बालबालिका चोरी ‘हल्ला मात्रै’

बालबालिका चोरी ‘हल्ला मात्रै’

जनकपुरधाम : रौतहटको इशनाथ नगरपालिका—८ मा स्थानीयहरूले गत शनिबार करिब ६० वर्षीय एक वृद्धलाई कुटपिट गर्दै बालबालिका चोरेको आरोपमा प्रहरीको जिम्मा लगाए। हिन्दी र बंगाली भाषा मात्रै बोल्न सक्ने ती वृद्ध प्रतिस्थानीयहरू निकै आक्रोशित भएका थिए। प्रहरीले समयमै उनलाई नलगेको भए अप्रिय घटना हुन सक्ने सम्भावनासमेत थियो। तर, पछि प्रहरीले ती व्यक्ति मानसिक रोगी रहेको भन्दै छाड्यो। 

गत बुधबार वीरगन्जमा बालबालिका चोर्न आएको आशंकामा तीन जना भारतीय महिलाहरूलाई स्थानीयहरूले नियन्त्रणमा लिएर प्रहरीमा बुझाए। भारत बिहारको पश्चिमी चम्पारण जिल्लाको नरकटीयागन्जको पकडी ढाला घर भएका अन्दाजी ५० वर्षीया सयरी खातुन, मयरुन नेशा र छतौटी खातुनलाई स्थानीयले छपकैया बजारबाट नियन्त्रणमा लिएका थिए। 

तीन दिन प्रहरीले हिरासतमा राखेपछि ती महिलाहरूको विरुद्ध बालबालिका चोर्ने प्रयास गरेको यथेष्ट प्रमाण फेला नपरेपछि प्रहरीले तीनै जनालाई छाडेको थियो। ती महिलाहरूले प्रहरीलाई दिएको बयानमा आफूहरू बालबालिका चोर्न नभई औंठीमा जडान गरिने पत्थर र जडीबुटीहरू बेच्न वीरगन्ज आएको बताएका थिए। बालबालिका चोरको आरोपमा सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर चोकमा दुईजना यौनिक अल्पसंख्यकमाथि शनिबार अपराह्न निर्घात कुटपिट भयो। जिल्लाको कल्याणपुर नगरपालिका—९ डुमरीयाका ४३ वर्षीया मुन्नी किन्नर र धनुषा हंसपुर मलहनियाका ४७ वर्षीया चन्दा राउतलाई स्थानीयहरूले बालबालिका चोर भन्दै कुटपिट गरेका थिए।  कुटपिटबाट मुन्नीको शरीर, हात र अनुहारका विभिन्न भागमा चोटपटक लागेको छ भने चन्दाको टाउको र ढाडलगायतका अंगमा चोट छ। 

गत बिहीबार महोत्तरीको सम्सी प्रहरी चौकीमा सर्वसाधारणबाट अत्यधिक कुटाइ खाइसकेका एक पुरुषलाई ल्याएर जिम्मा लगाइयो। स्थानीयहरूका अनुसार ती पुरुषले एउटा बालबालिकालाई चकलेट दिएर फकाउन खोजेको आरोप लगाएका थिए। तर, प्रहरीले बालबालिकालाई सोध्दा आफूलाई उसले कुनै चकलेट नदिएको तर, बिस्कुट खान्छौं भनेर सोधेको बताएको थियो। प्रहरीले थप अनुसन्धान गर्दै जाँदा कुटाइ खाएका ती व्यक्ति धनुषा जिल्लाको कुर्था घर भएका मानसिक रोगी रहेको बुझिएको थियो। उपचारका लागि भारत लग्ने क्रममा भिठामोड नाकाबाट बाटो बिराएर हराउँदै सम्सी पुगेका रहेछन्। पछि प्रहरीले ती पुरुषलाई परिवारको जिम्मा लगायो। 

पछिल्लो समय बालबालिका चोरको हल्लाले मधेस प्रदेशका अधिकांश जिल्लाहरूमा आतंक मच्चाएको छ। सामाजिक सञ्जालहरूमा सर्वसाधारणले थरीथरीका भिडियो र फोटोहरू पोस्ट गर्दै बालबालिका चोर समातियो, कुटियो भनि सन्देश फैलाएका छन्। यस्ता सन्देशहरूले एकातर्फ सामाजिक त्रास बढेको छ भने अर्कोतर्फ बालबालिका चोरको आशंकामा मानसिक रोगी, र यौनिक अल्पसंख्यक तथा भेषभुूषा छुट्टै भएका व्यक्तिहरू अनाहक रूपमा सर्वसाधारणबाट कुटपिटका सिकार भइरहेका छन्। 

