राजनीतिमा युवा हस्तक्षेप किन ?

राजनीतिमा युवा हस्तक्षेप किन ?

मुलुकको कुल जनसंख्याको ४० प्रतिशतभन्दा बढी हिस्सा युवाले ओगट्छन्। राजनीतिको नेतृत्व तहमा युवाको प्रतिनिधित्व जसरी र जुन अनुपातमा रहनुपथ्र्यो त्यो छैन। नेतृत्व भनेको व्यवस्थापन हो। कुशल, ऊर्जावान् व्यवस्थापक हुनु र शिथिल व्यवस्थापक हुनुमा आकाश—जमिनको अन्तर हुन्छ।

यद्यपि सबै ऊर्जा, जोस र जाँगर उमेरजन्य कारणले मात्र पनि हुँदैन। युवा हुनु र युवापन हुनु फरक कुरा हो। तथापि युवा उमेर भनेको युवा नै हो। युवा जोस र जाँगरलाई सकारात्मक बाटो हिँडाउँदा त्यसको परिणाम अरू उमेर समूहको भन्दा नितान्त फरक देखिनेछ। यो प्रमाणिक तथ्य हो। युवावयको तागतसँग अरूको तागत तुलना हुन सक्दैन। युवा अवस्था मानव जीवनकै सर्वाधिक ऊर्जाशील, साहसी, सिर्जनशील, आत्मविश्वासी र वेगवान् समय हो। युवा कसलाई र कुन उमेर समूहकालाई भन्ने बारेमा देशअनुसारका मापदण्ड निर्धारण गरिएको पाइन्छ। जस्तै, विश्व स्वास्थ्य संगठन र युनिसेफले १५ देखि २४, भारतले १५ देखि ३५, चीनले १४ देखि २८, बंगलादेश र फिलिपिन्सले १५ देखि ३० पाकिस्तानमा १५ देखि ४० सम्मलाई युवा मानिन्छ। नेपालको सन्दर्भमा राष्ट्रिय युवानीति २०७२ को धारा २ को (क) मा युवा भन्नाले १६ देखि ४० वर्षसम्मका नागरिकलाई जनाउने उल्लेख गरेको छ। युवा उमेर अत्यधिक प्रज्ज्वलनशील समय हो।

युवाले जति गर्न सक्छ जुन सामथ्र्य र वर्कत प्रयोग गर्न सक्छ त्यसपछि यो गतिमा ह्रास प्रकृतिको नियम हो। आजसम्म विश्वमा भएका परिवर्तनकामी आन्दोलन व्यवस्था परिवर्तन र क्रान्तिकारी काममा युवाको सक्रियता उल्लेख्य थियो। नेपाल एकीकरणदेखि २०६२/०६३ सम्म भएका लडाइँ आन्दोलनमा युवाको बलिदान त्याग र समर्पण अरूको भन्दा ज्यादा थियो। आज हामी जुन नेताहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधव नेपाल, महन्थ ठाकुर, झलनाथ खनाल र बाबुराम भट्टराईलगायत नेतालाई नो नट एगेन भनिरहेका छौं। यी नेताहरूको तरुणवयको त्याग समर्पण र योगदानको अवमूल्यन गर्नु यो आलेखको उद्देश्य होइन। अब वयोवृद्ध नेताहरूको वि श्राम र नयाँ नेपाल बनाउने जिम्मा नयाँ पुस्तालाई पार्टीहरूले हस्तान्तरण गर्न युगको चाहना प्रतिविम्बित गर्न खोजेको हुँ। यस खाँचोलाई सम्बोधन गर्न पाका पुस्ताका नेताहरूले विवेकको प्रयोग गरुन् भन्ने सन्निहित उद्देश्य राखेर लेखिएको मात्रै हो।

मंसिर ४ गते हुने संसदीय चुनावमा ३५ लाख नयाँ युवाले मताधिकार पाउने तथ्यांक सार्वजनिक भएको छ। राज्यको मूलभार वहन गर्ने सामथ्र्यलाई बाहिर राखेर कुनै पनि देशले प्रगति गर्न सक्दैन।

