जति चुनाव, उही अनुहार
काठमाडौं : २०४८ सालदेखिका सबै चुनाव जित्नेमध्ये भाग्यमानी नेता हुन्, प्रधानमन्त्री शेरबहादुर देउवा। ०४८ मा डडेलधुराबाट निर्वाचित देउवा त्यसपछिका कुनै पनि निर्वाचनमा निराश हुनुपरेन। ०४८ मै गृहमन्त्री बनेका उनी पाँचपटक प्रधानमन्त्री बनिसके। ७६ वर्षीय देउवा मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पनि डडेलधुराबाट उम्मेदवार बन्दै छन्।
३० वर्षदेखि लगातार सांसद बन्ने अर्का भाग्यमानी नेता हुन्, कांग्रेसकै विजयकुमार गच्छदार। गच्छदारले ०४८, ०५१ र ०५६ को संसदीय चुनाव जिते। ०६४ र ०७० का दुवै संविधानसभामा जितेरै प्रतिनिधित्व गरे। ०७४ को चुनाव पनि जिते। र, यसपटक पनि उनी सुनसरीमा उम्मेदवार बन्दै छन्। संसदीय राजनीतिको उच्च ‘सदुपयोग’ गर्ने नेतामा पर्छन् गच्छदार।
माओवादीबाट ०४८ सालदेखि निरन्तर संसद्मा प्रतिनिधित्व गर्ने नेतामा पर्छन्, कृष्णबहादुर महरा। त्यस बेला तत्कालीन जनमोर्चाबाट रोल्पा २ बाट जितेर महरा पहिलो पटक संसद्मा पुगेका थिए। तर, पछि माओवादी भूमिगत भएपछि महरा पनि त्यतै लागे। शान्ति सम्झौतापछि ०६३ सालको अन्तरिम संसद्मा चुनावै नलडी उनी सांसद बने। त्यति बेला राजनीतिक सहमतिका आधारमा माओवादीलाई संसद्मा छिराइएको थियो।
एमाले अध्यक्ष केपी शर्मा ओली ०४८ देखि नै संसद्मा छन्। तर, ०६४ को पहिलो संविधानसभा चुनावमा भने उनी पराजित भएका थिए। ०४८, ०५१ र ०५६ मा झापा ६ बाट निर्वाचित ओलीले ०७० को दोस्रो संविधानसभा चुनाव झापा ७ र ०७४ मा झापा ५ बाट जिते। ओली अब झापा ५ बाट उम्मेदवार बन्दै छन्।
०४६ को राजनीतिक परिवर्तनपछि पार्टीको नेतृत्वमा जो छन्, उनै नेता चुनाव लड्ने गरेका छन्। राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पछिल्ला दिनमा जनताले मन पराए पनि नपराए पनि नेता बनिरहने संस्कार विकास भएको बताउँछन्। ‘गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, मदन भण्डारीहरू पार्टीका मात्रै थिएनन्। जनताका पनि नेता थिए’, आचार्य भन्छन्, ‘पछिल्ला दुई दशकमा जनताले मन पराए पनि नपाए पनि पार्टीले नेता भन्दिन्छन्। जनता पनि नेता भन्दिन बाध्य भए।’
एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल ०४८ देखि ०५६ सम्म राष्ट्रियसभाका सांसद बने। २०५६ मा प्रतिनिधिसभाको चुनाव जिते। पहिलो संविधानसभा चुनावमा भने पराजित भए। पछि मनोनीतबाट संविधानसभा सदस्य बने। ०७० को दोस्रो संविधानसभा र ०७४ को संसदीय निर्वाचन जिते। अब रौतहटबाट चुनाव लड्ने तयारीमा छन्।
