नेपाली खेलकुदका ‘बोस’

नेपाली खेलकुदका ‘बोस’

काठमाडौं : राम श्रेष्ठ सानैदेखि खेलकुद भनेपछि हुरुक्क हुन्थे। विद्यालय र घरमा साथीभाइसँग विभिन्न खेल खेल्थे। रामले औपचारिक खेल भने क्योकुसिन कराते खेले। ‘डेन्जर’ खेलका रुपमा हेरिने फुलकन्ट्याक्ट कराते २०४८ सालदेखि खेल्न थालेका हुन्। सातदोबाटोमा रामजी वज्राचार्यको डोजाङ थियो। 

उनले प्रारम्भिक प्रशिक्षण त्यहीं लिए। उनी करातेसँगै फुटबल खेल्थे। तर, त्यो शोखका लागि मात्रै थियो। फुलकन्ट्याक्ट कराते भने लामो समयसम्म खेले। करिब पाँच वर्ष कराते खेलेपछि उनको पाइला खेलकुद व्यवस्थापनतिर मोडियो। शोखका रुपमा फुटबल खेल्दाखेल्दै उनी त्यसकै व्यवस्थापनमा सक्रिय भए। 

भक्तपुरको मध्यपुर ठिमी–४ मा जन्मिएका राम श्रेष्ठ ललितपुर–९, च्यासलमा बस्थे। फुटबल खेल्ने क्रममा उनी थ्रीस्टार क्लबको फ्यान क्लबमा आवद्ध भए। क्लबको फ्यान भएपछि उनी थ्रीस्टारलाई खुबै पछ्याउँथे। क्लबको फ्यान हुँदाहुँदै ‘लाइफ मेम्बर’ बने। क्लबको ‘लाइफ मेम्बर’ भएपछि उनी बोर्ड मेम्बर पनि चुनिए। थ्रीस्टार क्लबको सदस्य बनेपछि उनले व्यवस्थापकको जिम्मेवारी सम्हाल्ने अवसर पाए। उनले २०६६/०६७ देखि व्यवस्थापकको जिम्मेवारी सम्हाल्न थाले। उनको व्यवस्थापन र प्रदीप हुमागाईंको प्रशिक्षणमा थ्रीस्टारले २०६८÷०६९ मा सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो। ‘ए’ डिभिजन लिगको उपाधि जितेपछि थ्रीस्टारले भारतको गुवाहाटीमा आयोजना भएको भारत रत्न लोकप्रिय गोपीनाथ बोदोरियो ट्रफीको ६४औं संस्करणमा प्रतिस्पर्धा गरेको थियो। 

उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएको थ्रीस्टारले इष्ट बंगाललाई पराजित गर्दै उपाधि जितेको थियो। राम श्रेष्ठ त्यो क्षण आफ्नो खेल जीवनकै उत्कृष्ट र महत्वपूर्ण उपलब्धिका रुपमा लिन्छन्। ‘इष्ट बंगाललाई नेपालको राष्ट्रिय टोलीले पनि पराजित गर्न सकेको थिएन। मेघराज केसी प्रशिक्षक र म व्यवस्थापक भएर थ्रीस्टारलाई ऐतिहासिक उपलब्धि दिलाएका थियौं’, उनी भन्छन्। यसैगरी सन् २०१२/०१३ मा थ्रीस्टारले एएफसी प्रेसिडेन्ट कपको दोस्रो चरणसम्मको यात्रा तय गरेको थियो। त्यसअघि दशरथ रंगशालामा जित निकाल्दै थ्रीस्टारले मलेसियामा दोस्रो चरणको खेल खेलेको थियो। त्यतिबेला पनि राम श्रेष्ठ नै व्यवस्थापक थिए। थ्रीस्टारमा लामो समय केन्द्रीय सदस्य र व्यवस्थापकको भूमिका निर्वाह गरेका उनी अहिले क्लबका कोषाध्यक्ष छन्। 

राम श्रेष्ठले थ्रीस्टार क्लबको व्यवस्थापकको जिम्मेवारी मात्रै सम्हालेनन्, विभिन्न खेलका टोली लिएर विभिन्न राष्ट्रमा पनि पुगेका छन्। उनी जापान, सिंगापुर, थाइल्यान्ड, अमेरिका, अस्ट्रेलिया, हंगेरी, ब्राजिललगायतका ५० भन्दा बढी मुलुकमा खेलाडी लिएर पुगेका छन्। 

