थिंक ट्यांक अर्थात् भिल्लका मणि !
संसारमा हरकोही मानिस आफैंमा पूर्ण हुँदैन। अपूर्णता र खोट नै मानिस हुनुको पर्याय हो। तर एकको अपूर्णता अर्कोले पूर्ण गर्ने अवस्था सिर्जना गर्दा पूर्णताको छेउछाउ अवश्य पुग्न सकिन्छ। जीवनको यो सत्य धेरैले थाहा पाएका होलान्। तर बिरलै यस्ता मानिसहरू पनि होलान् जसले यसको गहिराइलाई समेत महसुस गर्न सकेका छन्। सार्वजनिक पदमा बसेको मानिस, विशेष गरेर हाम्रा राष्ट्र सञ्चालकहरूले यो सत्यलाई आत्मसात् गरी सोहीअनुरूप मुलुकको शासन व्यवस्था उत्कृष्ट ढंगबाट सञ्चालन गर्नु वाञ्छनीय हुन्छ। यसका लागि एउटा नवीन, प्रभावकारी अनि वास्तविक थिंक ट्यांकको निर्माण गर्न अत्यावश्यक छ।
इतिहासको कुनै कालखण्डमा धर्तीको पूर्वी गोलाद्र्धमा एउटा शक्तिशाली र प्रसिद्ध राज्य थियो, अयोध्या। रघु वंशीको रूपमा समेत चिनिने सूर्य वंशीहरूको उक्त राज्यमा दशरथ नाम गरेका एक चक्रवर्ती राजा थिए। दशरथ आफ्ना राजगुरु ऋषि वशिष्ठको सल्लाह र निर्देशनमा मात्र राज्य सञ्चालन गर्दथे। जसले गर्दा अयोध्याको कीर्ति र प्रताप टाढाटाढासम्म फैलिएको थियो। त्यसैताका अयोध्याझै शक्तिशाली र ओजपूर्ण अर्काे राज्यथियो, जनकपुर। मिथिला भनेर पनि चिनिने जनकपुरका राजा जनक त बेलाबेलामा विद्वान र विदुषीहरूको भेला गराएर विचार मन्थन गरिरहन्थे। राजा आफ्ना गुरु अष्टाबक्रको प्रत्यक्ष सल्लाह लिएर मात्र राजकाज चलाउँदथे फलस्वरूप जनकपुर एक सभ्य र आदर्श राज्यको रूपमा स्थापित थियो। त्यहाँका जनता राजा र राज्यव्यवस्थाप्रति पूर्णरूपमा नतमस्तक थिए।
यसको धेरै वर्षपछि धर्तीमा अर्को एउटा शक्तिशाली, समृद्ध र प्रसिद्ध साम्राज्य खडा भयो जस्लाई युनान साम्राज्यको नामले चिनिन्छ। यसको सम्पूर्ण श्रेय दार्शनिक अरस्तुलाई जाने गर्दछ किनकि अरस्तुले नै देखाएको बाटोमा युनान साम्राज्यका सम्राट् सिकन्दर महान् हिँडेका थिए। भारतीय उपमहाद्वीपको मौर्य वंशमा यस्तै अर्को शक्तिशाली र प्रतापी शासक थिए जसलाई इतिहासले सम्राट् अशोकको नामले चिन्दछ। सानैदेखि आफ्ना गुरु चाणक्यद्वारा पाएको ज्ञानको प्रयोग गरी अशोक पूरा भारत वर्षमा एक शक्तिशाली र चक्रवर्ती सम्राट् बन्न सफल भएका थिए। आचार्य चाणक्यकै नीतिअनुसार मौर्य साम्राज्यले जनहित, राष्ट्रिय सुरक्षा, न्यायमूलक शासन व्यवस्था आदि विषयमा कुनै सम्झौता गरेको थिएन। यसरी ऋषि वशिष्ठदेखि अष्टाबक्र, अरस्तु हँुदै चाणक्यसम्मका सबै व्यक्तिहरू त्यस समयका वास्तविक थिंक ट्यांक थिए। ती थिंक ट्यांकहरू नीति मात्र होइन नेतृत्व नै निर्माण गर्न सक्ने ल्याकत राख्दथे। जनहित र राष्ट्रिय स्वार्थलाई शिरोपर ठान्ने उनीहरू आवश्यक परेको खण्डमा देशका लागि बलिदानीसमेत गर्न पछि हट्दैनथ्ये।