एकीकृत समाजवादीकै नेता झलनाथ खनाल पनि ०४८ सालदेखि संसद्मा छन्। ०५६ सालको संसद्मा भने उनको उपस्थिति भएन। इलाम १ बाट प्रतिनिधित्व गरिरहेका उनी त्यस बेला पराजित भएका थिए। यसपटक उनी पनि इलाम १ बाटै उठ्दै छन्।
जनता प्रगतिशील पार्टी अध्यक्ष हृदयेश त्रिपाठी ०४८ सालमै संसद्मा पुगेका थिए। ०५१ र ०५६ मा पनि जितेका त्रिपाठीले ०७० मा जित्न सकेनन्। ०७४ मा एमालेको सूर्य चिह्नबाट जिते। उनी आगामी निर्वाचनमा पनि एमालेकै सहयोग खोजिरहेका छन्। नवलपरासी १ मा उम्मेदवार बन्ने तयारीमा उनी छन्।
लोसपा अध्यक्ष महन्थ ठाकुर ०४८ सालमा कांग्रेसबाट जितेर संसद्मा पुगे। ०५१ मा सर्लाहीबाट जितेका उनी ०६४ मा समानुपातिकबाट संविधानसभा सदस्य बने। उनले दुवै संविधानसभा चुनावमा हार बेहोरेका थिए। ०७४ मा महोत्तरी ३ बाट जिते।
एमाले उपाध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्बाङ जनताको बीचबाट जसले विश्वास जित्न सक्छ उसलाई नै पार्टीले टिकट दिने गरेको बताउँछन्। ‘पार्टीले जित्ने उम्मेदवार छान्ने गर्छ’, पूर्वसभामुख नेम्बाङ भन्छन्, ‘कोही वाककला भएका हुन्छन्। तर, जनताको मन जित्दैनन्। कोही निर्वाचन जितेपछि जनताको मन जित्ने काम मात्र गरेर आफ्नो प्रभाव सदैव जमाइरहेका हुन्छन्।’
नागरिक समाजका अगुवा एवं पूर्वसभामुख दमननाथ ढुंगाना भने जति पटक जिते पनि नेताहरूमा जागिरे प्रवृत्ति देखिएको बताउँछन्। ‘चुनाव जित्नेहरूले जनताको सेवक नभई कमाउने जागिरजस्तो भएर काम गरे’, पूर्वसभामुख ढुंगाना भन्छन्, ‘जनताको मतअनुसार काम गरेनन्।’
संविधानविद् भीमार्जुन आचार्य कुनै राम्रो काम नगर्दा पनि एकै व्यक्तिलाई पटक–पटक चुनाव जिताउनु मतदातामाथिकै गम्भीर प्रश्न भएको बताउँछन्। ‘देश, समाज र राष्ट्रका लागि काम गरेको भए पुरस्कार स्वरूप फेरि ल्यायौं भन्न हुन्थ्यो’, आचार्य भन्छन्, ‘तर, एउटै व्यक्ति पटक–पटक सांसद, मन्त्री र प्रधानमन्त्री बनेका छन्। तर, कार्यसम्पादन निराशाजनक छ।’
- २०४८ सालको चुनाव लडेका नेताहरू नै ३० वर्षपछि पनि उम्मेदवार बन्दै
- नेताहरू भन्छन्– ‘जसले जनताको मत जित्न सक्छ उसलाई नै टिकट।’
- विश्लेषक भन्छन्– ‘जबसम्म जनताले किक गर्दैनन् तबसम्म उनै अनुहार आउने हुन्।’
- नयाँ पुस्तालाई सत्ता हस्तान्तरण गर्न युवाको माग