खेलाडीलाई सहयोग

श्रेष्ठले २०६५ सालदेखि खेलाडीलाई सहयोग गर्दै आएका छन्। उनले सहयोग गरेका ट्रयाकसुट र टीसर्ट लगाएर धेरै खेलाडीले विभिन्न राष्ट्रमा पुगेर खेलिसकेका छन्। दक्षिण कोरियाको इन्चोनमा सन् २०१४ मा सम्पन्न १७औं एसियाली खेलकुदमा करातेकी विमला तामाङले नेपालका लागि एक मात्रै पदक जितेकी थिइन्।

कराते महासंघको विवादका कारण उनी राष्ट्रिय खेलकुद परिषद्को कोटामा परिनन्। त्यही कारण उनी छुट्टै कोरिया गएकी थिइन्। उनका लागि राम श्रेष्ठले खेल पोसाक सहयोग गरेका थिए। विमलाले सोही पोसाक लगाएर एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेकी थिइन्। श्रेष्ठले खेल पोसाकसँगै खेलाडीलाई आर्थिक सहयोग पनि गर्दै आएका छन्। 

सामाजिक काममा पनि सक्रिय

राम श्रेष्ठ सामाजिक काममा पनि उक्तिकै सक्रिय छन्। विभिन्न सामाजिक संस्थामा आवद्ध उनले २०७२ सालको विनासकारी भूकम्पसँगै कोरोना महामारीमा महत्वपूर्ण भूमिका निभाएका थिए। भूकम्प पीडितका लागि गास, बासको व्यवस्था मिलाए। आफूले सक्दो आर्थिकलगायतका सहयोग पनि गरे। उनले आपतविपद्मा परेका सबैलाई सहयोग गर्दै आएका छन्।

उनी नेपाल युथ ग्रुपका अध्यक्ष पनि हुन्। यो संस्थाले सामाजिक काम गर्दै आएको छ। हरेक वर्ष कृष्ण जन्माष्टमीमा ललितपुरको मंगलबजारमा संस्थाले पानी वितरण गर्दै आएको छ। यसैगरी विभिन्न जात्राहरूमा आर्थिक सहयोगसँगै भक्तजनहरूलाई पानी खुवाउँदै आएको छ। रामले विभिन्न सामाजिक संस्था र खेल संघमा सल्लाहकारको भूमिका पनि निर्वाह गर्दै आएका छन्। 

मायाले पाएको नाम ‘बोस’

नेपाली खेलकुदमा उनी राम श्रेष्ठबाट भन्दा पनि ‘राम बोस’का रुपमा बढी चिनिन्छन्। उनले यो नाम खेलकुदमा लाग्नुअघि नै पाएका हुन्। उनी सानैदेखि निडर र सबैलाई समेट्न सक्ने खुवीका थिए। त्यही कारण साथीहरूले उनलाई ‘बोस’ भनेर बोलाउँथे। खेलकुदमा लागेपछि त्यही नाम अझै विस्तारित भयो। ‘सानैमा साथीभाइले बोस भनेर बोलाउँथे। पछि त्यही नाम लोकप्रिय भयो’, उनी भन्छन्, ‘साथीभाइले मायाले दिएको नाम हो। ‘बोस’भन्दा छुट्टै आनन्द आउँछ।’

भारोत्तोलनको नेतृत्व

सन् २०१६ मा भारतको गुवाहाटीमा आयोजना भएको १२औं दक्षिण एसियाली खेलकुद (साग) मा राम ‘बोस’ले भारोत्तोलन टोलीको व्यवस्थापकको जिम्मेवारी सम्हालेका थिए। त्यतिबेला उनी नेपाल भारोत्तोलन संघका मनोनित उपाध्यक्ष थिए। १२औं सागमा नेपालले एक रजत र तीन कांस्य जितेको थियो। विकास थापाले नेपाललाई रजत पदक दिलाएका थिए। आफ्नो नेतृत्वमा खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दाको क्षण अविष्मरणीय रहेको उनी बताउँछन्।