युवा उमेरले विगत र भविष्यलाई जोड्ने काम गर्छ। तसर्थ युवा राज्यको मेरुदण्ड हो। राष्ट्रिय युवा नीतिले तोकेको उमेर हद जे भए पनि नेपालको हकमा ५० वर्षसम्मको नेतालाई युवा मानेर प्रतिनिधित्व गर्नुपर्ने देखिन्छ। आगामी मंसिर ४ गते हुने संसदीय चुनावमा ३५ लाख नयाँ युवाले मताधिकार पाउने तथ्यांक सार्वजनिक भएको छ। राज्यको मूलभार वहन गर्ने सामथ्र्यलाई बाहिर राखेर कुनै पनि देशले प्रगति गर्न सक्दैन। दलीय व्यवस्था भएको मुलुकमा दलको नेतृत्वमा युवालाई प्रतिस्थापन गर्न सकिएन भने देश विकासको परिणाम सन्तोषजनक निस्कदैन।

अहिले नेपालमा दलमा युवा, संसद र मन्त्री प्रधानमन्त्री सबै युवा हुनुपर्ने माग उठेको छ। स्थानीय निर्वाचनको नतिजा र प्रतिस्पर्धामा युवाहरू नै अब्बल देखिएको र युवा हस्तक्षेपलाई जनताले मन पराएको पाइएको छ। काठमाडौं, धरानजस्ता सहरले युवा नेतृत्व र स्वतन्त्र युवालाई रोजेर दलहरूलाई सप्रिन सुध्रन र युवा अघि बढाउन खबरदारी गरेका छन्। चेतावनी दिएका छन्। युवाको महत्त्वव र प्रतिनिधित्वलाई मौका दिएका छन्। स्वतन्त्र युवालाई रोजेर दलीय वृद्धतन्त्रलाई विस्थापन रोज्न सुझाएका छन्। वृद्धतन्त्र रोक्न नसक्ने दलमा आबद्ध युवालाई आआफ्नो दलमा प्रभावकारी हस्तक्षेप गर्न अभिप्रेरित गरेका छन्। दलमा सक्रिय युवाले वृद्ध नेताको आशीर्वाद मात्रै थापिरहने, चाकडी मात्रै गरिरहने, बूढा नेताहरूले मृत्युवरण नगरेसम्म पालो नआउने परिपाटी अर्थात् राजाको देहावसानपछि मात्र राजकुमार राजा हुने अवस्था जस्तो अभ्यास र प्रणालीमा परिवर्तन युगको माग र हाँक दुवै हो। पार्टीमा आबद्ध युवाले आगामी संसदीय चुनाव संघीय र प्रदेश चुनावमा युवाहरूको अग्रसरता आवश्यक देखेनन् भने दलीय व्यवस्थालाई स्वतन्त्र समूहले टक्कर दिने निश्चित छ। युवा त्यस्तो शक्ति र संघर्ष हुनुपर्छ जसले प्रज्ञा र ज्ञानको सत्तालाई आत्मसात् गरेर विवेकको मार्ग अवलम्बन गरोस्। विगतमा जेलनेल सहेका, निर्वासन बसेका, भूमिगत भएका जनयुद्ध लडेकादेखि प्रजातन्त्र हुँदै गणतन्त्र प्राप्तिको यात्रमा पुराना नेताहरूले गरेको दुःखको शोधभर्ना भइसकेको छ। प्रायः सबै नेताले अवसर पाएका छन्। अब जेलनेल खेपेको, हिजोको दुःख आजको योग्यता हुन सक्दैनन्। प्रायः सबै नेताले अवसर पाएका छन्। उनीहरूले आफ्नो जवानीमा गरेका योगदान र संघर्षलाई देशले पुरस्कृत कतिलाई पटकपटक पुरस्कृत गरिसकेको छ। राजनीति विशुद्ध समाजसेवा हो। व्यापार नै मान्ने हो भने पनि पुराना नेताहरूको लगानी उठिसकेको छ। २०४८ सालदेखि अनवरत सांसद भएका मन्त्री र प्रधानमन्त्री भएका समेतले अझै चुनाव लड्ने अवसर आफ्नो लागि मात्रै राख्ने प्रवृत्तिले पार्टीमा नयाँलाई निषेध गरेको ठहर हुन्छ।

