई बचाउन नसक्ने अवस्था भयो। अनेक उपचारले नभएपछि अर्थात् बुवा अब एक सातामात्र बाँच्ने चिकित्सकले बताएपछि उनी प्राकृतिक चिकित्साको शरणमा पुगे। कसैले विश्वभ्रमणमा निस्किएका मास्टर हिलर डा. नारमको सहयोगमा उनले बुवा बचाए।

यही मेसोमा अध्ययन र अनुसन्धान गर्दै उनै डा. क्लिन्ट आर. रोजर्सले झन्डै दुई दशक खर्चिएर लेखे, ‘एन एन्सेन्ट सेक्रेटस् अफ मास्टर हिलर’। जो ३२ भाषामा अनुवाद भएको छ। यसकै अर्को भाग पनि नेपालमा बसेर पूरा गरेका छन्। वर्ष दिनसम्ममा प्रकाशनको तयारीमा छन् उनी। पुस्तकबारे अन्नपूर्णकर्मी गोपीकृष्ण ढुंगाना र वासु गौतमले गरेको कुराकानी :

‘एन्सेन्ट सेक्रेटस् अफ मास्टर हिलर’ के हो ?

पुस्तकले उपचारको पश्चिमी परम्पराका विषयमा एक पश्चिमी आलोचकको विचारलाई प्रकाश पारेको छ। रोगलाई निको पार्न पश्चिमले अपनाएको प्रकियाहरूलाई चुनौती दिँदै एक पूर्वीय गुरुले सिकाउनु भएको पूर्वीय उपचारको विधिबारे विस्तृतमा लेखिएको छ यसमा। साथै उहाँलाई भेटेर ममा भएको आमूल परिवर्तन र पूर्वीय प्राकृतिक उपचारात्मक विधिका विषयमा मैले सिकेका विविध कुराहरू यो पुस्तकमा समावेश छन्।

यो पुस्तकको उपशीर्षकमा भनेजस्तै उपचार विधि र जीवनको सबैभन्दा ठूलो रहस्यका विषय समेटिएको छ। मैले कथाका रूपमा पश्चिमी उपचार विधिको परम्परालाई विश्वास गर्दिनँ भनेरसमेत लेखेको छु। र, एकजना ‘मास्टर हिलर’ गुरु उपचारकसितको भेटले कसरी मेरो बुझाइ परिवर्तन भयो ? र, यो चामत्कारिक उपचार विधि सबैका लागि सम्भव छ भन्ने विषय दुवैलाई पुस्तकमा समावेश गरेको छु।

पारिवारिक पृष्ठभूमि, त्यहाँको उपचारविधि र उपचारबारे पनि उल्लेख गर्नु भएको छ ?

मेरो हुर्काइ अमेरिकाको रुढिवादी क्रिश्चियन परिवारमा भएको हो। मेरो त्यो पृष्ठभूमिका कारण पश्चिमी उपचार विधिहरूलाई मात्र मान्दै आएको थिएँ। त्यसै कारण मैले प्राकृतिक उपचार विधिहरूलाई जादुटुनाका दृष्टिले हेर्दै आएको थिएँ। अस्वस्थ मेरो बुवाको उपचारका क्रममा नामुद डाक्टरहरू, महँगा अस्पताल र प्रसिद्ध विश्वविद्यालयहरूसँगको परामर्श आदि के मात्र गरिएन। तर पनि बुवा निको हुनु भएन। एक दिन बुवाले फोन गरेर आफू अब एक साता मात्र बाँच्न सक्ने बताउनु भयो। आमा र मलाई चिन्ता नलिन पनि भन्नुभयो। म छाँगाबाट खसेजस्तो भएँ। मलाई लाग्यो कि पश्चिमी उपचारको प्रणालीले हामीलाई असफल बनाएको रहेछ। हामीले बुवालाई नाम चलेका चिकित्सकहरू कहाँ देखाएका थियौं। बुवालाई डाक्टरहरूले यति धेरै औषधि 
दिएका थिए कि त्यसको साइड इफेक्टले थप जटिलता पैदा गरेको थियो।

मास्टर हिलरको सन्दर्भ चाहिँ के हो ?

मसित अब बुवाको उपचारको थप विकल्प खोज्नुको विकल्प रहेन। जसका लागि मैले जानी आएको भन्दा पृथक् विधामा लिएर जाने निर्णय लिएँ। सोही क्रममा अनेक खोज गर्न थालें। अन्ततः उपचारक गुरु ‘मास्टर हिलर’ कहाँ पुगें। ती मास्टर हिलरको नाम रहेछ, डा. नारम। त्यस बखत उनी विश्व भ्रमणमा निस्किएका रहेछन्। जब उनी लस एन्जलसमा थिए तब मैले बुवालाई उनीसमक्ष पुर्‍याएको थिएँ। मेरो डाक्टर नारमसितको भेटघाट र उनको प्राकृतिक उपचारको विधिलाई यो पुस्तकमा वर्णन गरेको छु। पछि डाक्टर नारमसितको उठ्बस र उनीसँग यात्राका क्रममा उनको उपचार विधिबारे अनेक ज्ञान पाएँ।

