१७ वर्षपछि दिल्लीमा बाबा-छोराको भेट हुँदा...

१७ वर्षपछि दिल्लीमा बाबा-छोराको भेट हुँदा...

नयाँ दिल्ली : म दैलेख जिल्लाको दुल्लु नगरपालिका-१३ मालिका छडुङमा जन्मिएको हुँ। २०६२ सालमा माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्ष उत्कर्षमा थियो। म सानै थिएँ। तर पनि मलाई उनीहरुले लान्छन् भन्ने पीर मेरो बुबालाई थियो। त्यही कारणले गर्दा उहाँले ०६२ साल असार १४ गतेका दिन भारतको नयाँ दिल्लीमा रहेको आफन्तको घरमा लगेर केहि महिनाको लागि छाडेर फर्किनुभयो। त्यो दिनेदेखि मेरा जीवनमा संघर्षका दिन सुरु भयो। 

मेरो बुबा सधैँ स्कुलमा फस्ट हुनुहुन्थ्यो रे। म चाँहि जहिले फेल। यो कुराले बुबालाई निकै चिन्ता हुन्थ्यो। जुन दिन बुबाले मलाई दिल्लीमा आफन्तकहाँ छाडेर जानुभयो त्यो दिन जस्ले मलाई संघर्ष गर्न सिकायो।

गर्मीको मौसम थियो तर म सुत्ने कोठामा पङ्खा पनि थिएन। गर्मीले सुत्न नसकेर  राति पार्कमा गएर सुत्थेँ। घरमा धेरै याद आउँथ्यो। फोन गर्न साथमा कत्ति पनि पैसा हुँदैनथ्यो। के गरेर बस्ने, कसरी दिन कटाउने ? छट्पट्टि सुरु भयो। 

अनि निर्णय लिएँ-केही काम गरेर पैसा कमाउने। आफैँले होटलमा काम खोजेर गर्न थालेँ। महिनाको तलब थियो ६०० रुपैयाँ किनभने मैले धेरै तलब लिन केही काम जानेकै थिइन्।

निकै दु:ख सहेर १० महिनासम्म त्यहाँ काम गरेँ। १० महिनापछि साहुले निकालिदियो। ४ महिनाको तलब बाँकी थियो त्यो पनि दिएन। त्यसपछि निकै चिन्ता भयो। अब के गर्ने ? कहाँ जाने अन्योल भयो। बुबाले छाडेर गएको आफन्तको घरमा पनि जान छाडिसकेको थिएँ।

नेपालमा घर-परिवारसँग सम्पर्क नभएको धेरै भइसकेको थियो। घर फर्कन पनि मन भएन। मैले अठोट लिइसकेको थिएँ। केही गरेर, केही बनेर मात्रै नेपाल फर्कन्छु भनेर। अलिअलि भाषा जानिसकेको थिएँ। गाडी  सिक्ने मेरो ठूलो धोको थियो। अब जसरी पनि गाडी सिक्छु भन्ने अठोट लिएँ। पैसा तिरेर सिक्न सक्ने अवस्था थिएन। 

एउटा म टुर एन्ड ट्राभलमा गएर त्यहाँ रहेका केही मान्छेलाई आफ्नो समस्या सुनाएँ। अनुनयविनय गरेँ। त्यहाँका साहुले मलाई भित्र बोलाए। ती साहुले मलाई माथिदेखि तलसम्म हेरे। १५ वर्ष उमेरको भएपनि म सानै थिएँ। दुब्लो अनि कलिलो अनुहार। मेरोबारे सोधखोज गरेपछि मालिकले मलाई गाडी सिकाइ दिने भए तर ६/७ महिनापछि। त्यसका लागि मैले बिहान ४ बजेदेखि उठेर गाडी सफा गर्ने, अफिस सफा गर्ने गर्नुपर्ने भयो। म राजी भएँ किनभने मलाई जसरी पनि गाडी सिक्नु थियो।

भोलिपल्टैदेखि मैले काम सुरु गरेँ। जाडो मौसम थियो। लगाउने तातो कपडा मसँग थिएन। अफिसका ड्राइभरहरूले मलाई आफ्नो लुगा लगाउन दिन्थे।

मैले गरेको काम देखेर साहु पनि निकै खुसी भयो। ६ महिनापछि म गाडी चलाउन सक्ने भएँ। तर उमेर नपुगेकाले लाइसेन्स लिन मिलेन। उमेर बढाएर पैसा खुवाएर बल्लतल्त लाइसेन्स बनाएँ। लाइसेन्स भएपछि त्यही अफिसको गाडी चलाउने काम पाएँ। तबल २५०० तोकियो। 