पछिल्लो पटक संसदीय चुनावमा भाग लिएको माओवादीहरूसमेत तीन वटा चुनावमा प्रतिस्पर्धा गरेर चौथो चुनावको सन्मुख छन्। अझ कति पुरानै र वासी अनुहारलाई जनताले अनुमोदन गर्नुपर्ने हो ? फ्रेस अनुहारलाई फ्रेस म्यान्डेट जरुरी हुन्छ न कि बासी र रोगाग्रस्त व्यक्तिलाई पार्टीहरूले आफ्नो भविष्य बचाउ गर्ने हो भने युवा अघि बढाउने नीति अख्तियार गर्नुपर्छ। पार्टीका बूढा र पुराना नेताको मात्रै भविष्य अझै भन्ने हो भने नेता जीवित रहँला। तर पार्टीको क्षयीकरण अवश्यंभावी छ। वृद्ध नेताहरूलाई विस्थापन गर्न बारम्बार मौका पाएकालाई वि श्राम रोज्न लगाउन युवा नेताहरूले आफ्नो आवेगलाई विवेकसम्मत तवरले कन्भिन्स गराई आफ्नो र पार्टीको भविष्य रोज्न विलम्ब गराउनु हुँदैन। पार्टीमा उम्मेद्ववार बन्न योग्य र निश्चित मापदण्ड पूरा भएका पाँच वर्षदेखि अर्को कुनै चुनावमा प्रतिस्पर्धा नगरेका युवाबीच मैत्रीपूर्ण प्रतिस्पर्धा गराउने अवस्था सिर्जना गरेर संगठित र क्रियाशील सदस्यबाट ग्रासरुटदेखि चुनिँदै आउने वातावरण या प्रणाली निर्माण गर्नुपर्छ। टिकेट नेताले दिने ‘टप टु बटम एप्रोचलाई परित्याग गरेर बटम टु टप एप्रोच’ सबै पार्टीले अंगीकार गर्ने हो भने जनताले रुचाएको मान्छे छानिने सम्भावना प्रवल हुन्छ। प्रजातन्त्रमा निषेधको गुञ्जायस रहन्न तर प्रजातान्त्रिक अभ्यासबाट नै थाकेका नेताहरूलाई विस्थापन गर्ने पद्धति विकास गर्नुपर्छ। पुराना नेताहरूको अनुभव सल्लाह र सुझाव ग्रहण गर्नु वाञ्छनीय हुन्छ। तर उहाँहरूकै लागि भिजनरी युवाको सपना तुहाउने परिस्थितिलाई नामञ्जुरी दिनुपर्छ। पार्टीका युवा नेताहरूको भविष्य र भाग्यसँग प्रवासमा कामको खोजीमा निस्केर जोखिमपूर्ण काम गर्नेदेखि श्रमिक, मजदुर, किसान, उद्यमी, विद्यार्थी आम युवाको भविष्य जोडिएको छ।

माक्र्सवादीहरू परिवर्तन र विकास कसरी हुन्छ भन्ने सिकाउँछन्। माक्र्सको द्वन्द्ववाद अनुसार ‘नयाँ र पुरानोको बीच संघर्ष हुन्छ। पुरानोलाई नयाँले विस्थापित गर्छ। प्रकृति र समाजमा हुने विकास परस्पर हुने द्वन्द्व र संघर्षको नियमबाट हुन्छ र राजनीतिमा पनि यो लागू हुन्छ। पुरानो सेल मर्ने र नयाँ सेल जन्मने हुर्कने प्रक्रिया प्रकृतिभित्र छ। पुरानाको विस्थापन र नयाँको स्थापना। हाम्रो राजनीतिमा पनि माक्र्सको द्वन्द्वको नियम लाग्नु अपरिहार्य छ। प्रकृतिमा दुई तत्त्ववबीच अन्तरविरोध हुन्छ। संघर्ष देखिन्छ। पुराना र नयाँमा पनि अन्तर्विरोध हुन्छ। अन्तर्विरोध प्रत्येक वस्तुका विकासका थालनीदेखि अन्त्यसम्म रहन्छ। भौतिक संसारमा गति नभएको कुनै वस्तु छैन। गति अन्तरविरोधको रूप हो। पदार्थको विशिष्ट गुण नै अन्तर्विरोध हो। त्यसैले नेताहरू, पार्टीहरूमा पनि माक्र्सवादले भन्ने गरेको अन्तर्विरोधको अन्त्य र सुरुवात हुन्छ। पुराना मासिने र नयाँ हुर्कने द्वन्द्वको नियम नेपाली राजनीतिमा दुरुस्त गतिमा आउनुपर्ने देखिन्छ। नेता विकासमा पनि निषेधको निषेध नियम लाग्नुपर्छ। द्वन्द्वात्मक निषेध नष्ट हुनु होइन। एंगेल्स भन्छन्, जब जौको बीउ छरिन्छ तव जौको बोट बन्छ जौको बोटले जौ दिन्छ अनि बोट मर्छ त्यस्तै नेतारूपी जौमा पनि यो निषेधको नियम अनिवार्य छ तवमात्र नयाँले स्थान प्राप्त गर्दछन्।

