‘समाज परिवर्तन गर्न किताब’
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको उत्थानका लागि हरेक नागरिक अनुशासित, मर्यादित र मुलुकप्रति समर्पित बन्ने संस्कार हुनु अनिवार्य रहेको बताएकी छन्। ‘यसका लागि सुपठित हुनु पहिलो कर्तव्य हो। समाज परिवर्तनका लागि ज्ञान हासिल गर्नु अनिवार्य छ। ज्ञानका लागि अध्ययन र पठन अपरिहार्य छ’, उनले भनिन्।
किताब जात्राको पाँचौं संस्करणको शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले साहित्यकार डा. ध्रुवचन्द्र गौतमलाई प्रेम साहित्य सम्मान प्रदान गरेकी थिइन्।
यसअघिका वर्ष सत्यमोहन जोशी र जशराज किराँतीलाई यो सम्मान दिइएको थियो। कार्यक्रममा ‘सत्यमोहन’ पुस्तकका लागि गिरीश गिरीलाई किताब जात्रा बेस्ट सेलर अवार्ड प्रदान गरिएको थियो।
बिदेसिएका नेपालीले भाषा, साहित्य र संस्कृतिको संरक्षण साथै प्रवद्र्धन गरिरहेको उनको भनाइ छ। उनले भने, ‘डायस्पोरिक लेखन संख्यात्मकसँगै गुणात्मक कृति र साहित्य सिर्जनासमेत आइरहेका छन्।’
सम्मेलनको ‘प्रश्न प्रतिप्रश्न’सम्बन्धी कार्यक्रममा सञ्चारकर्मीद्वय एपी वान टेलिभिजनका प्रधान सम्पादक टीकाराम यात्री र हिमालय टेलिभिजनका न्युज चिफ राजेन्द्र बानियाँले एकआपसमा सञ्चार कर्म, तमसोमा ज्योतिर्गमय र यक्ष प्रश्नलगायतमा बहस चलाएका थिए।
यस्तै ‘चिन्तनमनन’मा साहित्यकार विप्लव प्रतीक र शिक्षित भट्टबीच सबालजवाफ चलेको थियो। सञ्चारकर्मी समा थापाले डिजिटल नेपालबारेको प्यानल डिस्कसन चलाएकी थिइन्। शनिबार अनुवाद–मनोभाव, आख्यान–व्याख्यान, बिम्ब–प्रतिबिम्ब, काव्य सन्ध्या हुनेछन् ।