थिंक ट्यांकको इतिहास केलाउँदै जादा मानव मस्तिष्क नै सबैभन्दा पहिलो थिंक ट्यांक हो भनेर भन्दा अतिशयोक्ति नहोला। हजारौं वर्ष अघि यही मस्तिष्कको प्रयोग गरी विचार दिने पूर्वीय ऋषिमुनि तथा पश्चिमी विद्वानहरू नै थिंक ट्यांकको वास्तविक इतिहास हुन्। तर थिंक ट्यांक शब्दको सर्वप्रथम प्रयोग भने दोस्रो विश्वयुद्धताका योजना र रणनीतिको बारेमा छलफल गर्र्ने सुरक्षित स्थानको लागि गरिएको थियो। आज विश्वव्यापी रूपमा चिनिने कारनेगी इन्डौमेन्ट फर इन्टरनेसनल पिस, ब्रुकिङ्स इन्स्टिच्युसन, हुभर इन्स्टिच्युसनजस्ता थिंक ट्यांकहरू भने नीति अनुसन्धान, विश्वशान्ति र सहकार्यजस्ता उद्देश्य बोकेर यसअगावै स्थापना भइसकेका थिए। दोस्रो विश्वयुद्धपछि थिंक ट्यांकहरूको भूमिका र कार्यक्षेत्र अझ फराकिलो र विस्तारित हुँदै गएको थियो। सन् १९८० पछि थिंक ट्यांकको संख्या र पहुँचमा समेत वृद्धि हँुदै चीन र भारतजस्ता एसियाली मुलुकहरूमा पनि थिंक ट्यांकको सुरुवात भएको थियो। ग्लोबल गो टु थिंक ट्यांक इन्डेक्स रिपोर्ट २०२० का अनुसार विश्वभर जम्मा १११७५ थिंक ट्यांकहरू रहेकोमा सबैभन्दा बढी ३३८९ एसियामा मात्र रहेका छन्।
मुलुकको इज्जत र सम्मान माथि उठाउन नयाँ विचार दिने, सन्धि, सम्झौतामा राष्ट्रिय स्वार्थलाई उच्च प्राथमिकतामा राखेर सुझाव दिने दूरदर्शी विज्ञहरूको थिंक ट्यांक निर्माण गर्न आवश्यक छ।
थिंक ट्यांकको अन्तर्राष्ट्रिय अभ्यास हेर्दा विश्वका शक्तिशाली मुलुकहरूले समेत थिंक ट्यांकको भूमिकालाई प्राथमिकतामा राखेको देखिन्छ। छिमेकी मुलुक चीनलाई छोटो समयमा आजको तहको आर्थिक महाशक्ति बनाउन थिंक ट्यांकको महत्त्वपूर्ण भूमिका रहेको छ। अर्को छिमेकी भारतले थिंक ट्यांकमार्फत प्राप्त हुने प्रस्ताव र प्रतिवेदनलाई नीति तर्जुमाको प्रमुख आधार बनाउने गरेको छ। विदेश मामिलाको संवेदनशील विषयमा समेत थिंक ट्यांकहरूले गर्ने विचार मन्थन र बहसलाई भारत सरकारले गम्भीरतापूर्वक हेर्ने गरेको देखिन्छ। त्यस्तै संयुक्त राज्य अमेरिकामा त थिंक ट्यांकहरूलाई नीति निर्माणको मेरुदण्ड नै भन्दा फरक नपर्ला। त्यहाँको विदेश नीति तर्जुमा देखि कार्यान्वयनसम्मका अधिकांश कार्यमा थिंक ट्यांकहरूले महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन्। धेरै सूचकहरूमा नेपालभन्दा कमजोर मुलुकहरूले समेत थिंक ट्यांकको विकास र विस्तारमा यथोचित स्रोत र साधन खर्चिएका छन्। थिंक ट्यांकहरूमार्फत प्राप्त हुने सल्लाह र सुझावलाई ती देशहरूले महत्त्वका साथ हेर्ने गरेका छन्।
नेपालमा पनि अध्ययन र अनुसन्धानमार्फत नीति निर्माण र तर्जुमामा सहयोग पुर्याउन थिंक ट्यांकको आवश्यकता महसुस नगरिएको होइन। देशको विकास योजना तथा नीति तर्जुमा र कार्यान्वयनमा सल्लाह दिने उपल्लो निकायको रूपमा सन् १९५६ मा सरकारले राष्ट्रिय योजना आयोगको स्थापना गर्यो। त्यस्तै त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेर नेपाली समाज, कला, धर्म, संस्कृति, इतिहास, तन्त्र, भाषा, साहित्यलगायतका क्षेत्रमा अध्ययन, अनुसन्धान गर्ने उद्देश्यले सन् १९६९ मा नेपाल अध्ययन संस्थानको स्थापना गरियो जुन पछि सन् १९७७ मा गएर नेपाल र एसियाली अनुसन्धान केन्द्र, सिनासमा रूपान्तरित भयो। त्यसैगरी विदेश नीतिका मुद्दाहरूमा राष्ट्रिय सहमति सिर्जना गर्न, राष्ट्रिय चासो र विदेश मामिलामा परराष्ट्र मन्त्रालयलाई सघाउने थिंक ट्यांकको रूपमा सन् १९९३ मा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान, आइएफएको स्थापना गरियो।