यसरी सँगालेका ती सबै ज्ञान र यस फरक प्रकृतिको उपचार विधिका बारेमा पुस्तकमा लेखेको छु। सँगै उनै पूर्वीय गुरु नारमका बारेमा पनि उल्लेख गर्नु धर्म ठानेर बुझे र सकेसम्मका विषय एवं सन्दर्भलाई जोडेको छु। दुःख लागेको छ, डाक्टर नारम अहिले यो संसारमा हुनुहुन्न। विश्वव्यापी महामारी कोभिड—१९ को सुरुआती दिनहरूमा उहाँको देहान्त भयो।

पुस्तकमा ‘एन्सेन्ट सेक्रेटस्’ भनिएको रहस्य चाहिँ के हो ? भन्न मिल्छ ?

कतिपय रोग जस्तै क्यान्सर, मधुमेह, कोलेस्ट्रोल, अर्थराइटिस्को उपचार हाम्रो शरीरभित्रकै प्राकृतिक प्रक्रियाबाट पनि सम्भव हुँदो रहेछ भन्ने विषय नै मैले रहस्यका रूपमा जोडेको छु। बुवाले डाक्टर नरामको सल्लाहअनुसार ती विधिहरू पालना गर्दा १२ वटा औषधिबाट ६ वटामा झार्न सफल हुनु भयो। मैले पुस्तकमा उल्लेख गरेको रहस्य यो नै हो। बुवाको उमेर त्यो बेला ७८ वर्षको थियो।
डाक्टर नारम भन्नुहुन्थ्यो, ‘संसारका ९५ प्रतिशत मानिस आफ्नो जीवनमा के गर्न चाहन्छन्, उनीहरूलाई पत्तो हुँदैन। नानाथरी विकल्पहरूको खोजीमा उनीहरू असन्तुष्ट जीवन बिताइरहेका हुन्छन्।’ बाँकी ५ प्रतिशतमध्ये पनि ३ प्रतिशतलाई जीवनमा गर्न खोजेको कुरा थाहा त हुन्छ तर आवश्यक स्रोत र साधनको अभावमा चाहे जति उपलब्धि हासिल गर्न सकिरहेका हुँदैनन्। रह्यो २ प्रतिशत। त्यसमध्ये १ प्रतिशतले आफूले चाहे जति हासिल त गर्छन् तर मेरो उनीहरूसितको संसर्ग र अनुभवबारे डाक्टर नारम भन्नुहुन्छ, ‘उनीहरूले आफ्नो परिवार, समाज, नातासम्बन्धमा आवश्यक भूमिका निर्वाह गरिरहेका हुँदैनन्।’

कुनै पनि व्यापार, व्यवसायमा तपाईंले सफलता हासिल गर्नुहुन्छ तर आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह नगर्दा त्यसलाई पूर्ण सफल भन्न मिल्दैन। अनि बाँकी १ प्रतिशतले सफलता पनि हाँसिल गरिरहेका हुन्छन् र सन्तुष्ट पनि हुन्छन्। उनीहरूले जीवनको वास्तविक आनन्द लिइरहेका हुन्छन् भन्ने विषयमै यो पुस्तकको सारांश हो। यो पुस्तकको रहस्य पनि यही हो। 

पुस्तकको पहिलो पृष्ठमै तपाईंले ‘म तिमीलाई सिकाउन आएको होइन कि प्रेम गर्न आएको हो र प्रेमले तिमीलाई सिकाउनेछ’ भन्नु भएको छ। यसको तात्पर्य ?

यस पुस्तकमा प्रत्येक व्यक्तिभित्रको देवत्वका विषय समेटिएको छ। संस्कृतमा अतिथि देवो भवः भनेर भनिन्छ। जसको मतलब जो कोही पाहुनालाई पनि ईश्वरकै रूपमा सम्मान र श्रद्धा गरिन्छ। मैले तपाईंलाई भेट्दा श्रद्धा गर्छु किनभने मैले तपाईंभित्र त्यो शक्तिको आदर गरिरहेको हुन्छु। यसको अर्थ कुनै पनि रोगव्याधिका विरुद्ध लड्न सक्ने क्षमता पनि हामीभित्रै भएकाले त्यो बल र शक्ति पनि ईश्वरीय रूप हो भन्ने हो।

पुस्तक र यसभन्दा अघिका तपाईंका कृतिबारे भनिदिनु हुन्छ कि ?