मेरो जीवनको सबैभन्दा खुसीको क्षण थियो त्यो। विस्तारै राम्रो पैसा कमाउन थालेँ। त्यसपछि बल्ल घरमा बुबा, आमालाई आफ्नोबारे जानकारी दिएँ। गाडी चलाउन सिकेँ, ड्राइभरको जागिर खान्छु भनेर सुनाउँदा आमा धरधरी रुनुभयो। बुबाले छाडेको आफन्तको घर छाडेको २ वर्ष भइसकेको थियो। म कहाँ, के गर्छु भनेर ती आफन्तलाई पनि थाहा थिएन। 

म सम्पर्कविहीन भएपछि आमा धेरै रुनुभयो रे। आजसम्म कहाँ थिइस् ? के गरेर बसिस्, किन हामीलाई खबर गरिनस् ? भनेर आमाले धेरै गुनासो गर्नुभयो। दिल्लीमा छाडेको तेरो छोरो मरिसक्यो होला, त्यो त मान्छे मार्ने ठाउँ हो भनेर गाउँलेले सुनाउँथे रे। कसै-कसैले चाँही गाडीले हानेर मार्‍यो होला भन्ने अनुमान पनि लगाएरे। गाउँलेका कुरा सुनेर आमा सधैँ रोइरहनु हुन्थ्यो रे।

तैपनि कुनैदिन छोरो फर्केर आउला भन्ने आसमा बस्नुभएको रहेछ। ममीले गाउँमा भएभरका मन्दिरमा गएर मेरो छोरो छिट्टै फर्केर आयोस् भनेर पूजा गर्नुभयो रे। 

मैले फोन गरेको दिन गाउँभरि गएर सुनाउनु भएछ-मेरो छोरा विष्णु भेटियो, आज फोन गरेको थियो भनेर। छिट्टै घर आइज बरु फेरि जानु भनेर पटक-पटक आग्रह गर्नुभयो। मैले टार्दै गएँ किनभने घर जाँदा यताको काम असर पर्थ्यो। मलाई अझ धेरै प्रगति गर्नुथियो। मैले सम्झाइरहेँ। यता मिलाएर आउँछु भनेर। 

भगवानको कृपाले मलाई एकपछि अर्को सफलता मिल्दै गयो। जुन कम्पनीको गाडी भलाइरहेको थिएँ ६ वर्षपछि त्यही ट्राभलको पार्टनर बन्ने अवसर पाएँ। अलिअलि पैसा जम्मा भएपछि मैले ट्याक्सी किनेँ। सेकेण्ड ह्याण्ड ७०-८० हजारमा आउँथ्यो। एक-एक गर्दै मैले ७ वटा ट्याक्सी किनेँ। अनि आफ्नै छुट्टै ट्राभल एजेन्सी पनि खोलेँ। एन बि टुर एन्ड ट्राभल मेरो कम्पनीको नाम हो। अहिले सबै कुरा राम्रो छ।

प्रधानसेनापति प्रभुराम शर्मा विष्णु शाही ठकुरीलाई सम्मान गर्दै।

मलाई जसले गाडी चलाउन सिकाउनुभयो उहाँहरूले पछि मेरै ट्याक्सी पनि चलाउनुभयो। उहाँहरू मलाई बेला-बेला जिस्क्याउनु हुन्थ्यो-हेर ! समयको खेल हिजो यो नेपालीलाई हामी लाउन-खान दियौँ, गाडी चलाउन सिकायौँ आज हामी उसकै गाडीको ड्राइभर छौँ। तर मैले उहाँहरूलाई सधैँ मेरो गुरूकै व्यवहार गरेँ। किनभने मैले त्यो दु:ख बिर्सेको छैन। दुख:मा उहाँहरूले गर्नुभएको उपकार भुलेकै छैन। अहिले पनि भेट्दा म उहाँहरूलाई सम्मान गर्छु। अहिले त मैले सबै ट्याक्सी बेचिसकेँ।  

१७ वर्षपछि बुबा मलाई भेट्न दिल्ली आउनुभयो। मेरो अफिसमा बसेर उहाँसँग फोटो खिच्दा पाएको खुसीको म बयानै गर्न सक्दिन। १७ वर्षअघि बुबाले अरुको घरमा छाडेर जानुभएको थियो। अहिले आफ्नै घरमा बुबालाई राखेर सँगै खान खाने अवसर पाएँ। बुबालाई आफ्नै गाडीमा राखेर घुमाउन पाएँ।  

हिम्मत नहार्दा र मेहनत गर्न नछाड्दा सफलता पाइनेरैछ भन्ने पाठ सिकेको छु। जे सकिन्छ, जे पाइन्छ त्यो काम गर्नुपर्छ काम  सानो ठूलो हुँदैन। ढिलोचाँडो एकदिन अवश्य मेहनतको फल मिल्छ भन्ने लागेको छ।

(शाहीले उपचारका लागि दिल्लीका विभिन्न अस्पताल जाने नेपालीहरुलाई सहयोग गर्ने, आश्रय दिने गर्दै आएका छन्)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.