विज्ञान तथा प्रविधिको क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने उद्देश्यले सन् १९७७ मा व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र, रिकास्टको स्थापना भयो। विकासमा शिक्षालाई जोड्न, अध्ययन अनुसन्धानमार्फत शिक्षाको गुणस्तर प्रवद्र्धन गर्न सन् १९७५ मा शिक्षा विकास तथा अनुसन्धान केन्द्र, सेरिड स्थापना गरियो। सन् १९६९ मा अनुसन्धानको सहायताले सामाजिक, आर्थिक तथा प्रशासनिक विकास गरी राष्ट्र निर्माणमा योगदान पुर्याउने उद्देश्यले आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र, सेडाको स्थापना गरियो। पछिल्लो समय बृहत् कार्यादेश र कार्यक्षेत्रसहित राष्ट्रले अख्तियार गर्नुपर्ने विभिन्न नीतिका सम्बन्धमा अध्ययन तथा अनुसन्धान गर्ने, सार्वजनिक नीतिका लागि विश्वसनीय, तथ्यमा आधारित तथा परिवर्तनकारी ज्ञान सिर्जना गर्ने आदि लक्ष्य लिएर सन् २०१८ मा सरकारी थिंक ट्यांकको रूपमा नीति अनुसन्धान प्रतिष्ठान स्थापना गरियो।
तर यी सबै थिंक ट्यांकहरूलाई आफ्नो औचित्यता पुष्टि गर्न दिइएन र सकेनन् पनि। यी संस्थाहरू अध्ययन, अनुसन्धानभन्दा पनि राजनीतिक भागबन्डाका आधारमा दलहरूले आफ्ना कार्यकर्ता भर्ती गर्ने थलोको रूपमा बढी प्रयोग भए। यति मात्र होइन स्रोत, साधन र बजेटमा पनि थिंक ट्यांकहरू सरकारबाट सधैं उपेक्षित नै रहे। सरकार परिवर्तनसँगै आफू अनुकूल नहुने थिंक ट्यांकहरूलाई निष्क्रिय बनाउने प्रयासहरू पनि नेपालमा भए। अर्कोतर्फ देश पटकपटक विषम परिस्थितिबाट गुज्रिँदासमेत यी थिंक ट्यांकका विज्ञहरूले आफ्ना प्रभावकारी उपस्थिति देखाउन सकेनन्। अन्य राष्ट्रहरूको खटपट र द्वन्द्वको विषयमा नेपालले कस्तो धारणा दिनुपर्दछ भन्ने जस्तो संवेदनशील विषयमा समेत यी विज्ञहरूले दलीय आस्थाभन्दा पर बसेर स्वतन्त्र र हितकारी राय दिन सकेनन्। गैरसरकारी थिंक ट्यांकहरू त झन् दाताको भाषाभन्दा माथि उठ्नै नसकेको अवस्था छ। थिंक ट्यांकहरू एकातिर भिल्लको देशमा मणिझंै भए भने अर्कोतिर मणिको मूल्य पनि राख्न सकेनन्।
केही दशकयता हाम्रो राजनीति र यसको नेतृत्वको कारण देश बिरामी अवस्थामा चलिरहेको छ। केही छाडेर बाँकी सबै निकायहरू विकृत राजनीतिको बाछिटाबाट मुक्त रहन सकेनन्। नेतृत्वसँगै नीति पनि फेरिइरह्यो। संविधानको भावनाविपरीत हाम्रो नेतृत्व तराजुको पल्ला झैं कहिले यता त कहिले उता ढल्किरह्यो। यस्तो अवस्थामा राष्ट्रहित र जनहितलाई कमजोर हुन नदिन स्वतन्त्र र तटस्थ राजनीतिक दृष्टिकोण राख्ने, सत्यलाई सत्य र असत्यलाई असत्य भन्न सक्ने ल्याकत भएका, नवीन र बहुआयामिक दृष्टि दिन सक्ने विषय विज्ञहरूको एउटा वास्तविक थिंक ट्यांक निर्माण गर्न आवश्यक छ। अन्तर्राष्ट्रिय समुदायमा नेपालको इज्जत र सम्मान कसरी माथि उठाउन सकिन्छ भन्ने विषयमा नयाँ विचार दिन सक्ने, नेपाल पक्ष रहेको सन्धि, सम्झौतामा राष्ट्रिय स्वार्थलाई उच्च प्राथमिकतामा राखेर सुझाव दिन सक्ने दूरदर्शी विज्ञहरू यहाँभित्र हुनुपर्छ। यस थिंक ट्यांकभित्र माथि चर्चा गरिएका ऋषि वशिष्ठ, अष्टाबक्र, दार्शनिक अरस्तु र चाणक्यजस्ता पात्रहरू हुन आवश्यक छ। जसले राजा जनक र सम्राट् अशोकजस्तो नेतृत्व पैदा गर्न सकुन्।