यो नै मेरो पहिलो पुस्तक हो। दुई वर्ष भयो यो पुस्तक प्रकाशन भएको। सन् २०२० मा प्रकाशित भएको हो। हालसम्म ३० भन्दा बढी भाषामा अनुवाद भइसकेका छन्। यो पुस्तकमा मैले जीवनको रहस्य भनेर लेखेको विषय हाम्रो उपचार विधिसित जोडिएको कुरा हो। मूलतः विश्वविद्यालयको अनुसन्धानकर्ताको रूपमा कार्यरत रहँदा मलाई व्यक्तिभित्रको शान्तिलाई बाहिर ल्याएर कसरी विश्वमा शान्ति छर्न सकिन्छ भन्ने विषयले डोर्‍याएको थियो। मैले थाहा पाइसकेको थिएँ कि जब मान्छे आफैंभित्र शान्ति भेटाउँछ तब मात्र उसले विश्वशान्तिका लागि योगदान दिन सक्छ।

पश्चिमी उपचार विधिले धेरै नै प्रगति त गरेको छ तर यसका साइड इफेक्टहरू छन्। कुनै पनि रोगको दीर्घकालीन उपचार प्राकृतिक ढंगले त्यो रोगको गहिराइमा पुगेर मात्र सम्भव छ भन्ने मेरो मान्यता हो। जुन मान्यता एक दशक लगाएर अनुसन्धान र लेखन गरेको यो पुस्तकबाट आएको निष्कर्षबाट बनेको हो।

तपाईंले यस पुस्तकमा घिउका विषयमा औषधि हो भनेर लेख्नु भएको छ। घिउ के र कसरी औषधि हो ?

कुनै पनि चिजको प्रयोग हामीले प्रयोग गर्ने मात्राको भरमा अमृत या विष भनेर छुट्ट्याउन सकिन्छ। मलाई डाक्टर नारमसँग भेट्नुअघि घिउका विषयमा जे थाहा थियो त्यो दृष्टिकोण र बुझाइ उहाँलाई भेटेपछि साथै अध्ययन गर्दै जाँदा अत्यन्तै धेरै पाएँ। घिउले त धेरै रोगको उपचार गर्दो रहेछ भन्ने थाहा पाएँ। घिउको सेवनले हाम्रो मानसिक स्वास्थ, निन्द्रा, पाचन प्रक्रियालाई अत्यन्तै धेरै फाइदा गर्दो रहेछ। मैले उल्लेख गरेको गाईको घिउ हो। कतिपय वैज्ञानिकले त ठिक्क मात्रामा सेवन गर्दा गाईको घिउले कोलेस्ट्रोल पनि घटाउँछ भनेका छन्।

पुस्तक लेख्न तपाईंलाई कति समय लाग्यो ?
एन्सेन्ट सेक्रेटस् अफ अ मास्टर हिलर नामको यो पुस्तक लेख्न मलाई करिब २० वर्ष लाग्यो। यो पुस्तक लेख्ने क्रममा म विश्वका दुई सय सहरहरू पुगेको थिएँ। हजारौंसँग अन्तर्वार्ता लिएको थिएँ। भनिसकें, यो मेरो पहिलो पुस्तक हो। यसैसँग जोडिएर अर्को पुस्तक पनि अन्तिम चरणमा नेपाल (ललितपुर) मै बसेर लगभग सकाएको छु, प्रकाशनको चरणमा छ। दोस्रो यो पुस्तकको सार पनि कसरी ९५ प्रतिशत मानिसलाई समाजले डोर्‍याइरहेको हुन्छ भन्ने छ। अझ यसमा मैले ‘मान्छे स्वतन्त्र छैन’ भन्ने निष्कर्ष पनि निकालेको छु।

तपाईंले पहिलो यो पुस्तकमा १ सय २५ वर्षको उमेरसम्म बाँच्न सक्ने गोप्य औषधिका बारेमा पनि उल्लेख गर्नु भएको छ ? केही भन्न मिल्छ कि ?
मैले मेरो यो पुस्तकमा लेखेको विषय हो, हाम्रो खानपान। जसले हाम्रो स्वास्थ्यमा प्रभाव पारिरहेको हुन्छ। हाम्रो शरीरको उपचार हाम्रो शरीरभित्रै हुन्छ। हामीले हाम्रो शरीरमा जे राख्छौं, हाम्रो शरीरले पनि त्यस्तै प्रतिक्रिया दिइरहेको हुन्छ। पुस्तक लेख्ने क्रममा लिएको अन्तर्वार्ताका क्रममा यो विषयका बारेमा थुप्रै अध्ययन गर्ने अवसर पाएँ। 

कसरी खुसी रहन सकिन्छ भन्नेबारे पनि धेरै कुरा बुझें। त्यसपछि त मैले मेरो जीवनशैली नै बदलेको छु। म हिजोको क्लिन्ट जी. रोजर्सभन्दा भिन्न छु। हाम्रो शरीरभित्रको उपचार विधि र प्रक्रियाका बारेमा थाहा पाएपछि जीवन जिउने सर्वोत्तम उपायमा छु। यो उपचार विधिबाट धेरै मानिसहरू निको पनि भएका छन्। तर, यो कुनै चमत्कार होइन, हो त केवल प्राकृतिक प्रक्रिया। भ्रममा नपर्नु होला, 
म कुनै गुरु होइन। धन्यवाद ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.