पुतलीबजारमा कृषि स्रोत केन्द्र
स्याङ्जा : पुतलीबजार नगरपालिका-१ मा मुक्तिनाथ कृषि स्रोत केन्द्र स्थापना गरिएको छ।
कृषिलाई व्यवसायीकरण गर्दै उन्नत बीउ बिजन, प्रविधि तथा उपकरणको प्रयोगमा जोड दिने उद्देश्यले मुक्तिनाथ विकास कम्पनीले केन्द्र स्थापना गरेको हो।
नगरपालिकाको केन्द्रबिन्दुमा स्थापित केन्द्र रोयल सहकारी संस्थाको तल्लो तलामा राखिएको छ। किसानलाई सोही केन्द्रमै बीउ बिजन, मल, उपकरण, विषादी लगायत किसानका लागि आवश्यक पर्ने सबै सामग्रीहरू खरिद गर्न सकिने गरी व्यवस्था मिलाइएको छ।
केन्द्रको उद्घाटन गर्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले कृषिका माध्यमबाटै विकसित राष्ट्रले उन्नति गरेको बताए।
नेपालमा धेरै सम्भावना भएर काम गर्न नसक्दा बर्सेनि खर्बौं रुपैयाँका खाद्य सामग्री आयात गर्नु परेको उनको भनाइ छ।
आउने दिनमा नगरपालिकाले युवा लक्षित कृषि योजनासँगै कृषि साझेदारी ऐन बनाएर काम गर्ने बताए। निजी तथा सार्वजनिक संघ, संस्थासँग सहकार्य गर्दै अघि अघि बढ्ने उनले बताए।
कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले ४० करोडको पुँजी लगानी गरेर विभिन्न आठवटा कम्पनी स्थापना गरेको जानकारी गराए।
उनका अनुसार मुक्तिनाथ बीउ बैंक, रासायनिक मल बैंक, हर्वल बैंक, लाइभस्टक बैंक, फुड बैंक, एग्रो मेशिनरी बैंकजस्ता कम्पनी स्थापना गरिएका छन्।
झण्डै २१ वर्षअघि रोयल बचत तथा ऋण सहकारी स्थापना गरिएको थियो। सोही सहकारीले नै मुक्तिनाथ विकास बैंक स्थापना गरेको हो। सोही बैंकमार्फत कृषि कम्पनी सञ्चालनमा ल्याइएको हो।
कम्पनीले तीन वर्षदेखि आँधीखोला गाउँपालिकामा नमूना फार्म सञ्चालनमा ल्याइसकेको छ। यहाँ मौसम अनुसारका फलफूल, तरकारीका बीउ, बिरुवा उत्पादन हुँदै आएको छ।