एकीकृत समाजवादी नेता विरोध खतिवडाले ०४८ मा एमालेबाट चुनाव जिते। त्यसपछि पार्टीले टिकट दिएका तीनै (०५१, ०५६ र ०७४) चुनावमा विजय प्राप्त गरे। एमालेका बसन्त नेम्बाङ पनि युवा उमेरमै ०४८ मा सांसद बनेका थिए। उनले ०५६ र ०७४ को निर्वाचन जिते। एमाले नेता कृष्णगोपाल श्रेष्ठले पनि ०४८, २०५१ र ०७४ को निर्वाचन जिते। श्रेष्ठ पनि धेरै चुनाव लड्ने नेतामा पर्छन्।
०४८ देखि निरन्तर सांसद बन्दै आएका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भने ०७४ मा भने पराजित भए। अब पौडेल तनहुँमा उम्मेदवार बन्ने तयारीमा छन्। कांग्रेस नेता कृष्णप्रसाद सिटौला पनि ०४८ मै सांसद बने। सुरुमा एमालेका द्रोणाचार्य क्षेत्रीसँग पराजित भएका थिए। उनको निधनपछि उपनिर्वाचन हुँदा सिटौलाले जितेका हुन्। ०७४ मा भने उनी झापा ३ बाट चुनाव हारे। अब पनि त्यही क्षेत्रमा उम्मेदवार बन्ने तयारीमा सिटौला छन्। कांग्रेसका अर्का नेताहरू अर्जुननरसिंह केसी, डा. रामशरण महत, बलबहादुर केसी, दीपकुमार उपाध्याय पनि ०४८ देखि चुनाव लड्दै आएका छन्।
कांग्रेस नेता प्रदीप पौडेल एउटै पुस्ताले दलको नेतृत्व सम्हालेका कारण संसद्मा पनि त्यही पुस्ता जाने गरेको बताउँछन्। ‘पार्टीले उम्मेदवार उठाउने ठाउंँमा पनि पुरानै पुस्ता छ’, पौडेल भन्छन्, ‘उम्मेदवार मन नपरे पनि दलका कारणले जनताले चुनावमा भोट हाल्छन् र चुनाव जित्ने गरिएको छ। ठूला नेताका क्षेत्र केही हदसम्म बलियो हुन्छन्। ८० प्रतिशत मत ल्याइहाल्नु हुन्छ। त्यसकारण चुनाव पनि जित्नुहुन्छ।’
वामदेव गौतम पनि ०४८ देखि चुनाव लड्दै आएका छन्। पार्टी फुटाएर ०५६ मा मालेबाट उम्मेदवार बनेका गौतम पराजित भए। ०७४ मा वाम गठबन्धन भए पनि उनी कांग्रेसका सञ्जय गौतमबाट पराजित भए। ०४८ देखि लगातार चुनाव लड्नेमा पर्छन्, एकीकृत समाजवादीका रामचन्द्र झा र राजेन्द्र पाण्डे। पाण्डे बागमती प्रदेशका मुख्यमन्त्री छन्। पार्टी परिवर्तन गर्दै झा एकीकृत समाजवादीमा पुगेका छन्।
लोसपा नेता राजेन्द्र महतो ०४८ मा तत्कालीन सद्भावना पार्टीबाट चुनाव जितेर संसद् पुगेका हुन्। ०७० को दोस्रो संविधानसभामा महेन्द्र रायसँग पराजित महतोे ०७४ मा निर्वाचित भए। नेपाल समाजवादी पार्टीकी युवा नेतृ मानुषी यमी भट्टराई राजनीतिक दलका संरचनामा लोकतान्त्रिक विधि नभएका कारण जनप्रतिनिधिमा नयाँ पुस्ता आउन नसकेको बताउँछिन्।
के भन्छन् विश्लेषक ?
