मगरदाङका ४१५ घरमा बिजुली बल्यो

मगरदाङका ४१५ घरमा बिजुली बल्यो

बेनी : म्याग्दीको मालिका-५ मगरदाङका चार सय १५ घरधुरीमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ। 

नेपाल सरकारको ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत मगरदाङ, आशाटोल र डाडागाउँमा बिजुली बलेको हो। 

नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रशान्त झाले २०० केभीए क्षमताको ट्रान्सफर्मर जडान गरेर विद्युत् वितरण गरिएको जानकारी दिए। 

'मुख्य, शाखा लाइन, ट्रान्सफर्मर लगायतका संरचना निर्माण तथा जडान गरेर भदौ २५ गतेदेखि विद्युत वितरण थालिएको छ,' उनले भने 'मगरदाङमा विद्युत् विस्तार गर्न संघीय सरकारले करिब दुई करोड ४९ लाख ९३ हजार रुपैयाँ लगानी गरेको छ।'

मगरदाङका बासिन्दा उज्यालोका लागि लघु जलविद्युत् परियोजनामा निर्भर थिए। २०७७ सालमा दाङखोलामा आएको बाढीले २५ किलोवाट क्षमताको मगरदाङ-डाडागाउ-आशाटोल लघु जलविद्युत् परियोजनाको विद्युतगृह, नहर र जेनेरेटरमा क्षति पुगेको थियो। 

लघु जलविद्युत् परियोजनाको विद्युत नियमित नहुँदा सौर्य ऊर्जा र टुकीमा निर्भर हुनुपरेको थियो। मालिका गाउँपालिका-५ का वडाध्यक्ष मिम पुनले केन्द्रीय प्रशारण लाइनको विद्युत् सुविधा विस्तार भएपछि घरायसी काम, विद्यार्थीलाई पढ्न र उद्योग व्यवसाय सञ्चालन गर्न सहज भएको बताए।  

'यस वडाको गर्जरा, रुन्मामा यसअघि नै विद्युतीकरण भएको थियो,' उनले भने 'घरथोक, पन्थोक, जुग्जा र छुटेका बस्तीमा चालु आर्थिक वर्षभित्रमा विद्युत विस्तार गर्ने तयारी भएको छ।' 

विद्युत् सुविधासँगै फर्निचर, पाउरोटी उद्योग, विद्यालयमा कम्प्युटर विषयको पठनपाठन, वडा र अन्य कार्यालयको प्रशासनिक काम सहज भएको छ। बिजुली बलेपछि मगरदाङवासीमा खुसीयाली छाएको छ। 

नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्र अन्तर्गत २१ हजार घरमा विद्युत् सुविधा पुगेको छ। केन्द्रका प्राविधिक प्रमुख शिवराज पौडेलले गत आर्थिक वर्षमा थप ११ किलोमिटर ११ केभी र ४००/२०० भोल्टेजको ९५ किलोमिटर शाखा लाइन विस्तार भएको बताए। 

चालु आर्थिक वर्षमा मालिकाको रुम, स्याउलुङ, औल, रघुगंगाको पात्लेखर्क, धवलागिरीको मराङ, अन्नपूर्णको दोवामा छुटेका बस्तीमा लाइन विस्तार र विद्युत आपूर्ति सुधार गर्न नयाँ ट्रान्सफर्मर राख्ने योजना छ। 

पर्वतको जलजला गाउँपालिकाको मल्लाज, वारीबेनी क्षेत्रमा पनि म्याग्दी वितरण केन्द्र अन्तर्गतको मिलनचोक सबस्टेशनमार्फत विद्युत वितरण हुँदै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.