राजनीतिको बूढो पुस्ता नयाँ पुस्तालाई स्थापित गर्ने मामलामा बडो उदासीन छ। अब उनीहरूले पनि के बुझ्नुपर्छ भने युवाहरू सत्तामा चढ्ने भर्‍यांगमात्र होइनन्। देश हाँक्ने चालक पनि हुन्। तरुणले आफ्नो स्थान आफंै निर्धारण गरेर बूढापुस्तासँग सम्झौता नभएर प्रतिस्पर्धा गर्नुपर्छ। नेपाली कांग्रेस पार्टीमा केही युवा प्रतिस्पर्धा गरेर पदाधिकारी बन्न सफल भएका छन्। त्यसैगरी चुनावमा पनि अब म प्रधानमन्त्री बन्छु भनेर बोल्ने युवा निस्केका छन्। नेकपा एमाले, माओवादी र समाजवादीमा पनि अब हाम्रो पालो हामी अर्थात् म प्रधानमन्त्री बन्छु र देशको नेतृत्व गर्छु भन्ने युवाहरू निस्कनुपर्छ। आफ्ना सुप्रिमोलाई थकाइ मार्नुस् अब हाम्रो पालो भन्नुपर्छ। एवं रीतले अन्य पार्टीमा पनि युवाले अब हामी भन्न दकस मान्नु हुँदैन। राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो सभापति नै नयाँ पुस्तालाई छान्यो। यो युवा उभार ल्याउने संकेत हो। बूढा पुस्तालाई ससम्मान बिदाइ र गहन अभिभावकीय भूमिका दिएर कार्यकारी पदमा युवाको आकर्षण बढाउन सकिए मात्रै पार्टीमा पनि आकर्षण थपिन्छ। युवावयको स्वर्णिम समय अब भत्काउने राजनीति समाप्त भयो बनाउने र रचनात्मक हुने समय आएको छ। यसर्थ राजनीतिमा पार्टीहरूमा युवाको स्थान महत्त्ववपूर्ण हुनुपर्छ। दलीय व्यवस्थामा आएको आउन थालेको विकर्षण कम गर्न पनि युवाहरू तेजताराज भएर निस्कनु अनिवार्य भएको छ। युवा उमेरले मात्र होइन सोच, व्यवहार, क्रियाशीलताले सिर्जनशील भएर चरित्रशील भएर आउनु जरुरी छ।

युवाहरूको जनसंख्याको ४० प्रतिशत हुनु भनेको राष्ट्र विकासको लागि राम्रो सूचकांक हो। मात्रै कुरा के हो भने यो संख्यालाई राष्ट्र विकासको मार्गको नेतृत्व दिनुपर्छ। कसरी दिने युवा हस्तक्षेप कसरी बढाउने त्यो स्वयं युवाको क्षमतामा पनि निर्भर गर्दछ। पुराना पुस्तालाई ससम्मान बिदा गरेर पार्टीहरूमा नयाँ भिजनरी युवा आउन सकेनन् भने बहुदलीय व्यवस्थामा निर्दलीय उमेद्ववार अर्थात् स्वतन्त्र उम्मेद्ववार दिएर चुनावमा विजय प्राप्त गर्ने शृंखलाले दलहरूको अस्तित्वलाई चुनौती दिनेछ। निर्दलीय अभ्यास बढ्ने छ। बहुदलीय व्यवस्थामा निर्दलीय उम्मेद्ववार उल्लेख्य रूपमा विजयी बन्नु भनेको दलीयतन्त्रमाथिको अविश्वास र दलमा देखिएको खोट होइन र ? प्रश्न दलहरू सुध्रने कि सिद्धिने ? अवस्था बदल्ने कि व्यवस्था बदल्ने ? व्यवस्था बदल्नेभन्दा अवस्था र आचरण बदल्ने मार्ग सुगम हुन्छ। जसको लागि चारित्रिक गुणमा धब्बा नलागेका युवाहरू हरेक पार्टीको मोर्चामा अघि हुनु अपरिहार्य देखिन्छ। युवाको जिउँदो जोसलाई पार्टी र देशको व्यवस्थापक बनाउने हिम्मत गरियो भनेमात्र देश बन्ने अभिलक्षण देखिन थाल्नेछन्।

-  कार्की अनुसन्धाता हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.