जनताको मन जित्नेलाई टिकट
सुवास नेम्बाङ, पूर्वसभामुख
जसले जनताको विश्वास जितेर आउन सक्छ उसलाई नै पार्टीले टिकट दिने हो। पार्टीले आफूले जित्ने उम्मेदवार छान्ने गर्छ। केही विषय सापेक्षतामा हेर्नुपर्छ। सबैजना सबै विषयमा दक्ष हुँदैनन्। कोही वाक कला भएका हुन्छन्, जनताको मन जित्दैनन्। कोहीसँग दुवै क्षमता हुन्छ। कोही निर्वाचन जितेपछि जनताको मन जित्ने काम मात्र गरेर आफ्नो प्रभाव सदैव जमाइरहेका हुन्छन्। नयाँ पुस्ताको हकमा पनि पार्टीले क्षमता र दक्षता भएका साथीहरूलाई उम्मेदवार बन्नबाट रोक्दैन र रोकेको पनि छैन।
जनप्रतिनिधि जागिरेजस्तो
दमननाथ ढुंगाना, पूर्वसभामुख
लोकतन्त्रमा कुनै व्यक्तिले जनताको विश्वास लिएर आउँछु भन्दा पाउँछ। अरू देशमा पनि निर्वाचन क्षेत्रले मन पराइरहेको व्यक्ति लामो अवधिसम्म त्यो क्षेत्रबाट निर्वाचित भइराख्छ। तर, जनताको अपेक्षाअनुसार काम गर्नुपर्छ।
निर्वाचित भएर आउने व्यक्ति जनताको सेवक नभई कमाउने जागिरेजस्तो देखिएको छ। नेताले गफ बढी हाँके। त्योअनुसार काम गरेनन्। जनप्रतिनिधि आफूले आर्जन गरे। तर, जनताको जनजीवनमा प्रभाव पार्ने काम गर्न सकेनन्।
टिकट दिनेमा पुरानै पुस्ता
प्रदीप पौडेल, युवा नेता, कांग्रेस
दलले टिकट दिएपछि जो कोही उम्मेदवार पनि बलियो भइहाल्छ। २०४८ देखि नै एकै पुस्ताका नेता नेतृत्वमा छन्। चुनावमा टिकट दिने पनि उहाँहरू नै हुुनुहुन्छ। उम्मेदवार मन नपरे पनि जनताले दलीय आस्थाका कारण मत दिन चलन छ। त्यसकारण ८० प्रतिशत पार्टीको मत आइहाल्छ। ठूला नेताको क्षेत्र केही हदसम्म बलियो पनि हुन्छ। सत्ता भनेको लालच भइरहने कुरा रैछ। सत्ता व्यक्तिले इच्छाएर छाड्दैन। झन् अनुभवि हुँदै जाँदा शक्ति आर्जन गर्ने लालच हुन्छ। यो कुरा विधिले विस्थापित गर्ने हो।
युवामा सत्ता हस्तान्तरण
मानुषी यमी भट्टराई, युवा नेतृ, नेपाल समाजवादी पार्टी
हाम्रा पार्टीको संरचना लोकतान्त्रिक विधि अनुसारका छैनन्। त्यसैकारण नयाँ पुस्ता जनप्रतिनिधिको रूपमा आउन नसकेको हो। विषय विज्ञता छ। काम गर्ने क्षमता र दक्षता सबै छ। तर, पनि युवालाई उम्मेदवार बनाउन पार्टीहरू हिच्किचाइरहेका छन्। अब नयाँ पुस्तालाई सत्ता हस्तान्तरण गर्नुपर्छ।
स्थानीय चुनावको सन्देश
पुरञ्जन आचार्य, राजनीति विश्लेषक
स्थानीय निर्वाचनदेखि मतदातामा धेरै चेतना जागेको छ। पार्टीमा पनि काफी दबाब छ। मुलुकमा परिवर्तनको लहर सुरु भएको भान हुन थालेको छ। भारतमा पनि सात दशकपछि नयाँ ढंगको माहोल आयो। स्वतन्त्रहरूको दबाब सुरु भएको छ।
पार्टीहरूलाई नयाँ ढंगले सोच्न बाध्य पार्दै छन्। सबैभन्दा ठूला जनता हुन्। जबसम्म जनताले किक गर्दैनन् उनै अनुहार यसपालि पनि आउने हुन्। त्यसैले नेतृत्व छान्ने अवसर जनतामा आएको छ।
मतदातामाथि गम्भीर प्रश्न हो
भीर्माजुन आचार्य, संविधानविद्
एकपटक जिम्मेवारी तहमा बसेको व्यक्तिले राष्ट्र र समाजका लागि राम्रो काम गरेको भए पुरस्कार स्वरूप फेरि ल्यायौं भन्नु हुन्थ्यो। एउटै व्यक्ति ५ पटकसम्म प्रधानमन्त्री भएका छन्। कार्यसम्पादन हेर्दा निराशाजनक छ। उ असफल पनि हुने र सजिलै जिताउने मृत समाजको उदाहरण हो। हामी मतदाता माथिको पनि गम्भीर प्रश्न हो।