  •     सबै प्रचारबाजी भ्रामक रहेको प्रहरीको भनाइ
  •     चोरीमा संलग्न भनिका धेरै मानसिक रोगी 
  •     तराईका जिल्लामा बालबालिका चोरीको हल्ला बढी

‘यौनिक अल्पसंख्यकहरू सामान्य व्यक्ति जस्तो हुँुदैनौं। कोही पुरुष भएर पनि महिलाको पहिरन र हाउभावमा हुन्छ भने कोही महिला भएर पुरुषजस्तो व्यवहारमा हुन्छ तर, यस्तो हुँदैमा हामीलाई अपराधिक गतिविधिमा मुछ्ने, अनावश्यक आरोप लगाउने जस्ता क्रियाकलापहरू निन्दनीय हो,’ नील हिरा समाज धनुषाका संस्थापक प्रदीप यादव भन्छन्, ‘बालबालिका चोरकोे आरोपमा यौनिक अल्पसंख्यकलाई निशाना बनाउनेहरूलाई प्रहरीले यथाशीघ्र कारबाही गर्नुपर्छ।’ महिला, अशक्त र मानसिक रोगीहरूलाई बालबालिका चोरको आरोप लगाएर अनाहक दुःख दिने काम भइरहेकाले यस्ता गतिविधि रोक्न प्रहरी प्रशासन गम्भीर भएर लाग्नुपर्ने महिला अधिकारकर्मी रोजलिन बछार बताउँछिन्। ‘केही वर्षअघि पनि यस्तै भ्रामक प्रचारबाजीका कारण धनुषामा महिलाहरूलाई प्रताडित गरिएको थियो अनाहकमा यातना दिइएको थियो। त्यसैले यसप्रति समयमै सजग भइएन भने अप्रिय घटना पनि हुन सक्छ।’

पछिल्लो समय सामाजिक सञ्जालमार्फत फैलाइएको बालबालिका चोरसम्बन्धी भ्रामक सन्देशहरूको पछि  नलाग्न जिल्ला प्रहरी कार्यालय धनुषाका उपरीक्षक बसन्त रजौरे सबैमा आग्रह गर्छन्। ‘यो अनावश्यकको हल्ला मात्रै हो। यदि कसैको बालबालिका चोरी भएको हो भने उसले प्रहरीमा आएर जानकारी गराउनु पर्ने हो न कि मनलाग्दी कसैलाई कुटपिट गर्ने गाली बेइज्जती गर्ने। हामी यस्ता भ्रामक प्रचारबाजी गर्नेहरूमाथिनै अब कारबाही गर्ने तयारीमा छौं,’ उपरिक्षक रजौरेले भने।

साँच्चिकै बालबालिका अपहरण भएका करिब आधादर्जन घटनाहरूमा प्रहरीले तत्कालै अनुसन्धान गरी अपहरणकारीहरूलाई पक्राउ गरेर कानुनको दायरामा ल्याइएको जानकारी गराउँदै उपरिक्षक रजौरेले भने, ‘समाजका अराजकता फैलाउनका लागि बेला–बेला केही अराजक तत्वहरूले यस्ता भ्रामक प्रचारबाजी गर्ने गर्छन् त्यसको विरोध सामाजिक रूपमा पनि हुनुपर्छ। गलत कुराको पछाडि लाग्नु हुँदैन।’ बालबालिका चोरकै विषयमा नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो भोटाहिटीले भदौ ५ गतेनै एक विज्ञप्ति जारी गरेर यी सबै प्रचारबाजी भ्रामक रहेको सर्वसाधारणलाई जानकारी गराएको छ। 

विज्ञप्तिमा उल्लेख छ, ‘भारतबाट जोगी र माग्नेको भेषमा बालबालिका चोरी गर्ने व्यक्तिहरू नेपालको विभिन्न भागमा भित्रिएर बालबालिकाहरू चोरी गरी भारत लगेर, मिर्गाैला, आँखालगायतका शरीरका विभिन्न अंगहरू झिकि बिक्री गर्ने गरेको भन्ने व्यहोरा लेखेर विभिन्न व्यक्तिका तस्बिरहरूसमेत सामाजिक सञ्जालमा फैलाइएको भ्रामक प्रचारप्रति नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.