बजारबाट दिउँसै नगद र गरगहना चोरी
नुवाकोट : नुवाकोटको बट्टार बजारबाट लाखौं रुपैयाँ बराबरको सुन तथा चाँदीका गहना तथा नगद चोरी भएको छ।
विदुर नगरपालिका-४ बट्टारस्थित हावाघर नजिकैको ५० वर्षीय दिलबहादुर शाक्यको घरमा चोरी भएको हो।
दिउँसोको समयमा घरमा नभएको मौका छोपी चोरले घर फोडेर कोठाभित्रको सामान तथा नगद चोरी गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
खाना खाएर पसल निस्केका शाक्य राति ८ बजे घर फर्कदा घरमा चोरी भएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।
सात तोला सुनका विभिन्न गहना, २४ तोलाको चाँदीको करुवाका साथै नगद ४० हजार रुपैयाँ चोरी भएको प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए।
चोरी गरेपछि घर पछाडिबाट भागेको प्रहरीले जनाएको छ। शाक्यको घरको आनीवानी जानेकै व्यक्तिले घरमा तोडफोड गरी चोरी गरेको स्थानीयवासीले आशंका गरेका छन्।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शाक्यकी पत्नी तथा छोराहरू काठमाडौंमा रहेका छन्।