मनोनित उपाध्यक्षका रुपमा एक कार्यकाल बिताएका उनी २०७६ माघ १८ मा भएको साधारणसभाबाट अध्यक्षमा निर्वाचित भए। मनोनित उपाध्यक्षका रुपमा संघमा प्रवेश गरेका उनी नेतृत्वका लागि चुनावी मैदानमा उत्र्ने योजनामा लिएनन्। तर, संघमा आवद्ध साथीभाइको आग्रहपछि उनी चुनावी मैदानमा उत्रिए। यसअघि सर्वसम्मत रुपमा नेतृत्व चयन हुँदै आएको संघमा उनी निर्वाचनमार्फत पहिलो पटक अध्यक्ष बने। ‘भारोत्तोलन संघमा यसअघि निर्वाचन नै भएको रहेनछ। ४० वर्षको इतिहासमा पहिलो पटक निर्वाचित भएर संघको नेतृत्व लिने अवसर पाएँ’, उनी भन्छन्। 

उनी भारोत्तोलनका खेलाडी होइनन्। खेलकुदलाई नजिकबाट बुझेकाले नेतृत्वमा आएपछि थुप्रै योजनाहरू बनाएका थिए। तर, कोरोना महामारी र लगातारको लकडाउनका कारण उनले काम गर्न पाएनन्। उनकै पहलमा सप्तरीमा देवसुन्दर यादव भारोत्तोलन च्याम्पियनसिप आयोजना भयो। प्रतियोगिताले खेलाडीहरूमा छुट्टै उत्साह जगाएको थियो। तर, त्यसपछि फेरि कोरोनाको महामारी बढ्यो र लकडाउन सुरु भयो। लकडाउनको समयमा पनि उनी भारोत्तोलनको विकास र विस्तारका लागि क्रियाशील भइरहे। उनकै पहलमा कमला श्रेष्ठ, सञ्जु चौधरीले ओलम्पिक कमिटीबाट स्कलरसिप पाए। स्कलरसिप पाएका खेलाडीका लागि पोखरा र उज्वेकिस्तानमा प्रशिक्षण सञ्चालन गरिएको थियो। लकडाउनकै समयमा टोकियो ओलम्पिकलाई लक्षित गरी प्रशिक्षण सञ्चालन पनि गरे। उनी दिनहुँजसो प्रशिक्षणस्थल पुगेर खेलाडीलाई हौसला बढाउँथे।

कोरोना भाइरसको संक्रमण कम भएपछि २०७८ पुसमा २४औं पुरुष र नवौं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिप आयोजना गरे। मध्यपुर ठिमीमा भएको प्रतियोगिता अन्तर्राष्ट्रिय स्तरको थियो। राष्ट्रिय खेलकुद परिषद्ले गत असारमा १९औं एसियाली खेलकुद प्रतियोगितालाई लक्षित गरी विशेष प्रशिक्षण सञ्चालन गरेको थियो। नयाँ आर्थिक वर्ष सुरु भएसँगै परिषद्को विशेष प्रशिक्षण रोकियो। तर, उनको पहलमा भारोत्तोलनको प्रशिक्षण भने निरन्तर रुपमा चलिरहेको छ।  

खेलकुदमा लागेर सन्तुष्ट

राम श्रेष्ठ ‘बोस’ खेलकुद क्षेत्रमा लागेर सन्तुष्ट रहेको बताउँछन्। उनी अहिले पनि नेपाली खेलकुद र खेलाडीका लागि के गर्न सकिन्छ भनेर लागिरहेका हुन्छन्। ‘म केही पाउने आशा बोकेर खेलकुदमा लागेको होइन।

नेपाली खेलकुद र खेलाडीका लागि केही गर्न सक्छु र केही दिन सक्छु भनेर लागेको हो। खेलाडीलाई सहयोग गर्न पाउँदा आफूलाई पनि खुसी लाग्छ’, उनी भन्छन्, ‘सबैको माया पाएको छु। यो नै मेरा लागि ठूलो कुरा हो।’ अहिले भारोत्तोलन संघको अध्यक्षको जिम्मेवारी सम्हालेकाले आफ्नो पहिलो दायित्व यही खेलका खेलाडीको वृत्ति विकासका लागि काम गर्ने रहेको बताउँछन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.