स्थानीय तह निर्वाचनको आधारमा नवलपरासीमा कांग्रेस बलियो

स्थानीय तह निर्वाचनको आधारमा नवलपरासीमा कांग्रेस बलियो

परासी : आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नवलपरासीका प्रमुख राजनीतिक दलसहित सबैजसो दलहरुले आकांक्षी उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् । अब कसले टिकट पाउँछ भन्नेमा आम सर्वसाधारणमा चासोको विषय बनेको छ ।

जिल्लामा दुई  प्रतिनिधि सभा निर्वाचन क्षेत्र र चार प्रदेश सभा निर्वाचन क्षेत्र छन् । गत स्थानीय तहको निर्वाचनको आधारमा यहाँ कांग्रेस बलियो देखिएको छ।

स्थानीय तह निर्वाचनमा वडाअध्यक्षहरुले पाएको मतलाई आधार मान्दा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा (क) मा मात्र एमाले बलियो देखिएको छ । बाँकी दुईवटै प्रतिनिधि सभा र अन्य तीन प्रदेश सभामा नेपाली कांग्रेस बलियो रहेको वडाअध्यक्षहरुले पाएको मतले देखाएको छ । 

प्रतिनिधि सभाको दुईवटै निर्वाचन क्षेत्रको तेस्रो राजनीतिक दलमा राष्ट्रिय प्रजातन्त्र पार्टी देखिएको छ । प्रदेश सभातर्फ राप्रपा दुई स्थानमा तेस्रो छ । त्यसैगरी हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिल पार्टी (जप्रपा) र माओवादी केन्द्र एक/एक प्रदेश सभामा तेस्रो देखिएका छन् । 

वडाअध्यक्षले पाएको मतअनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा एमालेभन्दा कांग्रेस ३ हजार ५६३ मतले अघि छ । सो निर्वाचन क्षेत्रमा कांग्रेसले कुल ३० हजार ३४२ मत पाएको छ । एमालेले  कुल २६ हजार ७७९ मत पाएको छ । त्यसैगरी तेस्रो स्थानमा राप्रपा र चौथो स्थानमा माओवादी केन्द्र रहेको छ । 

त्यसैगरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा (क) तर्फ नेपाली कांग्रेस एमालेभन्दा १ हजार ८८ मतले अघि छ । नेपाली कांग्रेसको १९ हजार २४३ मत छ भने एमालेको १८ हजार १५५ छ । तेस्रो स्थानमा राप्रपा र चौथो स्थानमा माओवादी केन्द्र रहेको छ । त्यस्तै सोही निर्वाचन क्षेत्रको प्रदेश सभा (ख) तर्फ पनि नेपाली कांग्रेस एमालेभन्दा २ हजार ४७५ मतले अघि छ । नेपाली कांग्रेसको ११ हजार ९९ मत छ भने एमालेको ८ हजार ६२४ छ । तेस्रो स्थानमा हृदयेश जनता प्रगतिशिल पार्टी र चौथोमा राप्रपा छ । 

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा एमालेभन्दा नेपाली कांग्रेस ३ हजार ४१० मतले अघि छ । नेपाली कांग्रेसको ३१ हजार ५४६ मत छ भने एमालेको २८ हजार १३६ मत रहेको छ । सो निर्वाचन क्षेत्रमा राप्रपा तेस्रो र माओवादी केन्द्र चौथो छ । 

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा (क) तर्फ नेपाली कांग्रेसभन्दा एमाले २ हजार ३०४ मतले अघि छ । एमालेले १४ हजार ६३० मत ल्याउँदा कांग्रेसले १२ हजार ३२६ मत ल्याएको छ । तेस्रो स्थानमा राप्रपा र चौथो स्थानमा माओवादी केन्द्र छ ।

सोही निर्वाचन क्षेत्रको प्रदेश सभा (ख) तर्फ एमालेभन्दा नेपाली कांग्रेस ४ हजार १२० मतले अघि छ । नेपाली कांग्रेसले १० हजार ३३९ मत ल्याउँदा एमालेले ६ हजार २१९ मत ल्याएको छ । तेस्रो स्थानमा  माओवादी केन्द्र र चौथो स्थानमा जनता समाजवादी पार्टी छ ।  जिल्लामा मधेसी दलहरुको उपस्थिति रहेपनि उनीहरुको मत भने न्यून छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.